आईपीएलको फाइनल आज, दिल्लीसँग हेड टु हेडमा मुम्बई अगाडि
कोरोनाभाइरस महामारीका कारण भारतबाट युएई सारिएको १३औँ इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनल आज हुँदैछ। फाइनलमा मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्स प्रतिश्पर्धा गर्दैछन्।
१३ पटकको प्रयासमा दिल्ली पहिलोपटक फाइनलमा पुगेको हो। मुम्बई भने चारपटकको च्याम्पियन हो। त्यति मात्र नभइ मुम्बई डिफेन्डिङ च्याम्पियन पनि हो। हेड टु हेडमा पनि दिल्लीभन्दा मुम्बई नै अगाडि छ।
आईपीएलमा अहिलेसम्म यी दुई टीम २७ पटक प्रतिश्पर्धा गरिसकेका छन्। जसमध्ये १५ पटक मुम्बईले जितेको छ भने १२ पटक दिल्ली विजयी भएको छ। यो सिजन शुरु हुनुअघि दुवै टीम हेड टु हेडमा बराबर थिए।
१२औँ सिजनसम्ममा दुवै टीमले १२/१२ पटक एक अर्कोलाई पराजित गरेका थिए। तर, यो सिजन भएका तीन वटै खेलमा मुम्बईले दिल्लीलाई पराजित गरेको छ। मुम्बईले लिग चरणका दुवै खेल र पहिलो क्वालिफायरमा दिल्लीलाई हराएको हो। पछिल्ला पाँच खेलमध्ये मुम्बईले चार र दिल्लीले एक खेल जितेका छन्।
पहिलो क्वालिफायरमा दिल्ली मुम्बईसँग ५७ रनले पराजित भएको थियो। तर, दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई १७ रनले पराजित गर्दै दिल्ली फाइनलमा पुगेको हो। हैदराबादले भने अन्तिम खेलमा मुम्बईलाई पराजित गरेर प्लेअफमा स्थान सुरक्षित गरेको थियो।
मुम्बईले सन् २०१३ यता हरेक बिजोडी सालमा आईपीएलको उपाधि जितेको छ। तर, लगातार फाइनलमा पुगेको भने यो नै पहिलो पटक हो। मुम्बई सबैभन्दा बढी पटक उपाधि जित्ने टीम हो। उता दिल्ली पनि पहिलो पटक फाइनल पुगेको हुनाले दुवै टीम इतिहास बनाउने दाउमा छन्।
यसपटक दिल्ली र मुम्बई दुवै टीमको बलिङ बलियो छ। दिल्लीका लागि दुई विदेशी खेलाडीले तीव्र गतिको बलिङ सम्हालेका छन्। कागिसो राबाडा र एनरिक नोत्र्जेले दिल्लीका लागि यो सिजन निकै राम्रो खेलका छन्। राबाडा १६ खेलमा २९ विकेट लिएर सबैभन्दा बढी विकेट लिनेको शीर्ष स्थानमा छन्। नोत्र्जेले पनि १५ खेलमा २० विकेट लिएका छन्।
तर, दिल्लीका लागि तेस्रो तीव्र गतिका बलरको प्रदर्शन राम्रो छैन। दिल्लीले यसअघि इशान्त शर्मा, मोहित खान र आवेश खानलाई मौका दिए पनि राम्रो प्रदर्शन भएन।
दिल्लीको स्पिन आक्रमण पनि राम्रो छ। रविचन्द्र आश्विन र अक्षर पटेलले स्पिन आक्रमण सम्हालेका छन्। दिल्लीमा नेपाली स्पिनर सन्दीप लामिछाने पनि आबद्ध छन्। तर, उनले यो सिजन मौका पाएका छैनन्।
दिल्लीको ब्याटिङमा शिखर धवन खम्बा बनेका छन्। उनले १६ खेलमा ६०३ रन बनाइसकेका छन्। यो सिजन उनले दुई शतक र चार अर्धशतक बनाएका छन्। उनी सबैभन्दा बढी रन बनाउने खेलाडीको दोस्रो स्थानमा छन्।
यता मुम्बईका तीब्र गतिका बलर जसप्रित बुमराह १४ खेलमै २७ विकेट लिएर बढी विकेट लिने खेलाडीको दोस्रो स्थानमा छन्। ट्रेन्ड बोल्डले पनि १४ खेलमा २२ विकेट लिइसकेका छन्। अर्का बलर मोहम्मद सामीको विकेट संख्या २० छ।
ब्याटिङतर्फ इशान किशान, क्विन्टन डि कोक र सूर्यकुमार यादवले गतिलो प्रदर्शन गरिरहेका छन्। मुम्बईसँग हार्दिक पाण्ड्या, किरोन पोलार्ड र क्रुनाल पाण्ड्या जस्ता अलराउन्डर छन्। उता दिल्लीका अलराउण्डर मार्कस स्टोइनिसले राम्रो प्रदर्शन गरिरहेका छन्।