हत्या गरेर फरार भएको १६ वर्षपछि पक्राउ
काठमाडौँको रानीबारीमा डेरा गरी बस्ने १८ वर्षीय जीवन लोहनीको १६ वर्षअघि हत्या गरेर फरार भएका झापा मेचीनगर नगरपालिका–७ का ३३ वर्षीय हरि गिरी भनेर चिनिने रामकुमार गिरीलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ।
उनले ११ माघ २०६१ राति ८ बजे सामाखुसीमा लाहनीको हत्या गरी फरार भएका थिए। उनलाई महानगरीय अपराध महाशाखाको टोलीले चाँगुनारायण नगरपालिका–७ बाट सोमबार पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।
प्रहरीका अनुसार लोहनीले गिरीका साथी प्रकाश लामाको कानको मुन्द्रा मागेका थिए। तर, नदिएपछि लामालाई कुटपिट गरेका थिए। त्यही विवादमा गिरीले लोहनीको हत्या गरेको खुलेको प्रहरीको भनाइ छ।
जिल्ला अदालत काठमाडौँले ११ असार २०६४ मा गिरीलाई कैद सजाय तोके पनि फरार थिए। गिरी केही समय विदेश बसेर फर्किएपछि उनले आफ्नो नाम सरोज गिरी बताउँदै आएका थिए।