अनलाइन कक्षाको शुल्कका विषयमा विवाद बढेपछि केयूका विद्यार्थीले शुरू गरे अनसन
काठमाडौं विश्वविद्यालयमा विद्यार्थी र प्रशासनबीच भईरहेको शुल्कको विवाद बढ्दै गएपछि आइतबारदेखि ४ बुँदे मागसहित विद्यार्थीहरु रिले अनसनमा बसेका छन्।
गएको आठ महीनादेखि अनलाइन पठनपाठन भईरहेपनि विश्वविद्यालय संचालन भए जसरी शुल्क तिर्न ताकेता गरेपछि अनशन बस्न बाध्य भएको कुल अफ इन्जिनियरिङका विद्यार्थी शैलेश मिश्रले बताए।
रिले अनशनमा सहभागी मिश्रले अनलाइन कक्षा भए बापत शिक्षण शुल्क तिर्ने तर, विश्वविद्यालय संचालन नहुँदा प्रयोग नभएका इन्टरनेट, खेलकुद, पाठ्यसामाग्री, लाईब्रेरी लगायतको शुल्क नतिर्ने बताए।
“विश्वविद्यालय नै बन्द रहेको अवस्थामा यी सेवा सुविधाको उपयोग हुने कुरा भएन। अनि किन हामीले विश्वविद्यालयलाई बढी शुल्क बुझाउने?”, उनले भने।
केन्द्रीय कार्यलय धुलिखेलमा रिले अनसन गर्दै विद्यार्थीहरुले २२ असोजमा निकालिएको सूचना खारेज गर्दै अर्को सूचना जारी नभएसम्म भुक्तानी गर्न भनि सुचना निकाल्नुपर्ने, विद्यार्थीबाट शिक्षण शुल्क मात्रै लिनुपर्ने, कोभिड वित्तिय सहायता योजना समस्यामा परेका विद्यार्थीको लागि निकाल्नु पर्ने र ढिलो शुल्क बुझाउँदा लाग्ने जरिवाना कोभिडको अवधिसम्म हटाउनुपर्ने माग राखेका छन्।
विश्वविद्यालयको मागको उचित सम्बोधन नगरेसम्म अनशन जारी राख्ने र तोकिएको समयमा विश्वविद्यालय प्रशासनले आधिकारिक धारणा नदिए माथिल्लो निकायमा दबाबमुलक आन्दोलनमा उत्रने र यसबाट आउने जटिल स्थितिको जिम्मेवार विश्वविद्यालय प्रशासन नै हुनुपर्ने आन्दोलनरत विद्यार्थीहरुले चेतावनी दिइरहेका छन्।
उक्त रिले अनशनमा विश्वविद्यालयका विद्यार्थी संगठनहरुले समेत ऐक्यबद्धता जनाएको मिश्रले बताए। अहिलेसम्म विश्वविद्यालय प्रशासनका तर्फबाट यसबारे आधिकारिक धारणा नआएको उनले बताए।