विहार विधानसभाः नीतिशकुमार चौथो पटक मुख्यमन्त्री बन्ने निश्चित, तर आरजेडी बन्यो ठूलो दल
भारतको विहारमा भएको विधानसभा निर्वाचनमा मुख्यमन्त्री नीतिशकुमार नेतृत्वको गठबन्धन नेशनल डेमोक्र्याटिक एलाइन्स (एनडीए) ले बहुमत ल्याएको छ। तर, उनको दल जनता दल यूनाइटेड (जेडीयू) भने तेस्रो स्थानमा खुम्चिएको छ।
विहारमा राष्ट्रिय जनता दल (आरजेडी) सबैभन्दा ठूलो दल भएको छ। आरजेडी एक्लैले ७५ स्थानमा जित हासिल गरेको छ। एनडीएमा संलग्न भारतीय जनता पार्टी (बीजेपी) ले ७४ र जेडीयूले ४३ सिटमा विजय हासिल गरेका छन्।
२४३ सिटको विहार विधानसभामा सरकार गठनका लागि १२२ सिट आवश्यक छ। एनडीएले १२५ सिटमा विजय हासिल गरेपछि जेडीयू प्रमुख नीतिशकुमार लगातार चौथोपटक मुख्यमन्त्री हुने पक्का भएको छ। उता आरजेडीका तेजश्वी यादवले नेतृत्व गरेको महागठबन्धनले ११० सिट हासिल गरेको छ। महागठबन्धनमा सामेल राष्ट्रिय कांग्रेसले १९ सिटमा जित हासिल गरेको छ।
यो निर्वाचनमा वामपन्थी दलले भने उल्लेख्य विजय हासिल गरेका छन्। महागठबन्धनमा सामेल वामदलमध्ये भाकपा (माले) लिबरेशनले १२ सिटमा विजय हासिल गरेको छ। उसले १९ स्थानमा उम्मेद्वार उठाएको थियो। त्यस्तै भाकपा (मार्क्सवादी) र भाकपा दुई दुई सिटमा विजयी भएका छन्। उनीहरुले क्रमशः ६ र ४ स्थानमा उम्मेद्वारी दिएका थिए।
आरजेडी र जेडीयू खुम्चिए, बिजेपीलाई फाइदा
ठूलो पार्टी भए पनि सन् २०१५ को निर्वाचनको तुलनामा आरजेडीको सिट संख्या खुम्चिएको छ। उसले यसअघिको निर्वाचनमा ८० सिट जितेको थियो। यसपटक पाँच सिट घटेको छ।
उता मुख्यमन्त्री नीतिशकुमारको पार्टीमा त भूकम्प नै गएको छ। उनको दल जेडीयूले अघिल्लो निर्वाचनमा ७१ स्थानमा जित हासिल गरेको थियो। जेडीयू दोस्रो ठूलो दल थियो। यसपटक २८ सिट गुमाउँदै तेस्रो ठूलो दल बनेको छ।
अघिल्लो निर्वाचनमा जेडीयू, आरजेडी र कांग्रेसले गठबन्धन गरेका थिए। बीजेपीले भने केही साना दलसँग गठबन्धन गरेको थियो। सन् २०१७ मा जेडीयूले आरजेडी र कांग्रेससँगको गठबन्धन तोडेर सरकारमा बीजेपीलाई सामेल गरेका थिए।
यो चुनावमा बीजेपीले ठूलो फड्को मार्दा कांग्रेस पार्टी पनि खुम्चिएको छ। अघिल्लो चुनावमा बीजेपी ५३ सिटमा विजयी भएको थियो। यसपटक २१ सिट थपेको छ। कांग्रेस भने २७ बाट १९ मा झरेको छ।
गत निर्वाचनमा जम्मा तीन सिट ल्याएका बाम दलले यो निर्वाचनमा १६ सिट जितेका छन्। अघिल्लो निर्वाचनमा भाकपा (माले) लिबरेशन मात्र विधानसभामा थियो। उसका तीन सांसद थिए। यसपटक उसले १२ स्थानमा जितेको छ। कन्हैया कुमार आबद्ध दल भाकपा र भाकपा मार्क्सवादीले पनि यसपटक प्रवेश पाएका छन्।