भारत लैजान लागेका चार बालकको उद्धार
दलालमार्फत भारत लगिँदै गरेका चार बालकको आज उद्धार गरिएको छ । नेपाल–भारत सिमानाका रुपैडिया हुँदै भारत हिमाञ्चल प्रदेशको सिमला लैजान लागिएका बालकको जमुनाहाबाट उद्धार गरिएको हो ।
उद्धार गरिएकामा जाजरकोट जुनीचाँदे गाउँपालिका–५ गर्खाकोटका जयलाल बस्नेत, यज्ञ बस्नेत, कृष्ण बस्नेत र राम परियार छन् । उनीहरू अन्दाजी १३ देखि १५ वर्ष उमेरका छन् ।
महिला तथा बालबालिका बेचबिखनविरुद्ध काम गर्दै आएको ‘ज्ञान नेपाल’ले शंकास्पदरूपमा जान थालेको जानकारी पाएपछि उनीहरूलाई रोकेको हो । दलालले सिमलामा राम्रो काममा लगाइदिने भन्दै आफूहरूलाई लैजान लागेको उनीहरूले बताएका छन् ।
उद्धारपछि चारै बालकलाई ‘सिविन नेपाल’ नेपालगञ्जको जिम्मा लगाइएको ज्ञान नेपालका सहजकर्ता सपना विष्टले जानकारी दिइन् । दलाल भने पहिले नै सिमानाका पार गरिसकेका थिए ।