‘विमलेन्द्र निधिजी सभापतिको उम्मेद्वार* बन्दा कांग्रेसको हित हुन्छ, गुटबन्दी पनि हट्छ’
“उहाँ सभापतिको उम्मेद्वार* हुँदा एक त मधेशी समुदायका नेताको नेतृत्व कांग्रेसले पाउँने संभावना बढ्छ। अर्को, उहाँ नेतृत्वमा पुग्दा पार्टीभित्रको लामो समयदेखिको गुटबन्दी अन्त्य हुनसक्छ।”
आसन्न महाधिवेशनबारे निर्णय गर्न र पार्टीभित्र देखिएको तीव्र विवाद सुल्झाउन भन्दै बोलाइएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पटक पटक सारेर २७ कात्तिकमा पुर्याइएको छ। महाधिवेशनकेन्द्रित बनेको कांग्रेसमा अहिले मुख्यतः क्रियाशील सदस्यता विवाद र रामचन्द्र पौडेल समूहले राखेको १६ बुँदे असन्तुष्टिबारे शीर्ष तहमा सहमति जुटेको छैन। अहिले भइरहेको शीर्ष तहको बैठकमा भने विवाद समाधान नजिक पुगेको नेताहरुले बताउँदै आएका छन्। कांग्रेसभित्रको विवाद, महाधिवेशनबाट नेतृत्वमा पुग्ने प्रतिस्पर्धा र प्रमुख प्रतिपक्षको भूमिका लगायत विषयमा कांग्रेस नेता मिनेन्द्र रिजालसँग हिमालखबरका लागि लक्ष्मी बस्नेतले गरेको कुराकानीको सारसंक्षेपः
केन्द्रीय कार्यसमितिको बैठक लगातार सरिरहेको छ, शीर्ष तहमा मिलाउने भनिएको विवाद नमिलेरै हो वा अरु कारणले ?
उपसभापति विमलेन्द्र निधि र नेता कृष्णप्रसाद सिटौला नजिकका व्यक्तिहरुमा कोरोना संक्रमण पुष्टि भएपछि उहाँहरु सेल्फ आइसोलेसनमा बस्नुपर्ने भयो। त्यहीकारण बैठक बस्न नसकेको हो। बैठक अगाडि मिलाउनुपर्ने भनेर हामीले सभापतिजीलाई दिएका १६ वटा बुँदामा पनि छलफल भइरहेको छ। तर हाम्रो असहमतिका विषयमा त मोटो रुपमा सहमति भइसक्यो। असहमतिमध्ये महाधिवेशनसँग सम्बन्धित विषय र महाधिवेशनको निष्पक्षता सुनिश्चित गराउनुपर्छ, विधि र विधानसम्मत पार्टी गतिविधि हुनुपर्छ भन्ने हाम्रो धारणा हो। सभापतिसहित उहाँको पक्षका केन्द्रीय पदाधिकारी र हामीसँगै बसेर चार पाँच पटकको छलफलबाट करीब सबै विषयमा सहमति जस्तो बनिसकेको छ। त्यसलाई थप व्याख्या गरेर २७ गते अघि नै सहमतिमा पुगिन्छ भन्ने छ। तर अहिले बैठक चाहिं दुई नेताहरु आइसोलेसनमा बस्नुपरेकाले सरेको हो।
तपाईंहरुले सभापतिलाई बुझाएका १६ बुँदामध्ये के कुरा मिले र के के मिल्न बाँकी छ ?
विभाग गठनका विषयमा हामीले प्रष्ट कुरा राख्दै आएका छौं, तर सभापतिजीलाई यो विषयमा अझै चित्त बुझाउन सकेका छैनौं। विभागबारे उहाँको सोचाइ र बुझाइ अझै फरक छ। अरु विषय, जस्तो कि महाधिवेशनको सबैभन्दा पहिलो चरणका मतदाता रहने क्रियाशील सदस्यता वितरण, नवीकरणदेखि महाधिवेशनको प्रक्रियालाई स्वतन्त्र र निष्पक्षरुपमा सञ्चालन गर्ने कुरासँग सम्बन्धित विषय मोटो रुपमा मिलेका छन्। त्यसलाई मिहिन ढंगले छलफल गरेर अब एक दुई दिनमा टुंग्याउँछौं।
महाधिवेशनको तालिका प्रभावित हुन्छ कि पूर्वनिर्धारित तालिकामै हुन्छ ?
