कोरोना विरुद्ध उदाहरणीय काम गर्दै काठमाडौं जिल्लाका यी नगरपालिका
कोरोनाभाइरसका साढे १६ हजार सक्रिय संक्रमित रहेको काठमाडौं जिल्लाका विभिन्न नगरपालिकाले निःशुल्क परीक्षणदेखि नगरवासीको बीमा गर्ने लगायत काम गरिरहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २५ कात्तिकको तथ्यांक अनुसार, काठमाडौं उपत्यकाका तीन जिल्लामा कोरोनाभाइरसका सक्रिय संक्रमितको संख्या २० हजार २६० छ। जसमध्ये काठमाडौं जिल्लामा मात्रै १६ हजार ६८६ जना संक्रमित छन्।
संक्रमणको हटस्पट बनिरहेको काठमाडौं जिल्लाका केही नगरपालिकाले संक्रमण रोकथाम र नियन्त्रणमा प्रभावकारी काम गरिरहेका छन्। त्यसैमध्येको एक हो, गोकर्णेश्वर नगरपालिका। यो नगरमा कोरोना संक्रमितको संख्या करीब एक हजार ६०० पुगेको छ। संघीय सरकारले पीसीआर परीक्षण तथा सरकारले बनाएको संस्थागत आइसोलेसनमा बस्नेहरुबाट पैसा लिने निर्णय गर्दा पनि यस नगरपालिकाले शुल्क लिएन। शुल्क नलिई निरन्तर पीसीआर परीक्षण गरिरहेको उपमेयर शान्ति नेपालले बताइन्।
नगरपालिका आफैंले ५० जना क्षमताको संस्थागत आइसोलेसन बनाएको छ। संक्रमित बढ्दै गएपछि क्षमता विस्तार गरी करीब सय जनासम्म बस्न मिल्ने बनाउने तयारी छ। संक्रमितलाई निःशुल्क राखिने यो आइसोलेसनमा डेरामा बस्नेलाई प्राथमिकता दिने गरिएको उपमेयर नेपालले जानकारी दिइन्। “घर हुनेलाई पनि बस्न अप्ठ्यारो भए राख्छौं, तर भाडामा अप्ठ्यारो अवस्थामा बस्ने संक्रमितलाई हामीले प्राथमिकता दिने गरेका छौं”, उनले भनिन्।
प्रायः नगरपालिकाले संक्रमितका लागि मनोपरामर्श सेवाको व्यवस्था गरेका छैनन्। तर, गोकर्णेश्वर नगरले मनोपरामर्श सेवाका लागि कर्मचारी नै राखेको छ। उनीहरूलाई होम आइसोलेसनमा बस्ने संक्रमितले बोलाउँदा पठाउने गरिएको छ। यस्तै, सामूहिक रुपमा मनोपरामर्श पनि दिने गरिएको उपमेयर नेपालले बताइन्।
नगरपालिकाले विज्ञ चिकित्सकहरु भएको ‘र्यापिड रेस्पोन्स टिम’ पनि परिचालन गरेको छ।
प्रायः नगरपालिकाले संक्रमितका लागि मनोपरामर्श सेवाको व्यवस्था गरेका छैनन्। तर, गोकर्णेश्वर नगरले मनोपरामर्श सेवाका लागि कर्मचारी नै राखेको छ। उनीहरूलाई होम आइसोलेसनमा बस्ने संक्रमितले बोलाउँदा पठाउने गरिएको छ।
होम आइसोलेसनमा बस्नेहरुको अवस्थाबारे दैनिक बुझ्न ३ देखि ४ जना कर्मचारी नै छुट्याइएको छ। “होम आइसोलेसनमा बस्नेहरुलाई केही सामान चाहिएमा र किन्न जाने मान्छे नभएमा घरमै पुर्याइदिने स्वयंसेवकहरुको पनि व्यवस्था गरेका छौं”, उनले भनिन्।
नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणमा भएका खर्च विवरणमा पारदर्शिता अपनाएको छ। आयव्यय विवरण वेबसाइट मार्फत सार्वजनिक गर्दै आएको छ।
काठमाडौंकै दक्षिणकाली नगरपालिकाले नगरवासी सबैको कोरोना बीमा गर्ने प्रक्रिया अगाडि बढाएको छ।
एक साताअघि बसेको बैठकले निर्णय गरे अनुसार बीमाका लागि लाग्ने रु.६०० मध्ये आधा नगरपालिकाले व्यहोर्नेछ भने आधा सम्बन्धित व्यक्तिलाई तिर्न लगाइनेछ। तर, विपन्नहरुको सम्पूर्ण बीमा रकम नगरले नै व्यहोर्ने नगर प्रवक्ता तथा वडा अध्यक्ष अमृका बलामीले जानकारी दिए।
