ब्यांकका ६ हजार कर्मचारी कोरोना संक्रमित, तिहारमा तीन दिन ब्यांकका शाखा बन्द हुने
देशका वाणिज्य ब्यांकमा कार्यरत ६ हजारभन्दा धेरै कर्मचारीलाई कोरोनाभाइरस संक्रमण भएको छ। नेपाल ब्यांकर्स संघका अनुसार, ब्यांकिङ सेवा प्रवाह गर्ने क्रममा वाणिज्य ब्यांकहरूमा कार्यरत यो संख्याका कर्मचारीहरूलाई कोरोनाभाइरसको संक्रमण भएको हो।
संघले कोरोना संक्रमण विस्तारका बावजुद हरेक शाखाबाट निरन्तर सेवा प्रवाह गर्दै आएपनि तिहारको समयमा तीन दिन भने वाणिज्य ब्यांकका देशभरिका शाखा बन्द हुने विज्ञप्तिमार्फत् जनाएको छ।
२९ कात्तिकदेखि १ मंसीरसम्म ब्यांकका शाखा बन्द रहनेछन्। तर, डिजीटल ब्यांकिङ र एटीएम सेवा यथावत सञ्चालन हुने संघले जनाएको छ।
ब्यांकले कोरोना भाइरसको संक्रमणबाट जोगिन ग्राहकहरूलाई डिजिटल ब्यांकिङ प्रयोग गर्न पनि आग्रह गरेको छ।