सेना र प्रेसमाथिको हस्तक्षेप अमान्य : देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकारले गठन भएको एक वर्षमा एउटा पनि राम्रो काम गर्न नसकेको आरोप लगाएका छन् ।
“निर्मलाको बलात्कारीलाई बचाएको छ, हत्या हिंसा बढाएको छ, देउवाले भने, दुई तिहाइ बहुमतको सरकारले एक वर्षमा एउटा पनि राम्रो काम गर्न सकेन ।”
नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्षहरूको बिहीबार पोखरामा भएको भेलामा बोल्दै देउवाले सेनामाथि हस्तक्षेप भएको बताए ।
“सेनामाथि हस्तक्षेप हुँदैछ, सेना परिचालन गर्ने संयन्त्र हुनुपर्छ, परिषद् हुन्छ उनले भने, सेनामाथिको हस्तक्षेप र प्रेसमाथिको हस्तक्षेप कुनै पनि हालतमा मान्य हुनेछैन ।”
संवैधानिक परिषद्मा आफ्नो उपस्थितिबिना नै निर्णय गरेको भन्दै देउवाले विरोध जनाए । परिषद्ले न्यायाधीश सिफारिस गरेको घटनाप्रति इंगित गर्दै देउवाले भने, “म आउन सक्दिनँ अर्को दिन बैठक राखौं भन्दा त्यही दिन मिटिङ राखियो, म यसको विरोध गर्छु ।”
भेलामा बोल्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले संवैधानिक परिषद्मा प्रधानमन्त्री र विपक्षी दलको नेताको हैसियत बराबरी हुने दाबी गरे ।
“कि हामीले निर्विवाद मान्छे राख्यौं भन्न सक्नुप¥यो, कि समान रूपमा पावर शेयरिङ हुनुप¥यो, पौडेलले भने, यस्तै हुँदै गयो भने प्रजातन्त्रलाई ठूलो नोक्सान हुन सक्छ ।”
पौडेलले कम्युनिष्टहरूको नियत नै पक्षपात गर्ने भएको समेत आरोप लगाएका छन् ।
भेलामा बोल्दै अन्य नेता तथा कार्यकर्ताले भने पार्टीलाई सक्रिय गराउन र गुटबन्दी अन्त्य गराउन नचाहेको भन्दै नेताहरूको आलोचना गरेका थिए ।