बिहार विधानसभा चुनावः आज मतगणना, नीतीश र तेजश्वी नेतृत्व गठबन्धन प्रतिश्पर्धामा
कोरोनाभाइरस महामारीबीच तीन चरणमा भएको भारतको बिहार राज्य विधानसभा चुनावको मतगणना आज हुँदैछ। यो चुनावमा नीतीशकुमार नेतृत्वको नेशनल डेमोक्र्याटिक एलाइन्स र तेजश्वी यादव नेतृत्वको महागठबन्धनबीच प्रतिश्पर्धा छ।
एनडीएमा नीतीशकुमारको जनता दल युनाइटेड (जेडीयू), भारतीय जनता पार्टी (बीजेपी) लगायत साना दल छन्। विधानसभाका २४३ सिटमध्ये जेडीयूले १२२ र बीजेपीले १२१ सिट बाडफाँड गरेका छन्। जसमध्ये आफ्नो भागबाट केही सिट उनीहरुले साना दललाई दिएका छन्।
एनडीएले नीतीशकुमारलाई मुख्यमन्त्रीको उम्मेद्वार बनाएको छ। नीतीशकुमारले १५ वर्षदेखि बिहारको सत्ता सम्हालिरहेका छन्। उनले २०१५ को निर्वाचनमा आरजेडी र कांग्रेससँग गठबन्धन गरेका थिए। तर, २०१७ मा उक्त गठबन्धन तोडेर बीजेपीसँग मिलेर सरकार गठन गरेका थिए।
केन्द्र सरकारमा सहभागी लोकजनशक्ति पार्टी भने एक्लै प्रतिश्पर्धामा छ। चुनावको केही साताअघि मात्र उक्त पार्टी प्रमुख रामविलास पासवानको निधन भएपछि बागडोर उनकै छोरा चिराग पासवानले सम्हालेका छन्।
उता महागठबन्धनमा राष्ट्रिय जनता दल (आरजेडी), कांग्रेस र बामपन्थी दलहरु समावेश छन्। यो चुनावमा आरजेडी नेता लालुप्रसाद यादव मैदानमा छैनन्। उनी भ्रष्टाचार काण्डमा जेलमा छन्।
महागठबन्धनले लालुप्रसाद यादवका छोरा ३२ वर्षीय तेजश्वी यादवलाई मुख्यमन्त्रीको उम्मेद्वार बनाएको छ। विधानसभामा आरजेडी १४४ सिटमा, कांग्रेसले ७० र बाम पार्टीहरु २९ सिटमा चुनाव लड्दैछन्। आरजेडी र कांग्रेले आफ्नो भागबाट केही सिट साना दललाई दिएका छन्।
बाम पार्टीमध्ये भाकपा (माक्र्सवादी लेनिनवादी) सबैभन्दा बढी १० सिटमा चुनाव लड्दैछ। बिहारका चर्चित युवा नेता कन्हैया कुमार संलग्न भाकपा ६ र भाकपा (माक्र्सवादी) चार सिटमा प्रतिश्पर्धा गर्दै छन्।