बलामीले भने, “नगरले आर्थिक अवस्था कमजोर भएका संक्रमितलाई यसअघि रु.२५ हजारसम्म दिने निर्णय गरेको थियो, अब कोरोना बीमा गरेपछि नगरपालिकालाई त्यो आर्थिक भार पर्नेछैन र नगरवासीलाई पनि सहज हुनेछ।”
नगरमा अहिलेसम्म करीब एक सय जना कोरोना संक्रमित भएकोमा अधिकांश निको भइसकेका छन्।
कागेश्वरी मनहरा नगरपालिकाले आफैंले मेशिन किनेर एन्टिजेन प्रविधिबाट कोरोना परीक्षण गर्न शुरु गरेको छ। र्यापिड टेस्ट किट पनि भनिने एन्टिजेन टेस्ट किटले संक्रमित भएपछि शरीरमा विकास हुने एन्टिबडी पत्ता लगाउने र पीसीआरले जस्तै भाइरस छर छैन भनेर पत्ता लगाउने गर्छ।
एन्टिजेन परीक्षण शुरु गरेपछि कोरोना परीक्षणको रिपोर्ट छिटो चाहिने, सुत्केरी हुनेका लागि तथा अन्य रोगका बिरामीहरुका लागि सजिलो भएको उपमेयर बिन्दा सिंखडा पुडासैनीले जानकारी दिइन्।
उनका अनुसार, अहिलेसम्म करीब दुई सय एन्टिजेन परीक्षण गरिएको र उनीहरुको पीसीआर गर्दा पनि एन्टिजेनकै नतिजा अनुसार देखिएको छ। “संघीय सरकारले एन्टिजेन परीक्षण शुरु गर्ने भनेको दुई दिनपछि नै नगरले मेशिन किनेर यो सेवा दिन थालेको हो”, उपमेयर पुडासैनीले भनिन्।
कोरोनाभाइरसका अक्सिजन दिनुपर्ने अवस्थासम्मका बिरामीहरुलाई कागेश्वरी मनहरा नगरपालिकाले निःशुल्क उपचार गरिरहेको छ भने थप उपचार गर्नुपर्ने भए विभिन्न ठूला अस्पतालमा पठाउन नगरले समन्वय गर्ने गरेको छ।
नगरले आफैं स्वाब संकलन गर्ने गरेकाे छ। नगरको स्वाब संकलन केन्द्रमा आसपासका बुढानीलकण्ठ, चाँगुनारायण, शंकरापुर नगरपालिका लगायतबाट पनि नमूना आउने गरेको नगरपालिकाले जनाएको छ। नगरपालिकाले निजी अस्पतालहरुसँग सहकार्य गरेर पीसीआर परीक्षणको रिपोर्ट सकेसम्म छिटो दिने व्यवस्था गरेको छ। गम्भीर बिरामी परेमा पनि निजी अस्पतालसँगको सहकार्यमा समयमै उपचार पाउने गरी नगरकै एम्बुलेन्सले पुर्याइदिने गरेको छ।
कोरोनाभाइरसका अक्सिजन दिनुपर्ने अवस्थासम्मका बिरामीहरुलाई नगरले निःशुल्क उपचार गरिरहेको छ भने थप उपचार गर्नुपर्ने भए विभिन्न ठूला अस्पतालमा पठाउन नगरले समन्वय गर्ने गरेको छ।
घरमा बस्न सहज नभएका संक्रमितहरूलाई नगरपालिकाले संस्थागत आइसोलेसनमा राख्ने गरेको छ। अहिले ५० जना क्षमताको नगरको आइसोलेसन रहेको र थप १०० बेडको केही दिनमै तयार हुने नगरपालिकाले जनाएको छ।
हालसम्म संक्रमितको संख्या एक हजार २०० को हाराहारीमा रहेको कागेश्वरी मनहरामा करीब ३५० संक्रमित होम आइसोलेसनमा छन्। नगरले होम आइसोलेसनमा बस्नेहरूलाई पनि ध्यान दिने गरेको उपमेयर पुडासैनीले बताइन्। “संक्रमितको अनुगमन गर्न र उनीहरुको स्वास्थ्य अवस्थाको पनि जानकारी लिन दैनिक फोन गरेर ज्वरो तथा अन्य समस्या सोध्ने गरिएको छ”, उनले भनिन्।
नगरको मूलपानी नगर अस्पतालमा विशेषज्ञ सेवा विस्तार गर्दै १५ मंसीरदेखि मिर्गौला रोगीहरुको डाइलसिस सेवा पनि सञ्चालन गर्ने भएको छ। नगर अस्पालले ओपीडी सेवासहित चौबीसै घण्टे सेवा दिने गरेको छ। त्यस्तै, १ कात्तिकदेखि वडा नम्बर ९ स्थित गोठाटार स्वास्थ्य चौकीमा प्रसूति केन्द्र (बर्थिङ सेन्टर) सञ्चालनमा ल्याएको छ। यहाँ सुत्केरी हुनेलाई नगरपालिकाले रु.२ हजार र न्यानो झोला दिने गरेको छ।