फोकल्याण्ड टापु युद्धको ४० वर्षपछि ल्यान्डमाइनमुक्त हुँदै
फोकल्याण्डको युद्ध सकिएको करीब ४० वर्षपछि बेलायतले उक्त क्षेत्र चाँडै ल्यान्डमाइनमुक्त हुने जनाएको छ। आन्ध्रमहासागरको दक्षिणमा पर्ने उक्त टापुमा बेलायत र अर्जेन्टिनाबीच सन् १९८२ मा युद्ध भएको थियो।
बेलायती कोषबाट चलेको ‘माइन क्लियरिङ प्रोग्राम’ सन् २००९ मा शुरु भएको थियो। उक्त कार्यक्रम समयसीमाभन्दा तीन वर्षअगाडि नै सकिन लागेको हो। कार्यक्रमले पूर्णता पाएसँगै बेलायती भूमिमा कुनै पनि प्रकारको माइन नरहने वासिङ्टन पोष्टले जनाएको छ।
”हाम्रो भूमिमा ल्यान्डमाइनमुक्त भएर हामीले विश्वलाई नै ल्यान्डमाइनमुक्त गराउन गरेको प्रतिबद्धता पूरा हुँदैन”, बेलायतको विदेश मन्त्रालयका फोकल्याण्ड टापु हेर्ने अधिकारी वेन्डी मोर्टोनले भने, “निर्दोष नागरिकहरुको ज्यान बचाउन बेलायतले विश्वभर अरु तीन करोड ६० लाख पाउण्ड खर्च गर्नेछ।” बेलायतको उक्त कोषले अफगानिस्तान, एङ्गोला, कम्बोडिया, इराक, लाओस, लेबलान, सोमालिया, सुडान, दक्षिण सुडान, श्रीलंका, भियतनाम, यमन र जिम्बाब्बेमा माइन हटाउनको लागि खर्च गर्ने जनाएको छ।
यता फोकल्याण्डका जनताले आगामी १४ नोभेम्बरमा अन्तिमपटक माइन निस्क्रिय गराएर कार्यक्रमको अन्त्य गर्नेछन्। यसपछि समुद्र किनारमा जान लगाइएका बारहरु पनि क्रमशः हटाइनेछ।
सन् १९८२ मा उक्त टापुको स्वामित्वलाई लिएर भएको युद्धमा अर्जेन्टिना पराजित भएको थियो। उक्त युद्धमा ६४९ अर्जेन्टिनी र २५५ बेलायती सैनिकले ज्यान गुमाएका थिए। बेलायतका तर्फबाट गोर्खाली सैनिकले पनि युद्धमा भाग लिएका थिए।
अर्जेन्टिनाले अझै यो भूमिप्रति दाबी गर्दै आएको छ, जसले उनीहरु ‘माल्भिनाज’ भन्छन्। तर, बेलायतले भने सिङ्गो फोकल्याण्ड बेलायती सुरक्षा अन्तर्गत स्व–शासन रहेको जनाउने गरेको छ।