कहिलेसम्म अखाद्य वस्तु सेवन गर्ने ?
चाडबाड र अरु समयमा पनि मिसावटयुक्त खाद्य सामग्री सेवन गर्न उपभोक्ताहरु अभिशप्त छन्। किराना पसल मात्र होइन भाटभटेनी र सेन्ट्रल बजार जस्ता व्यापारिक प्रतिष्ठानले समेत उपभोक्ताको स्वास्थ्यको ख्याल गरेको देखिंदैन।
केही महीनाअघि विराटनगरस्थित भाटभटेनी सुपरमार्केटबाट ल्याएको कोदोको पीठोमा ढुङ्गाको किरकिर भेटेँ। अर्कोदिन सुपरमार्केटका एक कर्मचारीलाई आफूले किनेको पीठो प्याकेटसहित देखाएँ। उनले म्यानेजर खोज्न भनेर अर्का कर्मचारीलाई पठाइन्। धेरैबेर कुर्दा पनि ती कर्मचारी नफर्केपछि काउन्टरमा छाडेर आएँ। अर्कोपटक जाँदा पुराना कर्मचारी भेटिनँ, कुरा त्यतिकै सेलायो।
गएको महीना भाटभटेनीबाटै ल्याएको फापरको पीठो खस्रो जस्तो लागेर चालेँ। बोक्रासहित दुई मुठ्ठी फोहोर निस्कियो। यसरी चालेर राखेको पीठोमा पनि ढुङ्गाको किरकिर भेटेपछि यसपटक गुनासो गर्न गइनँ।
भाटभटेनीमा मात्र हैन अन्यत्र बजारमा किनेको कोदोको पीठोमा समेत ढुङ्गाको किरकिर भेटेँ। अनि कोदोको पीठो किन्नै छाडेँ। बरु कोदो नै ल्याएर धोइपखाली आफैं पीठो बनाउन थालेँ। सहजै मिसावट नदेखिने पीठोजन्य खाद्य सामग्रीमा मिसाइएका स–साना ढुङ्गा परिकार बनाएर खाँदा मात्रै थाहा हुन्छ।
बहुसंख्यक उपभोक्तालाई थाहा पनि छैन कहाँ गएर गुनासो गर्दा व्यापारीलाई कारबाही हुन्छ। पछिल्लोसमय कतिपय यस्ता खाद्य सामग्री स्थानीय व्यवसायीहरुले समेत उत्पादन गर्छन्। उनीहरुलाई मौखिक गुनासो गर्दा ‘ए हो! अर्कोपटक तपाईले राम्रो पाउनुहुनेछ’ भनेर आश्वासन दिन्छन्। त्यसकारण पनि उपभोक्ताले कहीं कतै उजुरी वा गुनासो गर्दैनन्।
कतिपय उपभोक्ता भने मजस्तै बरु ती खाद्यसामग्री नै उपभोग गर्न छाड्छन्। कोही आफैं तयार गर्छन्। पीठोजन्य खाद्यसामग्रीमा मात्रै हैन दैनिक उपभोग गर्ने मसलाजन्य वस्तुमा समेत प्रशस्तै मिसावट भेटिन्छ। कोदो, फापर, मकैलगायत मसलाजन्य खाद्यवस्तुमा प्रत्यक्ष देखिने फोहोर र अखाद्य वस्तु उपभोक्ताका लागि सामान्य बन्ने गरेको छ। धूलो मसलामा नदेखिने अखाद्य वस्तुबारे त उपभोक्ता आफैं अनभिज्ञ छन्।
मिलहरुले पनि धूलो मसला बिक्री गर्छन्। कुटानी पिसानी गर्ने ठाउँमा उपभोक्ताले घरबाट लगेको मसलाजन्य खाद्यवस्तु पनि शतप्रतिशत शुद्ध नहुन सक्छ। किनभने कतिपय मिल सञ्चालक आफैंले वा कुनै व्यवसायीले पिस्न दिएको मिसावटयुक्त बेसार, खुर्सानीलगायत मसलाको अंश त्यहाँ कायम हुन्छ। अनि घरबाट धोइपखाली गरी लगेको मसलामा मिसावटयुक्त मसला, बेसार र खुर्सानीको अंश मिसिइहाल्छ। ती मिलवाला वा अन्य व्यवसायीले पिस्ने गरेको मिसावटयुक्त मसला, बेसार र खुर्सानी देखेपछि मैैले धूलो मसला आफैंले तयार गर्न थालेँ।
मिसावटयुक्त मसला खान नपरोस् भनेर कतिपय स्थानीय महिलाले सामूहिक रुपमा धूलो मसला, बेसारलगायत खुर्सानीको व्यवसाय थालेका छन्। तीमध्ये ‘हाम्रो मसला’ अग्रपंक्तिमा पर्छ। म पनि आफूले बनाउन नभ्याउँदा त्यहाँको उत्पादन ल्याउँछु।
अधिकांश शहरवासी उपभोक्ता स्वयं पनि खाद्यवस्तुप्रति त्यति सचेत छैनन्। त्यसकारण पनि गलत कामका लागि व्यवसायीहरुको मनोबल बढेको छ। विराटनगर महानगरपालिकासँग मिसावट युक्त खाद्यसामग्री परीक्षण गर्ने प्रयोगशाला भए पनि बहुसंख्यक नगरवासी अनभिज्ञ छन्।
