मातृकाप्रसाद कोइरालाको ‘कोशीको कथा’ पुनः प्रकाशित
पब्लिकेसन्स नेपालयले आफ्नो क्लासिक्स् शृङ्खला अन्तर्गत सन् २०२० मा मातृकाप्रसाद कोइरालाको निबन्ध सँग्रह ‘कोशीको कथा’लाई नयाँ कलेबरमा प्रकाशित गरेको छ। प्रतिभा पुरस्कार प्रतिष्ठान, विराटनगरले २०४६ मा प्रथम पटक प्रकाशित गरेको यो पुस्तक लामो समयदेखि बजारमा उपलब्ध थिएन।
किताबका बारेमा दिवंगत लेखक मातृकाप्रसादका छोरा लेखक कमल कोइरालाले पुस्तक बजारमा आउने भएपछि खुशी व्यक्त गर्दै भने “केही दशकपछि यो किताब केही समयदेखि बजारमा उपलब्ध थिएन। पुस्तकले पाठकसामु आउने बाटो भेटेकोमा मलाई एकदम खुशी लागेको छ।”
उनको भनाअनुसार यो पुस्तकले कोइराला परिवारको व्यक्तिगत निर्वासनका बारेमा खुलासा गर्नेछ। “त्योभन्दा पनि महत्वपूर्ण यसले कोशी नदीको मानवशास्त्रीय पक्षलाई कोट्याउँदै नदी आसपासका वासिन्दाहरूको कथा भन्नेछ। कोशी उतिबेला बिहारको श्राप थियो तर अब वरदान भएको कुरा उनीहरू नै बताउँछन्।”
उनले थपे “कोशीमा धेरै पानी बगिसक्यो तर यी कथाहरू मानवीय दुःखको चित्रण र आशाको खोजीका निम्ति अझै कालजयी छन्।”
यस संग्रहका नौवटा निबन्धहरू कोशीको किनार आसपास घुम्छन् र यदाकदा भारतसम्म पुग्छन् जहाँ परिवारसहित राजनैतिक निर्वासनका बखत लेखकको बाल्यकालको महत्वपूर्ण समय गुज्रेको थियो। सात सालको क्रान्तिताका नेपाली कांग्रेसका ’सुप्रीम कमाण्डर’ तथा क्रान्तिपछिको गैर राणा सरकारको पहिलो प्रधानमन्त्री मातृकप्रसाद कोइराला सोभन्दा अगाडिदेखि नै साहित्यकारका रूपमा परिचित थिए।
नेपालयका अनुसार पुस्तक कोशी वा पौराणिक कौशिकी नदीवरिपरिका विषयवस्तु र जातिउपर लेखिएका निबन्ध तथा प्रबन्धहरूको सँगालो हो। कतै अन्वेषणात्मक त कतै निजात्मक शैलीमा लेखिएका यी कथ्यहरूले पुराण, विज्ञान, सामाजिक न्याय, राजनीतिदेखि २०११ सालको कोशी सन्धी प्रकरणसम्मको विषयलाई समेटिएका छन्।
कोशी सन्धी कोइरालाको राजनीतिक जीवनको सबैभन्दा विवादस्पद पाटो रह्यो। प्रवासमा होस् या स्वदेशमा, सधैं कोशी सन्निकट रहेका कोइरालाले यसको महत्ता र विभिषिका दुवै देखे।
मातृकाप्रसाद कोइरालाद्वारा लिखित ‘कोशीको कथा’, समाजशास्त्रीय तथा राजनीतिक हिसाबले पठनीय छदै छ भाषा र वाङ्मयका दृष्टिकोणले पनि ओजपूर्ण रहेको मानिन्छ।
नेपालय क्लासिक्स् अन्तर्गत नेपालय पब्लिकेसन्सले प्रसिद्ध नेपाली लेखकहरूको अप्रकाशित वा आउट-अफ प्रिन्ट साहित्यिक कृतिहरू प्रकाशित गर्दै आएको छ। यही शृङखला अन्तर्गत हालसम्म, नेपालयले ब्रह्म शमशेरको ‘नेपालको महाभूकम्प’, लेखनाथ पौड्यालको ‘कवि शिरोमणि रचनावली’ र मंजुलको ‘सम्झनाका पाइलाहरू’ प्रकाशित गरिसकेको छ।
‘कोशीको कथा’ नेपाली बजारका निम्ति रू. २९५ मा उपलब्ध छ। यो पुस्तक नेपालका प्रमुख पसलहरूमा उपलब्ध हुनेछ पुस्तकलाई ई-बुकका रूपमा थुप्रै डटकम बाट किन्न सकिनेछ। साथै अमेजनमार्फत् विश्वभर उपलब्ध छ।