महाधिवेशनको मिति नै त ठूलो कुरा होइन। यही अवस्थामा महाधिवेशन गर्न केही कठिनाइ छन्। मुख्यतः कोरोना महामारीकै कारण कार्यतालिका प्रभावित भयो, अझै पनि कति प्रभावित हुने हो टुंगो छैन। दोस्रो, यो अवस्थामा पनि केन्द्रीय कार्यसमितिले जसरी तयारी अगाडि बढाउनुपर्थ्याे त्यो किसिमले काम हुनसकेको छैन।
तर, अहिलेको प्रमुख विषय, विगतदेखिको अनुभवबाट पनि देखिएको विषय क्रियाशील सदस्यताको विवाद हो। क्रियाशील सदस्यता प्रमाणित केन्द्रीय सभापतिको हस्ताक्षरबाट हुन्छ। त्यो प्रक्रिया टुंगो लगाएर, त्यसपछि डेढ महीनादेखि बढीमा दुई महीनाभित्र वडादेखि केन्द्रको महाधिवेशन सम्पन्न गर्न सकिन्छ भन्ने हाम्रो विश्वास हो। त्यही भएर क्रियाशील सदस्यतालाई टुंगो लगाउने प्रक्रियाबारे सहमति भएको छ। यो विषय विवादरहित रुपमा टुंगियो भने महाधिवेशन सहज बनाउन सकिन्छ। मितिबारे नयाँ निर्णय गर्नु पर्दैन ।*
महाधिवेशनको तयारी भइरहँदा तपाइँले पनि कुनै पदमा उम्मेदवार बन्ने तयारी गरिरहनुभएको छ ?
म सभापतिपछिको दोस्रो पद, महामन्त्रीमा* प्रतिस्पर्धा गर्ने तयारीमा छु।
यसपालि सभापतिमा धेरै जनाले दाबी गरिरहनुभएको छ। तपाइँ विमलेन्द्र निधिको पक्षमा देखिनुभएको छ, उहाँकै समूहबाट उपसभापति वा महामन्त्रीमा उठ्ने तपाइँको तयारी हो ?
म उहाँको समूहमा होइन। म रामचन्द्र दाइ (रामचन्द्र पौडेल समूह) लगायतका नेताहरुसँगै रहन्छु, उहाँबाट अलग हुनुपर्ने कारण छैन। हो, निधिजीको उम्मेदवारीलाई चाहिं मैले सकारात्मक रुपमा लिएको छु। यसको कारण पार्टीको समग्र हित हो।
अहिलेको प्रमुख विषय क्रियाशील सदस्यताको विवाद हो। क्रियाशील सदस्यता प्रमाणित केन्द्रीय सभापतिको हस्ताक्षरबाट हुन्छ। त्यो प्रक्रिया टुंगो लगाएर, त्यसपछि डेढ महीनादेखि बढीमा दुई महीनाभित्र वडादेखि केन्द्रको महाधिवेशन सम्पन्न गर्न सकिन्छ भन्ने हाम्रो विश्वास हो।
यदि उहाँ (निधि) सभापतिको उम्मेद्वार हुनुभयो भने एक त मधेशी समुदायका नेताको नेतृत्व कांग्रेसले पाउँने सम्भावना रहन्छ। यो आफैंमा ठूलो कुरा हो। निधी उम्मेद्वार हुँदा सभापती पदमा दुई भन्दा बढी उम्मेद्वार हुन्छन् र यसले पार्टीमा रहेको दुई पक्षिय गुटबन्दीको अन्त्य हुनेछ।* उहाँ मधेशी समुदायको मात्रै नेता हो भनेर चाहिं सोच्नुहुँदैन, निधिजी सबैको नेता हो। तर, मधेशी समुदायको नेता पार्टी सभापतिको उम्मेद्वार* हुँदा सन्देश पनि राम्रो जान्छ। उहाँ सबै नेपालीलाई बलियो नेतृत्व दिन सक्ने नेता हो।
उहाँ नेतृत्वमा पुग्दा पार्टीभित्रको लामो समयदेखिको गुटबन्दी अन्त्य हुनसक्छ। मधेशको राजनीति पनि उँचाइमा पुग्छ। उहाँ अहिलेसम्म देउवाजीकै पक्षमा हुनुहुन्छ, भोलि देउवाजीकै समर्थनमा उम्मेदवारी दिनुहुन्छ वा आफ्नो हिसाबले भन्ने मलाई थाहा छैन। तर, म उहाँको समूहमा लागेर वा उहाँसँग मिलेर उम्मेदवार बन्ने होइन। म रामचन्द्र दाइसँगै छु।
विमलेन्द्र निधि सभापति बन्दा के कारणले सकारात्मक सन्देश जान्छ भन्न खोज्नुभएको हो ?
