सिन्धुलीको जुनारले पाउँदैछ ‘परिचयपत्र’, आपूर्ति शृंखला ट्र्याकिङ गरिंदै
सिन्धुलीमा फलाइएको जुनारमा शुरु गरिएको आपूर्ति शृंखला ट्र्याकिङबाट उपभोक्ताले उत्पादनबारे सम्पूर्ण विवरण थाहा पाउँदै ताजा र मूल्य अनुसारको फल पाउने भएका छन्।
हामीले उपभोग गर्ने फलफूल तथा तरकारी कुन ठाउँको हो, कहिले टिपेको जस्ता कुरा थाहा हुँदैन। बजारमा बिक्रेताले भनेको आधारमा हामी ‘मुडेको आलु’ वा ‘मनकामनाको सुन्तला’ भन्ने पत्याएर खरीद गर्छौं।
सिन्धुलीको जुनारलाई भने परिचय दिने काम थालनी भएको छ। एग्रिक्लेयर सफ्टवेयरबाट पहिलो पटक जुनारको आपूर्ति शृंखला ट्र्याकिङ शुरु भएको हो। यो सफ्टवेयरले कृषि उत्पादनमा पारदर्शिता ल्याउन उत्पादन, प्रशोधन र वितरणको शुरुदेखि अन्त्यसम्मका जानकारी रेकर्ड गर्छ।
चिसापानी जुनार उत्पादन सहकारी संस्थाका प्रमुख योगेन्द्र थापाका अनुसार, खरीद गरिएको वस्तुको सम्पूर्ण विवरण पत्ता लगाउन सकिने यो पारदर्शिताले ग्राहकहरुलाई उत्पादनमा विश्वास बढाउँछ र किसानलाई उचित मूल्य पाउने अवसर दिन्छ।
एग्रिक्लेयर सफ्टवेयर आईटी कम्पनी ई–सत्यले बनाएको हो। ई–सत्य र ग्रीन ग्रोथको सहकार्यमा यो पहिलो ब्याचको जुनार ट्रयाकिङ शुरु गरिएको हो।
चिसापानी जुनार उत्पादन सहकारी संस्थाका प्रमुख योगेन्द्र थापाका अनुसार, खरीद गरिएको वस्तुको सम्पूर्ण विवरण पत्ता लगाउन सकिने यो पारदर्शिताले ग्राहकहरुलाई उत्पादनमा विश्वास बढाउँछ र किसानलाई उचित मूल्य पाउने अवसर दिन्छ। ग्रीन ग्रोथका सौरभ ढकालको सल्लाहमा यो काम शुरु गरिएको उनले बताए।
थापाले भने, “यो ट्रयाक सिस्टम लागू भएपछि किसानले फलको ग्रेड अनुसारको मूल्य एकमुष्ट पाउँछ, उपभोक्ताले पनि ताजा र मूल्य अनुसारको फल पाउँछन्।”
यो सफ्टवेयर प्रयोगकर्ताहरूले मोबाइल फोनबाट क्यूआर कोड स्क्यान गरेर कृषि उत्पादन बगैंचाबाट टिपेदेखि डेलिभरीसम्मको जानकारी पाउन सक्छन्। फूल फुल्न थालेपछि ट्रयाक गर्दा फूड माइल (बोटबाट टिपेपछि उपभोक्ताले किन्दासम्मको दूरी र खर्चको लेखाजोखा), खेतीमा प्रयोग गरिएको मल वा किटनाशक औषधि, उत्पादन भित्र्याएको मिति, भण्डारण र प्रशोधन गतिविधि, वितरण माध्यम र अन्य कुरा जान्न सहयोग पुग्छ। तर, यस पटक ढिलाइ भएकाले टिप्ने बेलादेखि मात्रै ट्रयाक भइरहेको ग्रीन ग्रोथका ढकालले बताए।
सिन्धुलीस्थित चिसापानी जुनार उत्पादन सहकारी संस्थासँग आबद्ध ३४ वटा बगैंचामा फलेका जुनारमा एग्रिक्लेयर सफ्टवेयरबाट ट्रयाक गरिएको सहकारी संस्थाका प्रमुख थापाले बताए। उनका अनुसार, अहिले फार्मको नाम, फोटो खिच्ने काम सम्पन्न भएको छ।
जुनार उत्पादन भएको बगैंचा वा फार्मको नाम, फल विवरण र टिपेको मिति जस्ता तथ्यांक सहकारीले रेकर्ड गर्नेछन्। ग्रीन ग्रोथले जुनारको प्रशोधन मिति, प्याक गरेको मिति रेकर्ड गरी जुनारमा क्यूआर कोड लगाएर अनलाइन मार्फत बिक्री गर्नेछ। उपभोक्ताले क्यूआर कोड मोबाइलबाट स्क्यान गरी सबै जानकारी हेर्न सक्ने एग्रिक्लेयर प्रोजेक्ट प्रमुख श्रृष्टि पियाले बताइन्।
