शेयर बजारमा फराकिलो वृद्धि
मंगलबार शेयर बजार परिसूचकमा फराकिलो उछाल आएको छ। आज शेयर बजार परिसूचक नेप्से करीब २६ अकंले बढेर १ हजार ६७८ विन्दु पार गरेको छ।
बजारमा रू. ४ अर्ब ९ करोड ६२ मूल्य बराबरको शेयर किनबेच भएको छ। यो कारोबार रकम पनि औसतभन्दा धेरै हो। अमेरिकी कम्पनीले कोरोना भाइरस विरुद्धको तेस्रो चरणको भ्याक्सिनको परीक्षण ९० प्रतिशत प्रभावकारी रहेको समाचार सार्वजनिक भएसँगै त्यसको असर नेपालको शेयर बजारमा पनि देखिएको अनुमान गरिएको छ।
भ्याक्सिनले कोरोना भाइरसको महामारी अन्त्य गर्ने अनुमानसहित लगानीकर्तामा मनोवैज्ञानिक असर पर्दा बजारमा खरिदको चाप परेको आकलन गरिएको हो। अमेरिकी कम्पनीको भ्याक्सिन परीक्षण सफल भएको समाचार सार्वजनिक भएसँगै संसारभरिका ठूला शेयर बजारमा त्यसको सकारात्मक असर परेको थियो। यसबाहेक ब्यांकको सस्तो ब्याजदर तथा प्रथम त्रैमासिकमा ब्यांक तथा वित्तीय संस्थाले गरेको नाफालाई पनि बजार बढ्नुको कारण मानिएको छ।
मंगलबार कर्पोरेट डेभलपमेन्ट ब्यांक, सानिमा जनरल इन्स्योरेन्स, साल्ट ट्रेडिङ कर्पोरेसन र नेपाल दूरसञ्चार कम्पनीको शेयर मूल्य करीब १० प्रतिशतले बढेर सर्किट ब्रेकर लागेको छ। १०२ कम्पनीको शेयर मूल्य बढेको छ। शेयर बजारमा उच्च वृद्धि हुँदा पनि ५० कम्पनीको शेयर मूल्य भने घटेको छ। शेयर मूल्य घट्ने अधिकांश कम्पनीमा जलविद्युत क्षेत्रका छन्।
आज जलविद्युत र म्युचुअल फण्डबाहेक सबै समूहका उपसूचक सकारात्मक भएका छन्। सबैभन्दा धेरै व्यापार समूह ७.८७ र जीवन बीमा समूह ४.८७ प्रतिशतले बढेका छन्। अधिकांश जीवन बीमा कम्पनीहरुको मूल्य बढेको छ। म्युचुअल फण्ड ०.१७ प्रतिशत र जलविद्युत समूह ०.०५ प्रतिशतले घटे।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको रू. २८ करोड ५३ लाख मूल्य बराबरका शेयर किनबेच भए। नेपाल लाइफ इन्स्योरेन्स र हिमालयन डिस्टिलरीका शेयरको पनि उच्च किनबेच भयो।