निधिजी नेपाली कांग्रेसको महामन्त्री भइसक्नुभो, अहिले उपसभापति हुनुहुन्छ। यसको अर्थ उहाँ हिमाल, पहाड र मधेश अर्थात् सबै भूगोल, सबै जातजाति, सबै लिंग र क्षेत्रको नेता हुँदै आउनुभएको छ। यो आम मधेशी समुदाय र अरुको लागि पनि सकारात्मक कुरा हो। ४० वर्षअघि उहाँ नेपाल विद्यार्थी संघको सभापति हुँदा भएको बेला म उपसभापति थिएँ। त्यतिबेलादेखि म उहाँलाई राम्रोसँग चिन्छु । उहाँमा जातीय, क्षेत्रीय भावनाभन्दा माथि उठेर सबैलाई समान रुपमा हेर्ने सोच पाएको छु।
प्रसंग बदलौं। नेपाली कांग्रेस प्रमुख प्रतिपक्षको भूमिकामा पनि निकै कमजोर देखियो भन्ने चर्चा भइरहेको छ नि ?
अहिले नेकपाको सरकार र प्रधानमन्त्री एकलौटी रुपमा चलेको हामीले मात्र होइन, उहाँकै पार्टीका नेता कार्यकर्ताले भन्दै आउनुभएको छ। सरकारले अहिले सर्वसत्तावादी दृष्टिकोणबाट काम गरिरहेको छ। यो नेकपामा पनि देखिइरहेको छ। अर्कोतर्फ संसद चलेको छैन, संसद चालु रहेको भए प्रतिपक्षले त्यो फोरमबाट सरकारलाई अझ जिम्मेवार बनाउने प्रयास गर्नसक्थ्यो। महामारी नियन्त्रणमा चुकेको सरकारलाई ठीक ठाउँमा ल्याउन संसद अधिवेशन बोलाइनुपर्छ।
सरकारका कामकारबाहीप्रति चनाखो हुने, सुझाव दिने, आवश्यकता अनुसार दबाब दिने प्रतिपक्षको जिम्मेवारी हो, त्यो गरिरहेकै छौं। कोभिड कोषमा रकम जम्मा गर्ने जस्ता काम गरेर कांग्रेसले महामारी नियन्त्रणका लागि गर्नुपर्ने पहल र सरकारलाई गरेको सहयोग हो। त्यो पनि गर्दै आएका छौं। यद्धपी नेतृत्व बलियो हुँदा प्रतिपक्षको भुमीका अझै प्रभावकारी हुन्छ। त्यसो हुनु पनी पर्छ ।*
तर, प्रधानमन्त्रीले काम गर्न सक्नुभएन भन्दैगर्दा 'म प्रधानमन्त्री चलाउँछु' भन्ने कुरा पनि भएन। संघीय सरकार र प्रदेश सरकारमा हामी कहीँ पनि छैनौं। स्थानीय सरकारमा पनि करीब ३० प्रतिशत जतिमा मात्र कांग्रेस निर्वाचित भएको छ। ती स्थानीय सरकारले अन्य दल र सरोकारवाला सबैसँग छलफल गरेर आफ्नो काम गरिरहेका छन्। कांग्रेसले प्रमुख प्रतिपक्षका रुपमा सरकारको काममा चनाखो हुने, सुझाव दिने र नगर्नुपर्ने काम गरे त्यसो नगर भनेर दबाब दिने हो, त्यो हामीले गरिरहेका छौं।
संसदको बर्खे अधिवेशन अन्त्य भएको पाँच महीना हुनलाग्यो। यसबीचमा संसद अधिवेशन बोलाउनुपर्छ भनेर केही नेताले सामाजिक संजालमा लेख्नेबाहेक कांग्रेसले बलियोसँग आवाज पनि उठाएन नि ?
प्रधानमन्त्रीले अकस्मात संसद अधिवेशन अन्त्य गर्न सिफारिश गरेपछि हामीले विरोध गरेका थियौं। तर कोरोना महामारीका कारण सुरक्षालाई ख्याल गरेर संसद बोलाइहालौं भन्न अलि डराएकै पनि हो। केही कुरा पार्टीको बैठकले निर्णय गर्नुपर्छ, तर बैठक बस्न नसकेकाले पनि औपचारिक रुपमा निर्णय गर्न सकेनौं। आउँदो २७ कात्तिकमा बस्ने केन्द्रीय कार्यसमिति बैठकमा यी विषयहरुमा छलफल हुन्छ। संसद अधिवेशनको माग गर्नेबारे पार्टीले निर्णय गर्छ।
*सच्याइएको