यो वर्ष तिहारमा बत्तीको व्यापार ७० प्रतिशतले घट्ने अनुमान
यो वर्ष तिहारमा बत्तीको व्यापार ७० प्रतिशतले कम हुने अनुमान व्यापारीहरूले गरेका छन्। कोरोना संक्रमणको जोखिमका कारण विगत भन्दा यो वर्ष ७० प्रतिशतले व्यापार कम हुने व्यापारीहरूले अनुमान गरेका हुन्।
तिहार आउन केही दिनमात्रै बाँकी रहेपनि बजारमा विगतजस्तो तामझाम भने देखिएको छैन्। मानिसहरुको भीडभाड कम हुनु, कोभिडका कारण उपत्यकाबाट धेरैजसो गाउँ फर्किनु लगायतका कारण व्यापारमा कमि आउने व्यवसायीहरूको भनाइ छ।
तिहारमा नेपालीहरूले सबैभन्दा बढी विद्युतीय बत्ती प्रयोग गर्छन्। तर, यसपटक कोरोना कहरले गर्दा व्यापार धेरै नहुने भएकाले व्यवसायीहरू भने निराश भएका छन्। सुन्धारा क्षेत्रमा विगत १० वर्षदेखि व्यापार गर्दै आएका मनिस विक्रम शाह कोरोनाका कारण व्यापारीहरूलाई मारमा पारेको बताए। तिहारमा सबैभन्दा बढी व्यापार हुने झिलिमिली बत्ती भएपनि यो वर्ष ३० प्रतिशतभन्दा बढी हुन नसकेको उनले बताए। धेरै व्यवसायीहरू विस्थापित हुनुपरेको अवस्थालाई मध्यनजर गर्दै सरकारले आवश्यक नीति लिएर समस्या सम्बोधन गरिदिनुपर्ने उनले बताए।
अर्का व्यापारी भक्ति प्रसाद भट्टराई पनि बजारमा झिलिमिल बत्ती किन्नेहरूको भीडभाड विगत जस्तो नभएको बताए। नेपाल विद्युतीय व्यवसायी महासंघका अनुसार विगत वर्ष भन्दा ४० प्रतिशत कम मात्रै बत्तीहरू आयात भएका छन्। कोरोनाका कारण व्यवसायीहरूले भोग्नुपरेको समस्या र चीनसँगको नाकाबाट सहज रुपमा सामान आयात नहुँदा समस्या भएको महांघको भनाइ छ।
माटाका पाला, मैनबत्ती, केराको सुप्लामा बालिने कपासको बत्तीले गाउँसहर झिलिमिली हुनेगरेकोमा अहिले विद्युतीय बत्तीमा आकर्षण बढेको छ। देशमा लोडसेडिङको समस्या पनि हटेपछि विद्युतीय बत्तीमा मानिसहरू आकर्षित भएका हुन्।