धुम्बाराहीमा दाहालसहितका बहुमत सचिवालय सदस्यको बैठक सकियो, ओलीलाई पर्सिसम्म कुर्ने
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित बहुमत सचिवालय सदस्यको बैठक सकिएको छ। नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा भएको बैठकले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई औपचारिक बैठकका लागि पर्सिसम्म पर्खिने निष्कर्ष निकालेको छ।
प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार सहमतिबाटै पार्टीको सचिवालय बैठक सञ्चालनका लागि २७ कात्तिकसम्म पर्खने निष्कर्ष निकालिएको हो। यसअघि दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता श्रेष्ठले ४८ घण्टाभित्र बैठक बोलाउन ओलीलाई २२ कात्तिकमा लिखित आग्रह गरेका थिए। उनीहरूले दिएको समयसीमा सोमबार साँझ सकिएको थियो।
त्यसपछि अध्यक्ष दाहालको अगुवाईमा मंगलबार सचिवालयको अनौपचारिक बैठक बसेको हो। बैठकअघि दाहाल ओलीलाई भेट्न बालुवाटार पुगेका थिए। दाहालले भोलि ओलीको उपत्यकाबाहिर जाने कार्यक्रम रहेकाले २७ कात्तिकमा बैठक बस्नका लागि सहमति मागेको तर, ओलीले सहमति नदिएको नेताहरूलाई ब्रिफिङ गरे।
“अध्यक्ष ओलीको भोलि उपत्यकाका बाहिर जाने कार्यक्रम भएकाले कार्यकारी अध्यक्ष कमरेडले पर्सि बैठक बसौं न त भनेर सहमति माग्नुभयो तर, प्रधानमन्त्री एवं अध्यक्ष कमरेड ओलीले यसमा सहमति दिनुभएको छैन”, प्रवक्ता श्रेष्ठले भने।
उनले आफूहरू पार्टी एकताको पक्षमा संवेदनशील रहेकैले बैठकका लागि धैर्य गरिरहेको बताए। आफूहरूको धैर्यलाई कमजोरीका रूपमा नबुझ्न श्रेष्ठको आग्रह छ।
“हामीले आशा गरेका छौं प्रधानमन्त्रीकै सहमतिमा पर्सि बैठक बस्नेछ। बैठक बस्छ नै भनेर सोचेका छौं”, प्रवक्ता श्रेष्ठले भने, “पर्सि बैठक बसेन भनेर के गर्ने भनेर अहिले नै सोचिसकेका छैनौं।”
उनले आजको छलफलमा पाँच नेताले शनिबार अध्यक्ष ओलीसँग गरेको भेट र मंगलबार अध्यक्ष दाहालले गरेको भेट लगायतका विषयमा समीक्षा भएको छ। छिटोभन्दा छिटो पार्टीको बैठक बस्नुको विकल्प नरहेका विषयमा आजको बैठकमा छलफल भएको प्रवक्ता श्रेष्ठले बताए।
उनले कोरोना महमारीपछि निम्तिएको स्वास्थ्य संकट समाधानका लागि तत्काल चाल्नुपर्ने कदम, स्थायी कमिटीको निर्णय कार्यान्वयन नभएको बारे समीक्षा, कर्णाली प्रदेशमा देखिएको समस्या, पर्सामा भएको घटना र भारतीय रअ प्रमुखले प्रधानमन्त्रीलाई भेटेका लगायतका विषयमा छलफल गर्न चाहेको बताए।
“जे भए पनि पार्टीका बैठक नबस्नु उपयुक्त होइन। बैठक बस्नुपर्छ। प्रधानमन्त्रीकै सहमतिमा पर्सि बैठक बस्छ भन्ने आशा राखेका छौं”, उनले दाेहाेर्याए।
प्रवक्ता श्रेष्ठले आफूहरू पार्टी विभाजनको पक्षमा नरहेको पनि बताए। “हामीले विभाजनबाट निकास खोजेकै छैनौं। यतातिर सोचेका पनि छैनौं। महान उद्देश्य र लक्ष्यका साथ पार्टी एकता गरेका हौं” प्रवक्ता श्रेष्ठले भने, “अहिले विभाजनका विषयमा सोच्ने बेला नै होइन। त्यतातिर जानु पनि हुँदैन।”