‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ लेख्ने भए संविधान संशोधन गर्नुपर्छ : परराष्ट्रमन्त्री ज्ञवाली
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले देशको नाम ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ लेख्ने भए संविधान संशोधन गर्नुपर्ने बताएका छन्। संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा उपस्थित भएका मन्त्री ज्ञवालीले देशको नाममा विशेषण जोड्नुपर्ने भए संविधान संशोधन गर्नुपर्ने बताएका हुन्।
मुलुकको शासन प्रणालीलाई देशको नाममा जोड्ने हो भने संविधान संशोधन गर्न छलफल गर्न सकिने उनको भनाइ छ। तर, अहिलेको संविधानमा नेपालको नाम ‘नेपाल’ मात्र भनिएको हुनाले प्रशासनिक हिसाबले पत्राचार गर्ने काममा ‘नेपाल भनेर लेख्ने निर्णय सरकारले गरेको मन्त्री ज्ञवालीले बताए।
“मुलुकको शासन प्रणालीलाई नाममा रिफ्लेक्ट गर्न हुन्छ कि हुँदैन? हुँदै हुँदैन भन्ने पनि होइन। गर्नपनि सकिन्छ। कतिपय मुलुकले गरेका छन्। त्यसो गर्ने हो भने हामी संविधानमै जानुपर्ने हुन्छ”, मन्त्री ज्ञवालीले भने, “संविधान संशोधन गरेर नेपालको नाम नै संघीय लोकतान्त्रिक गणतन्त्र राखौं भन्दा छलफल गर्न नसकिने होइन। तर, अहिले त हामीले संविधानमा जे व्यवस्था छ सोही अनुसार पत्राचार गर्ने भनेर निर्णय गरेका हौं।”
संविधान निर्माण गर्दा नै देशको नाम ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ राख्ने भन्ने सोच भएको भए संविधानमा नै उल्लेख भइसकेको हुने उनको भनाइ छ। “आज हाम्रो छलफल मुलुकमा कस्तो शासन प्रणाली ल्याउने, मुलुकले स्थापित गरेको शासन प्रणालीलाई बदल्ने कि कायम राख्ने भन्ने कुरासँग हुँदै होइन”, मन्त्री ज्ञवालीले थपे, “यसलाई जबरजस्ती जोड्ने गल्ती नगरौं। त्यो गर्न जरुरी छैन।”
प्रशासनिक हिसाबले गर्न खोजिएको विषयलाई राजनीतिक प्रणालीसँग नजोड्न पनि मन्त्री ज्ञवालीले आग्रह गरे। “सरकारै मन पर्दैन, व्यक्ति मन पर्दैन, प्रधनमन्त्री मन पर्दैन, मन्त्री मन पर्दैनन् भने त त्यसलाई जता जोडेपनि भयो। होइन भने यो विशुद्ध एउटा प्रशासनिक हिसाबले गर्न खोजिएको विषयलाई राजनीतिक प्रणालीसँग, अहिलेको हाम्रो छलफलसँग जोडनुपर्ने केहीपनि कारण छैन”, मन्त्री ज्ञवालीले भने।
संविधानको धारा ५६ मा नेपालको राज्य संरचना कस्तो हुन्छ स्पष्टसँग लेखिएकाले सरकारको यो निर्णयले त्यसलाई परिवर्तन गर्न खोजिएको नहुने मन्त्री ज्ञवालीले दाबी गरे।