दाहाललाई भेटेर फर्किए शंकर पोखरेल
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले कार्यकारी अधिकार प्रयोग गर्दै सचिवालय बैठक बोलाउने तयारी गरेपछि त्यसलाई रोक्न प्रधानमन्त्री केपी शर्मा ओली पक्षधरहरुले दौडधुप शुरु गरेका छन्।
सोमबार महासचिव विष्णु पौडेल ओलीको सन्देश लिएर दाहालको खुमलटारस्थित निवास पुगेका थिए। उनले सहमति गरेर अघि बढ्न भनेका थिए। त्यसको भोलिपल्ट लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा स्थायी कमिटी सदस्य शंकर पोखरेल पनि दाहाललाई भेट्न खुमलटार पुगेका छन्। पोखरेल दाहाललाई भेटेर फर्किसकेका छन्।
पोखरेल र दाहालबीच मंगलबार बिहान भेटवार्ता भएको पुष्टि गर्दै दाहालको सचिवालयले उनीहरूबीच के कुराकानी भयो भन्ने चाहिँ बाहिर नआएको बताएको छ।
पोखरेलले २६ भदौको स्थायी कमिटीको निर्णयानुसार पार्टीभित्र देखिएको विवाद समाधान गर्नुपर्ने बताउँदै आएका छ। ओली-दाहालबीच विवाद चर्किँदा पोखरेलले दुवैलाई मिलाउने भूमिका खेल्दै आएका छन्। सोही अनुसार उनले दाहाललाई मंगलबार भेटेको हुनसक्ने बताइएको छ।
सोमबार महासचिव पौडेलले समेत ओलीका तर्फबाट ठोस प्रस्ताव नल्याएपछि दाहालले सचिवालय बैठकको तयारी गरेको बुझिएको छ। यद्यपि, अहिलेसम्म बैठक बस्ने, नबस्ने टुंगो भने लागेको छैन। बैठक मंगलबार बस्ने भनिएको थियो।
शनिबार अध्यक्ष दाहालसहित बहुमत सचिवालय सदस्यले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर लिखित रूपमै बैठकको माग गरेका थिए। उनीहरूले ४८ घण्टाभित्र बैठक बोलाउन वा बैठकका लागि सहमति दिन भनेका थिए। तर, ओलीले यी दुवै काम गरेका छैनन्।
विवाद समाधानका लागि सोमबार नेकपाको विघटित कार्यदलका सदस्यहरूले समेत प्रधानमन्त्री ओलीसँग भेट गर्न खोजे पनि भेट नगरेर फर्किएका थिए। बालुवाटार पुगेका उनीहरूलाई ओलीलाई नभेटेर फर्किएका थिए।
पार्टीभित्रको विवाद मिलाउन ३० साउनमा महासचिव पौडेलको नेतृत्वमा भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, शंकर पोखरेल र पम्फा भुसाल रहेको कार्यदल बनेको थियो। अहिले पनि यो कार्यदलका सदस्यहरू पार्टीभित्रको विवाद समाधानका लागि सक्रिय बन्न थालेका छन्।