विहार निर्वाचनमा वामपन्थी: २९ स्थानमा उम्मेद्वारी दिएर १६ सिट कब्जा
भारतको विहारमा सम्पन्न विधानसभा निर्वाचनमा योपटक वामपन्थी पार्टीहरूले उम्मेद्वार उठाएका अधिकांश स्थानमा जित हासिल गरेका छन्। तेजस्वी यादवको महागठबन्धनमा सामेल तीनवटा वामपन्थी पार्टीहरूले कुल २९ वटा सिटमा उम्मेद्वार उठाएकोमा १६ वटा सिटमा जित हासिल गरेका छन्।
सन् १९९५ को विहार विधानसभामा नीतिशकुमारले लालू यादवसँग अलग भएर समता पार्टी गठन गरेका थिए। नीतिशकुमारले उक्त समयमा सीपीआई एमएलसँग आफ्नो राजनीतिक जीवनको पहिलो गठबन्धन बनाएका थिए। त्यतिबेला अविभाजित विहार विधानसभामा ३२४ सिट थियो। जसमध्ये ३१० स्थानमा नीतिशकुमारको समता पार्टी एक्लै र गठबन्धनमा सामेल दल सीपीआई (एमएल) ले बाँकी स्थानमा उम्मेद्वार उठाएको थियो। नतिजामा ३१० सिटमा उठेको समता पार्टीले जम्मा ७ सिट जित्यो भने बचेखुचेका स्थानमा उम्मेद्वारी दिएको सीपीआई एमएलले ६ सिट जित्यो।
त्यसको २५ वर्षपछि यतिबेला सीपीआई (एमएल) नीतिशकुमार विरुद्धको गठबन्धनमा सामेल भएको छ। सीपीआई (एमएल) ले यतिबेला १९ स्थानमा उम्मेद्वारी दर्ता गराएकोमा १२ सिट जितेको छ। यससँगै सीपीआई र सीपीएमले पनि दुई-दुईवटा सिटमा जित हासिल गरेका छन्। यसरी विहारको विधानसभा निर्वाचन २०२० मा वामपन्थी पार्टीहरूले १६ सिटमा जित हात पारेका छन्। जबकी देशकै ठूलामध्येको पार्टी कंग्रेस आई २० सिटमा समेटिएको छ।
यसलाई लिएर बीबीसी हिन्दीले वामपन्थी पार्टीको पुनरोदय भनेको छ। भारतको बंगाल र केरल राज्यपछि बिहार वामपन्थी विधायकको संख्या धेरै भएको तेस्रो राज्य भएको छ।
यसअघि बिहारमा सीपीआई एमएल एक्लै चुनावी मैदानमा उत्रिने गरेको थियो। तर, यसपटक राष्ट्रिय जनता दल जस्तो क्षेत्रीय दलसँग गठबन्धन गरेको छ। राष्ट्रिय जनता दल यूनाइटेडले जातिय राजनीतिलाई प्राथमिकता दिने गरेको छ भने सीपीआई (एमएल), सीपीआई र सीपीआई (एम) गरी तीन वटै पार्टी वर्ग संघर्षको वकालत गर्दछन्। २०१५ को विधानसभामा ३ वटा सिटमा मात्रै यस दलले जित हात पारेको थियो।
- बीबीसी हिन्दीको सहयोगमा