विहारमा विधानसभा निर्वाचनको मतगणना जारी: एनडीएले पछाडि पार्यो महागठबन्धनलाई
कोरोना महामारीबीच भारतको विहार राज्यमा भएको विधानसभा निर्वाचनमा नेसनल डेमोक्रेटिक अलायन्स (एनडीए) र महागठबन्धनबीच कडा प्रतिस्पर्धा चलिरहेको छ। गएको १५ वर्षदेखि मुख्यमन्त्री रहेका नितिश कुमार एनडीएको तर्फबाट र विहारको विकाशको मोडलका अगुवा मानिने लालु यादवका छोरा तेजस्वी यादव महागठबन्धनका तर्फबाट मुख्यमन्त्रीका रूपमा चुनावी प्रतिस्पर्धामा छन्।
तीन चरणमा मतदान गरी सम्पन्न निर्वाचनको मतगणना मंगलबार बिहानैदेखि शुरू भएको छ। मतगणनामा बिहान महागठबन्धनले केही समय अग्रता लिएको थियो भने दिउँसोदेखि भारतीय जनता पार्टी (बिजेपी) सहितको एनडीएले अग्रता लिइरहेको छ। कुल २४३ सिटमध्ये एनडीएले १२४ स्थानमा अग्रता लिइरहेको छ भने महागठबन्धनले जम्मा १०७ सिटमा मात्रै अग्रता बनाउन सकेको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।
दुईवटा गठबन्धनमा राष्ट्रिय जनता दल यूनाइटेड, कंग्रेस र अन्य वामपन्थी दलहरू छन् भने एनडीएको गठबन्धनमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)सँग मुख्यमन्त्री नितिशकुमारको जनता दल यूनाइटेडले गठबबन्धन बनाएको छ।
निर्वाचनमा २४३ सिटका लागि कुल ३५५८ जना उम्मेद्वारहरू मैदानमा छन्। जसमा ३७० जना महिला, एक ट्रान्सजेन्डर र बाँकी पुरुष छन्। भारतीय निर्वाचन आयोगका अनुसार यो वर्ष करिब ५७.०५ प्रतिशत मतदान भएको छ, जबकी सन् २०१५ मा ५६.६६ प्रतिशत मात्रै मतदान भएको थियो।
अहिलेको मतगणनामा एनडीएको १२४ सिटको अग्रतामा बीजेपीले ७२ र जेडीयूले ४७ सिटमा अग्रता बनाएको छ। त्यस्तै महागठबन्धनमा आरजेडीले ६७ र कंग्रेसले २० सिटमा अग्रता बनाएको छ। अन्यले १२ स्थानमा अग्रता कायम गरेका छन्।
निर्वाचनमा चिराग पासवानको लोक जनशक्ति पार्टीले असर गरिरहेको विश्लेषण भइरहेको छ। उनको पार्टीले धेरै स्थानमा निर्वाचन जित्ने भन्दा पनि मत विभाजनमा सहयोग पुर्याइरहेको आंकडा सार्वजनिक भइरहेको छ। उनले जनता दल यूनाइटेड र भाजपाबीचको सहकार्यमा खेलेको देखिन्छ। जहाँ जहाँ जेडीयूले उम्मेद्वार उठाएको छ त्यहाँ उठेका लोक जनशक्ति पार्टीका उम्मेद्वारहरूले मत काटिरहेका छन् भने भाजपाका उम्मेद्वार उठेका स्थानामा उक्त पार्टीबाट उम्मेदवार प्राय: छैनन्। जसका कारण पछिल्लो मतपरिणाम अनुसार भाजपाले अधिकांश स्थानमा अग्रता बनाइरहेको छ।
निर्वाचनमा महागठबन्धनले मुख्यमन्त्री नितिशकुमार विरुद्ध चर्को प्रचारबाजी गरेको थियो। महागठबन्धनले १० लाख सरकारी रोजगारी सिर्जना गर्ने र लालु यादवको विकासको ढाँचालाई नयाँ तवरले अगाडि बढाउने वाचा निर्वाचनमा गरेको छ। यद्यपि नितिशकुमारले भने रक्षात्मक चुनाव प्रचार गरेपनि मतगणनामा भने राम्रै अग्रता बनाइरहेका छन्। नितिश कुमारले आफूले १५ वर्ष शासन गरिरहँदा पनि लालु यादवको समयमा भएको प्रशासनिक समस्याको विषयलाई प्रचार एजेन्डा बनाएका थिए।
सन् २०१५ को निर्वाचनमा एनडीएले १२५ सिट जितेको थियो भने महागठबन्धनले ११० सिट जितेको थियो। त्यस्तै लोक जनशक्ति पार्टीले २ सिटमा चुनाव जितेको थियो भने बाँकी ६ सिट अन्यले जितेका थिए।