बजारमा पाइने विभिन्न थरीका तरकारी र फलफूल अर्गानिक वा ठाउँ विशेषको नाममा बिकिरहेका हुन्छन्। जाँच गर्ने आधार नहुने भएकाले उपभोक्ताले बिक्रेताले भनेको पत्याउनुको विकल्प हुँदैन। तर, आपूर्ति श्रृंखला ट्रयाक भएको तरकारी तथा फलफूल भने क्यूआर कोड स्क्यान गरेर उपभोक्ताले बिक्रेताले भनेको साँचो हो वा हैन भनेर हेर्न सक्ने पिया बताउँछिन्। उनी भन्छिन् “अब उपभोक्ताले अर्गानिकको नाममा विषादीयुक्त तरकारी तथा फलफूल र परेको मूल्यभन्दा बढी तिर्नुपर्ने छैन।”
जुनार सुपर जोनको साथ
जुनारका पारखीहरूमाझ सिन्धुलीको परिचय जुनारको विशेषतासँग गाँसिएको छ। जुनारको व्यावसायिक रुपमा खेती गरिने यो जिल्लालाई ‘जुनार सुपर जोन’ बनाइएको छ।
"नेपाली जुनार आपूर्ति शृंखला तथ्यांकमा आधारित नभई व्यक्तिगत नेटवर्किङ र अन्तर्ज्ञानमा बढी निर्भर छ। गुणस्तरको समस्याले नेपाली फलफूललाई विदेशी बजारमा प्रवेश गर्न चुनौती छ, जसका कारण किसान आफ्नो उत्पादनको राम्रो लाभ लिनबाट वञ्चित भइरहेका छन्।" - सौरभ ढकाल, ग्रीन ग्रोथ
सहकारीलाई जुनार खेतीका लागि आर्थिक सहयोग गर्दै आएको जुनार सुपर जोनले आपूर्ति श्रृंखला ट्रयाकको कामलाई प्राविधिक सहयोग पनि गरिरहेको छ। जुनार सुपर जोनका प्रमुख वेदराज अधिकारी भन्छन् “आपूर्ति शृंखला ट्रयाक निजी क्षेत्रको नयाँ आइडिया हो। कृषि उत्पादनमा नेपालमै पहिलो प्रयास हो यो।”
परीक्षणका रुपमा गरिएको यो पाइलट प्रोगामका लागि जुनार सुपर जोनका कृषि विशेषज्ञले प्राविधिक पक्षमा र चिसापानी सहकारीले किसानसँग जोडिन सघाइरहेको छ।
ग्रीन ग्रोथका ढकालका अनुसार, यो काममा ‘बाटो’ नक्सा पनि जोडिएको छ। बाटोले यसको क्लाउडमा आधारित जियोस्पाटियल सेवाबाट ‘फूड माइल’ मापन गर्न सहयोग गर्नेछ। उनी भन्छन्, “फूड माइल कृषि उत्पादनहरुमा एक महत्वपूर्ण मेट्रिक हो। यसले उत्पादन फार्मबाट उपभोक्तासम्म पुग्ने यात्रा र यसमा लाग्ने खर्चको मापन गर्छ।”
ढकालको भनाइमा नेपाली जुनार आपूर्ति शृंखला तथ्यांकमा आधारित नभई व्यक्तिगत नेटवर्किङ र अन्तर्ज्ञानमा बढी निर्भर छ। गुणस्तरको समस्याले नेपाली फलफूललाई विदेशी बजारमा प्रवेश गर्न चुनौती छ, जसका कारण किसान आफ्नो उत्पादनको राम्रो लाभ लिनबाट वञ्चित भइरहेका छन्।
ढकाल भन्छन्, “तथ्यांकको अभावमा जुनार कहाँबाट आयो, यसको गुणस्तर, ताजापन र वास्तविक मूल्यको कुनै प्रमाण नहुँदा ग्राहक ठगिने सम्भावना हुन्छ। आपूर्ति शृंखला ट्र्याकिङले त्यो अवस्था हटाउनेछ।”
सुपर जोनका प्रमुख अधिकारी सन् २०१२ मा नेपालले चीनसँग सिट्रस सिनेन्सिस प्रजातिका फलहरू (सुन्तला, जुनार) चीनमा निर्यात गर्न सम्झौतामा हस्ताक्षर गरे पनि गुणस्तर र रजिष्ट्रर भएको बगैंचाको फलफूल नभएकाले निर्यात गर्न नसकिएको बताउँछन्। “अब यो ब्लकचेनले निर्यातको बाटो खोल्नेछ। विदेशमा पनि नेपाली किसानको फलफूल उपलब्ध गराउन यो प्रयास कोसेढुंगा साबित हुनेछ”, उनी भन्छन्।
अधिकारीका अनुसार, कृषिजन्य उत्पादनको गुणस्तरको समस्या कम गर्न उत्पादनदेखिका जानकारी टिपोट गरेर गुणवत्ता राम्रो भएको प्रमाणित गर्न सकिन्छ। यस परियोजनाले समग्रमा जुनारका जानकारी ट्रयाक गरेर यसको प्रामाणिकता, गुणस्तर, बजार प्रवृत्ति र निर्यात क्षमता पनि सिर्जना गर्नेछ।
यसलाई निरन्तरता दिंदै सन् २०२१ मा जुनार ट्रयाकिङको दोस्रो चरणमा काम हुने ढकाल बताउँछन्। “दोस्रो चरणमा उत्पादन चरणदेखि सम्पूर्ण जानकारी ट्रयाक गरिनेछ। यसले असल कृषि अभ्यासलाई प्रोत्साहन गर्नेछ”, उनी भन्छन्।