हेलिकप्टर कम्पनीमा महामारीको राप, थन्किए फिस्टेल एअर र डाइनेस्टी
पर्यटक आगमन नहुँदा आकस्मिक उद्धार र सीमित टुर प्याकेजमा मात्रै केही हेलिकप्टर प्रयोग भइरहेका बेला कोरोना संक्रमण महामारीपछि फिस्टेल एअर उडानमा छैन भने एअर डाइनेष्टीले पनि तीन महीनादेखि सबै हेलिकप्टर थन्क्याएको छ।
नेपालको उच्च हिमाली क्षेत्रमा हेलिकप्टर उडान गर्ने र हाई अल्टिच्यूडमा व्यापार गर्न सिकाउने अगुवा हेलिकप्टर कम्पनी हो, फिस्टेल एअर (समिट हेलिकप्टर)। तर, कोरोनाभाइरस संक्रमण महामारीको कहरपछि यो कम्पनी थला परेको छ। कोरोना त्रासले नेपालमा पर्यटक आगमन ठप्प भएपछि गएको मार्च महीनादेखि फिस्टेल एअरले आफ्ना तीन वटा हेलिकप्टर थन्क्याएर राखेको छ।
एअरबस हेलिकप्टरका एएस ३५० बीथ्रीका दुई वटा र बेल २०६ नामको एक गरी तीन वटा हेलिकप्टर सञ्चालन गरिरहेको फिस्टेलले ११ चैतमा सरकारले गरेको बन्दाबन्दीपछि पुनः उडान गरेको छैन। उडान नहुँदा फिस्टेलसँग जोडिएका करीब ६० जनाको रोजगारी खोसिएको छ।
सन् १९९७ देखि सन् २००४ सम्म सञ्चालन भएर तीन वर्ष बन्द भएको यो कम्पनी सन् २००७ मा पुनः आक्रामक बजार विस्तारमा लागेको थियोे। १३ वर्षअघि नयाँ व्यवस्थापनबाट पुनः सञ्चालनमा आएपछि बजार खोज्ने क्रममा एअरबस कम्पनी (तत्कालीन युरोकप्टर) का हेलिकप्टर खरीद गरेको थियो। एएस ३५० बीथ्री नामका पाँचसिटे हेलिकप्टर ल्याएर उच्च हिमाली क्षेत्रमा उडान, उद्धार र गन्तव्यको सञ्जाल विस्तार गर्न थालेको फिस्टेल एअरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन पाण्डे बताउँछन्।
उनी भन्छन्, “नेपालमा जम्मा रु.५ करोडका बी वान र बी टू हेलिकप्टर सञ्चालन भइरहेको समयमा फिस्टेलले रु.२२ करोड खर्चेर बी थ्री ल्याएको थियो।”
आधारशिविर भन्दा माथि निम्तिन सक्ने संकटमा दिने सेवा हेलिकप्टरको लागि व्यापार हुन्छ भनेर सिकाउने फिस्टेल एअर अहिले आफैं कोरोना महामारीले संकटमा परेर थलिएको छ।
खरीद सम्झौता भइसकेपछि महँगो र नेपाली बजारले धान्न नसक्ने हेलिकप्टर भित्र्याउन लागिएको भनेर ब्यांकले ऋण नदिनेसम्म अवस्था त्यसबेला आएको पाण्डे सम्झन्छन्। अति महत्वाकांक्षी योजना भन्दै तर्किएको ब्यांकलाई विश्वस्त पारेपछि अन्ततः ऋण लगानी गर्न तयार भएको थियो।
यति मात्र होइन, कम्पनीभित्रैबाट पनि हेलिकप्टर खरीदका लागि भइसकेको सम्झौता रद्द गर्न आवाज उठेको थियो। तर, यसले हाई अल्टिच्यूड हेलिकप्टर मात्र ल्याएन, अगुवा हेलिकप्टर कम्पनी बन्न पुग्यो।
विभिन्न व्यवधान आए पनि हेलिमा भविष्य देखेकाले चुनौती सामना गर्दै व्यवसायमा जम्न सकिन्छ भन्ने विश्वासबाटै अगाडि बढेको पाण्डे बताउँछन्। “त्यतिबेला डाइनेष्टी एअरको हेलि मात्रै फेरिचे (१४ हजार ४ सय फिट) सम्मको उँचाइमा जाने क्षमताको थियो, हामीले लोबुचे (१५ हजार फिट) सम्म जाने हेलि भित्र्याएका थियौं।” अहिले बी थ्रीई २३ हजार फिटसम्मको उँचाइमा जान्छन्।
