ब्यांकमा अधिक तरलता हुँदा बुधबार पनि बढ्यो नेप्से
बुधबार पनि शेयर बजार परिसूचक नेप्से बढेको छ। नेप्से १ दशमलव ७२ प्रतिशत अर्थात २८ दशमलव ८९ अंकले बढेर १ हजार ७६७ विन्दुमा पुगेको छ। मंगलबार पनि शेयर बजारमा फराकिलो वृद्धि भएको थियो।
सेन्सेटिभ परिसूचक पनि ५ दशमलव २३ अंकले बढेर ३३५ दशमलव ६२ अंकमा बन्द भएको छ। नेप्से परिसूचक बढनुमा ब्यांकिङ प्रणालीमा रहेको अधिक तरलतालाई प्रमुख कारणको रूपमा लिइएको छ।
ब्यांकमा अधिक तरलता हुँदा ब्याजदर सस्तो भएको छ। सस्तो ब्याजदर भएकै कारण शेयर बजारमा राम्रो प्रभाव परेको देखिएको छ। अहिले ब्यांकिङ क्षेत्रमा निक्षेपको ब्याजदर ५ प्रतिशत भन्दा तल छ भने कर्जाको ब्याजदर पनि ८ प्रतिशतको आसपासमा छ। सस्तो ब्याजदरमा कर्जा पाउने भएपछि लगानीकर्ता उत्साहित भएका हुन्।
यसबाहेक ब्यांक तथा वित्तीय संस्था लगायत नेप्सेमा सूचीकृत कम्पनीहरूले गत वर्षको नाफाबाट लाभांश घोषणा गरिरहेकाले त्यसको असर पनि बजारमा देखिएको छ। यस्तै चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरणहरू प्रकाशित भइराखेको र अधिकांश कम्पनीहरूको वासलात राम्रो देखिएपछि लगानीकर्ताले लगानी बढाएका छन्।
बुधबार पनि बजारमा ४ अर्ब ९ करोड ९६ लाख ४ हजार ७४२ रूपैयाँ बराबरको १ कारोड २४ लाख २३ हजार ६५१ कित्ता शेयर खरिद बिक्री भएको छ। कारोबारमा आएका समूहमध्ये फाइनान्स समूह बाहेकका सबै समूह बढेका छन्।
सबैभन्दा धेरै व्यापार समूह ९ दशमलव ९९ प्रतिशतले बढेको छ। उत्पादन तथा प्रशोधन समूह ६ दशमलव २१ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा समूह, म्युचुअल फण्ड र अन्य समूह ४ प्रतिशत बढीले बढेका छन्। ब्यांकिङ समूह पनि १ दशमलव १५ प्रतिशतले बढेको छ।
बुधबार सबैभन्दा धेरै कारोबार नेपाल दूरसञ्चार कम्पनीको २५ करोड ९० लाख २८ हजार ९३० रूपैयाँको भएको छ। यस्तै हिमालयन डिस्टिलरीको शेयर कारोबार पनि १८ करोड ८६ लाख ४० हजार रूपैयाँ बढीको भएको छ। यस बाहेक १५ करोड रूपैयाँ भन्दा बढीको शेयर कारोबार हुने कम्पनीहरूमा एनआईसी एसिया ब्यांक, नागरिक लगानी कोष, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल पुनर्बीमा कम्पनी रहेका छन्।
यस्तै, साल्ट ट्रेडिङ कर्पोरेशनको शेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ। ९ प्रतिशत भन्दा माथि शेयर मूल्य बढ्ने कम्पनीहरूमा लक्ष्मी इक्युटी फण्ड, नागरिक लगानी कोष, बिसाल बजार कम्पनी, एनआईसी एसिया ग्रोथ फण्ड, सानिमा जनरल इन्स्योरेन्स कम्पनी लगातका रहेका छन्। बजार बढेपनि आइसीएफसी फाइनान्स, सेन्ट्रल फाइनान्स लगायतका कम्पनीहरूको शेयर मूल्य भने घटेको छ।