चौतर्फी दबाबपछि सामुदायिक विद्यालयलाई शुल्क नउठाउन गौर नगरपालिकाको निर्देशन
देशको चौथो जेठो विद्यालयको रुपमा रहेको रौतहट सदरमुकाम गौरको जुद्ध माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थीसँग चर्को शुल्क उठाइएको भन्दै चौतर्फी विरोध भएको छ। अभिभावक, विद्यार्थी संगठन तथा बौद्धिक समुदायले विरोध गरेपछि गौर नगरपालिकाले कुनै पनि शीर्षकमा कुनै पनि बहाना बनाई शुल्क असुल गर्न सख्त निषेध गरिएको निर्देशन सबै सामुदायिक विद्यालयलाई जारी गरेको छ।
विद्यार्थीसित शुल्क उठाएमा सम्बन्धित विद्यालयलाई कडा कारबाही गरिने नगर प्रमुख अजयकुमार गुप्ताले बताएका छन्।
जुद्ध माविले गत २०६७ सालदेखि जुद्ध माध्यमिक विद्यालय गौरले अंग्रेजी माध्यमको कक्षा संचालन गरेको हो। माध्यमिक तहमा अंग्रेजी कक्षा संचालन गर्दा अपुग भएको शिक्षकको लागि सामान्य शुल्क निर्धारण गरिएकोमा पछिल्ला केही वर्षदेखि विद्यालयले मासिक शुल्क चर्को बनाउँदै लगेको थियो। यसै गरी टाई र बेल्टको साथै अन्य विभिन्न शीर्षकमा थप शुल्क उठाउँदै आएको थियो।
माध्यमिक तहसम्मको शिक्षा निशुल्क रहेको भए पनि जुद्ध माविले अंग्रेजी माध्यमको बहाना बनाई चर्को शुल्क उठाएकोमा अभिभावहरुको व्यापक असन्तुष्टि रहेकोले विद्यार्थी संगठनहरुले विरोध गर्दै रौतहटका प्रमुख जिल्ला अधिकारीलाई गत हप्ता ज्ञापनपत्र बुझाएको अनेरास्ववियुका केन्द्रीय सदस्य रवि मिश्रले जानकारी गराएका छन्।
नेकपाका प्रदेश सदस्य तथा गौरका युवा नेता शम्भु साहले पनि ध्यानाकर्षणपत्र मार्फत जुद्ध माविले अभिभावकको चर्को शोषण गरेको र विद्यालयमा व्यापक भ्रष्टाचारको भएको आरोप लगाउँदै छानबिन हुनुपर्ने माग गरेका छन्।
रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रकुमार यादवले जुद्ध मावि गौरको अंग्रेजी माध्यमको विद्यार्थीको लागि शुल्कसम्बन्धी गुनासो आएको बताउँदै समाधानको लागि पहल भइरहेको बताएका छन्।
गौर नगरपालिकाका शिक्षा संयोजक गणेशबहादुर गिरीले नगरपालिकाले आधिकारिक निर्देशन जारी गरेर अब आइन्दा कुनै विद्यालयले कुनै पनि बहानामा शुल्क उठाएको पाइएमा कडा कारबाही गर्ने बताइसकेको जानकारी गराएका छन्।
रौतहटको सुबलाल भागवत मावि सन्तपुर र मावि गरुडामा अंग्रेजी माध्यममा माध्यमिक तहको कक्षा ९ र १० सञ्चालनमा रहेका छन्। अंग्रेजी माध्यमबाट पठनपाठनको व्यवस्था भएको सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण देखिएको छ।