सन् २००८ मा फिस्टेलले ६ महीनाको अन्तरमा दुई वटा बी थ्री हेलिकप्टर आउने गरी सम्झौता गरेको थियो। पहिलो हेलि सन् २००९ को शरद ऋतुमा आएपछि कमाइ गरेर बजार देखाए मात्रै दोस्रो सञ्चालन गर्ने नत्र बेचिदिने योजना कम्पनीले बनाएको थियो। बजार अभाव हुने डरले खरीद सम्झौता भइसकेको हेलिकप्टर आउनुभन्दा एक वर्षअघि नै बिक्रीको लागि विज्ञापन समेत गरेको सीईओ पाण्डे बताउँछन्।
पर्वतीय पर्यटनप्रतिको पर्यटकीय आकर्षण देखाउन सकेको र नेपालमा हेलिकप्टरको व्यापार लोबुचेभन्दा माथिको उँचाइ र सगरमाथाको बेस क्याम्प टुतर्फ रहेको स्पष्ट भिजन पेश गर्न सकेकाले मात्रै पाण्डेको योजना अनुसार हेलिकप्टर भित्रिएको थियो।
पहिलो बी थ्री ल्याएपछि पर्वतीय उडान गर्ने, उद्धार गर्ने र हाई अल्टिच्यूडमा उडान गर्नेसहितको काम आइरह्यो। दोस्रो हेलिकप्टर ल्याएपछि भने फिस्टेललाई फुर्सद नै भएन। आधारशिविर भन्दा माथि निम्तिन सक्ने संकटमा दिने सेवा हेलिकप्टरको लागि व्यापार हुन्छ भनेर सिकाउने हेलिकप्टर अहिले आफैं कोरोना महामारीले थलिएको छ।
“अहिले समग्र हेलि उद्योगमा समस्या छ, उडेका जहाजले पनि सस्तो र भाडा घटाघटमा सेवा दिनुपरेको छ। सञ्चालन खर्च मात्रै बढ्ने र आम्दानीले कर्मचारी पाल्न पनि नपुग्ने अवस्था भएकाले जुनसुकै हेलिकप्टर कम्पनी कुनै पनि बेला सधैंका लागि औपचारिक रुपमै बन्द हुन सक्छन्।” - योगराज कँडेल शर्मा, महासचिव, हेलिकप्टर सोसाइटी अफ नेपाल
फिस्टेलले सेवा दिनुअघि श्री एअरले हुम्ला सिमिकोटबाट जहाजमा सुर्खेत यात्रु ओसार्ने गर्थ्यो। तर, सुर्खेतबाट रित्तै जानुपर्ने र एक पटकमा ४० यात्रु चाहिने भएकाले यसको विकल्प धेरै यात्रु नचाहिने साना हेलि बन्न पुग्यो। पाँच जनासम्म बोक्न मिल्ने भएकाले उद्धार कार्यमा पनि हेलिकप्टरको प्रयोगले व्यापकता पायो।
नेपालमा हेलिकप्टरमा डोरीको सहायताले मानव उद्धार गर्ने प्रचलन नै फिस्टेलबाट शुरु भएको थियो। त्यसपछि सन् २०११ मा एभरेष्ट स्काई डाइभिङसहितका काम यसैले सिकायो। सगरमाथा क्षेत्रको कालापत्थरमा मन्त्रिपरिषद्को बैठक गराउने कामको श्रेय पनि उच्च हिमाली भेगमा उडान शुरु भएको हेलिकै योगदानबाट भएको हेलिकप्टर व्यवसायी बताउँछन्।
उच्च हिमाली क्षेत्रमा सेवा दिने व्यवसाय अहिले सञ्चालनको तयारीमा रहेको मुस्ताङसहित ११ वटा कम्पनी पुगेको छ। यी कम्पनीसँग अहिले साना–ठूला गरेर ३६ वटा हेलिकप्टर छन्। यीमध्ये सबैका अधिकांश हेलिकप्टर उच्च हिमाली क्षेत्रमा उडान गर्ने क्षमताका छन्।
थलियो एअर डाइनेष्टी पनि