विशेषगरी बजार क्षेत्रमा भएका कतिपय कुटानीपिसानी मिल साँघुरो ठाउँमा छन्। भुइँमा केही नओछ्याई पिसेर बेसारको धूलो थुपारेको हुन्छ। डाँठसहितको खुर्सानी पिसिन्छ। बोराको सुत्लीसमेत पिस्ने गर्छन्।
खाद्यवस्तुप्रति उनीहरुको हेल्चेक्र्याइँ देखेर खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा नमूनासमेत लगेर गएँ। आफ्नै खर्चमा नमूना जँचाएर यसबारेको सामग्री तयार गरेँ। तर, अफसोस उक्त लेख लामो समयसम्म पनि कतै प्रकाशन नभएपछि उत्साह सेलायो। यसरी सञ्चारमाध्यमहरुको प्राथमिकतामा पनि यी र यस्ता विषयहरु हत्तपत्त पर्दैनन्।
अधिकांश शहरवासी उपभोक्ता स्वयं पनि खाद्यवस्तुप्रति त्यति सचेत छैनन्। त्यसकारण पनि गलत कामका लागि व्यवसायीहरुको मनोबल बढेको छ। विराटनगर महानगरपालिकासँग मिसावट युक्त खाद्यसामग्री परीक्षण गर्ने प्रयोगशाला भए पनि बहुसंख्यक नगरवासी अनभिज्ञ छन्।
सरकारी निकायले त्यस्ता उत्पादन कतिको स्वस्थकर छ भनेर वेलावेला अनुगमन गरेको समाचार आउने गरेको छ। पछिल्लो समय विराटनगर महानगरले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, वाणिज्य कार्यालय, जिल्ला प्रशासन कार्यालय, उपभोक्ता समिति तथा एकजना सञ्चारकर्मीको समूह बनाइ अनुगमन थालेको छ। अनुगमनको क्रममा यो वर्ष १० वटा फर्म कारबाहीमा पनि परेका छन्।
कुन सामग्रीमा के कस्तो मिसावट भेटियो भनेर जाँच्न समय लाग्छ। अझ प्रमाणित भए मुद्दा मामिल गर्नु पर्दा लामो समय लाग्ने हुँदा पनि छिटो छरितो काम गर्न नसकेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख राजकुमार रिजाल बताउँछन्। यसो हुँदा पनि आफूले दैनिक उपभोग गर्ने खाद्यवस्तु कति शुद्ध छ भन्नेबारे बहुसंख्यक उपभोक्ता ‘कुहिरोको काग’ बन्न बाध्य छन्।
नेपालको संविधानको धारा ३६ ले सबै नागरिकको शुद्ध खान पाउने अधिकार र खाद्य संप्रभुताको प्रत्याभूति दिलाएको छ। धारा ४४ को उपधारा (१) मा भनिएको छ, “प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु र सेवा प्राप्त गर्ने हक हुनेछ।” सोही धाराको उपधारा (२) मा लेखिएको छ, “गुणस्तरहीन वस्तु र सेवाबाट उपभोक्तालाई क्षति पुगेमा कानून बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ।” संविधान र कानूनमा जेजस्तो व्यवस्था भए पनि तीबारे न त उपभोक्ता सचेत छन्, न व्यवसायीहरुले नै पालना गर्छन्।
संविधानमा खाद्य सम्बन्धी उल्लिखित धारा तथा उपधाराबारे हाम्रा जनप्रतिनिधिसमेत अनभिज्ञ छन्। हरेक वर्ष १६ अक्टोबरमा मनाइँदै आएको विश्व खाद्य दिवस यसपालि कोरोना कहरका कारण कहिले आयो भन्ने उपभोक्ताहरुले पत्तै पाइएनन्। यस वर्षको विश्व खाद्य दिवसको नारा ‘सबै मिलेर उत्पादन,बढाऔं र दिगो बनाऔं’ भन्ने थियो। यो नारालाई सार्थकता प्रदान गर्न सम्बन्धित निकायले सचेतना जगाउन रणनीतिक योजना बनाइ कार्यान्वयन गर्न जरुरी छ।
यसका लागि सर्वप्रथम तीनै तहका जनप्रतिनिधिलाई प्रशिक्षित गर्नुपर्छ। प्रदेश र स्थानीय तहले मिसावटयुक्त खाद्यवस्तु बिक्रीवितरण गर्दै आएका व्यापारिक प्रतिष्ठान र किराना पसलेलाई दण्डसजाय मात्र दिएर पुग्दैन। मिसावटयुक्त अखाद्य वस्तुको सेवनले उपभोक्ताको स्वास्थ्यमा पार्ने नकारात्मक प्रभावबारे अभिमुखीकरण गर्नुपर्छ। यस्तै यस वर्ष विश्व खाद्य दिवसको नाराले दिएको सन्देश सार्थक बनाउन तीनै तहका सरकारले रणनीतिक योजना तर्जुमा गरी कार्यान्वयन गर्न जरुरी छ।