पर्यटन बोर्डका पूर्वसीईओ जोशी अन्तर्राष्ट्रिय टुरिजम हिरो अवार्डद्वारा सम्मानित
नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्याकरी अधिकृत (सीईओ) तथा टुरिजम रिकभरी टास्कफोर्स नेपालका संयोजक दीपकराज जोशी अन्तर्राष्ट्रिय टुरिजम हिरो अवार्डद्वारा सम्मानित भएका छन्।
पर्यटन क्षेत्रको दिगो विकास र प्रवर्द्धनका लागि जोशीले निर्वाह गरेको उल्लेखनीय भूमिका, निरन्तर क्रियाशीलता, सकारात्मक योगदान र कोरोना महामारीका कारण शिथिल पर्यटन क्षेत्रको पुनरुत्थान अभियानमा देखाएको सक्रियताका लागि वर्ल्ड टुरिजम नेटवर्कले उक्त अवार्ड दिएको हो।
दक्षिण एशियाबाट उक्त अवार्ड प्राप्त गर्ने प्रथम व्यक्तिका रूपमा जोशी ‘इन्टरनेशनल हल अफ टुरिजम हीरोज’ को सदस्यता समेत पाउने पहिलो नेपाली बनेका छन्। विश्वभरीबाट नामांकन दर्ता गरिएका पर्यटन क्षेत्रमा आवद्ध व्यक्तिहरूको मूल्यांकनका आधारमा उत्कृष्ट, समर्पित एवं उल्लेखनीय योगदान दिँदै क्रियाशील व्यक्तित्वलाई प्रदान गरिने सो अवार्ड पाउने अन्यव्यक्तिहरूमा सेशेल्सका पर्यटन मन्त्री अलेन स्ट अंगे, क्वीआई ग्रुपका निर्देशक विजय पूनूसम्त, अफ्रिकन टुरिजम बोर्डका अध्यक्ष काथबर्ट एनक्यूब, जिम्बाब्वेका भूपू पर्यटन मन्त्री डा. वाल्टर मेक्सेम्बी, विश्व पर्यटन संगठनका निवर्तमान महासचिव डा. तालेब रिफाई, केन्याका पर्यटन सचिब नाजिब बलला र जमैकाका पर्यटन मन्त्री एडमण्ड बार्टलेटसहितका व्यक्तित्व रहेका छन्।
अर्वाड प्राप्त गरेपछि जोशीले अर्वाड प्रदान गर्ने विश्व पर्यटनका सबैलाई धन्यवाद व्यक्त गर्दै अवार्डले आफूलाई पर्यटन विकास र पुनरुत्थानका लागि थप सक्रिय हुन प्रेरित गरेको बताएका छन्।