भक्तपुरमा रित्तिँदै आइसोलेसन केन्द्र, अधिकांश संक्रमित घरैमा
भक्तपुरमा हरेक दिन १०० हाराहारीमा कोरोनाभाइरस संक्रमित फेला परिरहेका छन्। तर, संक्रमितको उपचारका लागि खोलिएका आइसोलेसन केन्द्र भने रित्तिन थालेका छन्।
स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार सोमबार १२८, आइतबार ६८ र शनिबार ११८ नयाँ सङ्क्रमित भेटिएका थिए। सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढे पनि आइसोलेसेन केन्द्रमा बस्नेको संख्या ज्यादै न्यून छ। अधिकांश संक्रमित घरैमा छन्।
सरकारले कोरोना सङ्क्रमण बढेसँगै होम आइसोलेसनमा बस्न सक्ने निर्देशिका जारी गरेपछि अधिकांश सङ्क्रमितको पहिलो रोजाइ घर हुने गरेको छ। शुरुमा सरकारले कोरोना सङ्क्रमितको निःशुल्क उपचार नगर्ने निर्णय गरेकाले पनि सङ्क्रमित होम आइसोलेसनमा बस्न थालेको सरोकारवाला बताउँछन्।
दशैँ तिहारजस्ता ठूला चाडपर्वका कारण पनि सङ्क्रमितले होम आइसोलेसन राजेको हुनसक्ने स्वास्थ्य कार्यालय प्रमुख कृष्णबहादुर मिजारले बताए। “सङ्क्रमितले किन अस्पताल गएर उपचार नलिएको त्यो कुरो त हामीलाई भन्दा सङ्क्रमितलाई नै थाहा होला । सायद शुल्क लाग्ने र शुल्क पनि अलि बढी नै खर्च हुने भएकाले पनि घरमै सुरक्षितरुपमै आवश्यक औषधि लिएर बसेका होला”, उनले भने।
होम आइसोलेसनमा बसे पनि सङ्क्रमितको स्वास्थ्य अवस्थाबारे नियमित जानकारी लिइरहेको मिजार बताउँछन्। स्थानीय तहका स्वास्थ्य केन्द्रमार्फत सङ्क्रमितको जानकारी लिइरहेको उनको भनाइ छ।
भक्तपुरमा आइसियु र भेन्टिलेटरसमेत खाली छन्। जिल्लामा १९ वटा आइसियु शैय्या छन्। तीमध्ये छ वटामा मात्र बिरामी छन्। जिल्लाको कोभिड अस्पताल भक्तपुर अस्पतालमा चार वटा आइसियु शैय्या छ। यो अस्पतालमा अहिले तीन पुरुष र दुई महिला गरी पाँच जनाको उपचार भइरहेको छ।
नेपाल कोरियामैत्री नगरपालिका अस्पतालको आठ वटा आइसियु श्ययामध्ये एक पुरुषको मात्र उपचार भइरहेको छ। बाँकी आइसियु शय्या खाली छन्। केएमसी अस्पतालमा सात आइसियु शय्या कोभिडका बिरामीलाई छुट्याए पनि सबै खाली छन्।
स्वास्थ्य कार्यालयका अनुसार भक्तपुरका विभिन्न अस्पतालका भेन्टिलेटरमध्ये १२ वटा कोभिड–१९ का बिरामीका लागि छुट्याइएको छ। तर, तीमध्ये भक्तपुर अस्पतालको तीन वटामा दुई वटामात्र उपयोग भएको छ। केएमसी दुवाकोटको तीन र नेपाल कोरियामैत्री नगरपालिका अस्पतालको छ वटा भेन्टिलेटर खाली छन्।