सञ्चालनमा रहेका निजी क्षेत्रका ११ वटा हेलिकप्टर कम्पनीमध्ये साना हेलि चलाउने सबैभन्दा पुरानो कम्पनी हो, एअर डाइनेस्टी। उच्च हिमाली क्षेत्रमा जाने हेलिकप्टर भने यसले सन् २०१२ पछि मात्रै थपेको थियो। कोरोना कहरकै कारण यो कम्पनी थला परेको छ।
पाँच वटा हेलिकप्टर रहेको यो कम्पनीले दुई साताअघि मात्रै एउटा हेलिकप्टर मुस्ताङ एअरलाई बेचेको छ। बाँकी चार वटा हेलिकप्टर काम नपाएर तीन महीनायता थन्किएको एअर डाइनेष्टीका प्रबन्ध निर्देशक पवित्रकुमार कार्की बताउँछन्। हेलिकप्टर उद्योग पुनःस्थापित हुन अझै तीन वर्षसम्म पर्खनुपर्ने आकलन गरिएकोले अझै दुई वटा हेलिकप्टर बेच्न खोजिएको उनको भनाइ छ।
“पर्यटक नआएसम्म हेलिकप्टरको व्यवसाय नहुने र एउटा हेलिलाई कहिलेकाहीं उडाएर सञ्चालन खर्च धान्न नै नसकिने हाम्रो यथार्थ हो, यसैले खर्च घटाउन उडान बन्द गरिएको हो”, कार्की भन्छन्, “कोभिडपछिको आर्थिक समस्याबाट पार पाउन अझै दुई वटा हेलिकप्टर बेच्ने निर्णयमा पुगेका छौं।”
“पर्यटक नआएसम्म हेलिकप्टरको व्यवसाय नहुने र एउटा हेलिलाई कहिलेकाहीं उडाएर सञ्चालन खर्च धान्न नै नसकिने हाम्रो यथार्थ हो, यसैले खर्च घटाउन उडान बन्द गरिएको हो। कोभिडपछिको आर्थिक समस्याबाट पार पाउन अझै दुई वटा हेलिकप्टर बेच्ने निर्णयमा पुगेका छौं।” - पवित्रकुमार कार्की, प्रबन्ध निर्देशक, एअर डाइनेष्टी
नेपाली हेलिकप्टर व्यवसायमा अझै ठूलो समस्या आउने र व्यवसायी उठ्नै नसक्ने अवस्था सिर्जना हुन सक्ने हेलिकप्टर सोसाइटी अफ नेपालका महासचिव योगराज कँडेल शर्मा बताउँछन्। एउटा जहाजले सञ्चालन खर्च धान्न कम्तिमा मासिक ५० घण्टा उडान गर्नुपर्ने भए पनि एक घण्टाको पनि काम नपाएर थन्क्याउनुपरेको उनको भनाइ छ।
“अहिले समग्र हेलि उद्योगमा समस्या छ, उडेका जहाजले पनि सस्तो र भाडा घटाघटमा सेवा दिनुपरेको छ”, कँडेल भन्छन्, “सञ्चालन खर्च मात्रै बढ्ने र आम्दानीले कर्मचारी पाल्न पनि नपुग्ने अवस्था भएकाले जुनसुकै हेलिकप्टर कम्पनी कुनै पनि बेला सधैंका लागि औपचारिक रुपमै बन्द हुन सक्छन्।”
कोरोना संक्रमण महामारीले पारेको असरपछि केही हेलिकप्टर कम्पनीमा सञ्चालकले छोड्ने र नयाँ भित्रने क्रम चलिरहेको छ।
११ वटा कम्पनीसँग ३६ वटा हेलिकप्टर रहेकोमा अहिले १३ वटा मात्रै उडानमा छन्। बाँकी हेलिकप्टरले कामै नपाएको हेलिकप्टर सोसाइटी अफ नेपालले जनाएको छ।
हेलिकप्टर कम्पनीको तथ्यांक:
कम्पनी |
हेलिकप्टर संख्या |
उडानमा |
एअर डाइनेष्टी |
४ |
० |
अल्टिच्यूड |
२ |
१ |
हेलि एभरेष्ट |
२ |
१ |
कैलाश हेलिकप्टर |
३ |
१ |
मनाङ एअर |
२ |
१ |
माउन्टेन हेलिकप्टर |
२ |
१ |
प्रभु हेलिकप्टर |
६ |
३ |
श्री एअरलाइन्स |
६ |
३ |
सिम्रिक एअर |
५ |
२ |
फिस्टेल एअर |
३ |
० |
मुस्ताङ हेलिकप्टर |
१ |
० |
जम्मा |
३६ |
१३ |
स्रोतः हेलिकप्टर सोसाइटी अफ नेपाल ।