मुम्बई अदालतद्वारा अर्नव गोस्वामीलाई जमानतमा छाड्न अस्वीकार
मुम्बई उच्च अदालतले आत्महत्या दुरुत्साहन मुद्दामा थुनामा रहेका टीभी एन्कर अर्नव गोस्वामीलाई जमानतमा छाड्न अस्वीकार गरेको छ।
सन् २०१८ मा भएको आत्महत्यासम्बन्धी घटनामा दुरुत्साहनको आरोप लागेका उनलाई ४ नोभेम्वरमा अलिबाग सेसन अदालतले १४ दिन न्यायिक हिरासतमा राख्न आदेश दिएको थियो।
त्यसविरुद्ध गोस्वामी वन्दी प्रत्यक्षीकरणको निवेदन लिएर मुम्बई उच्च अदालत पुगेका थिए। मुम्बई उच्च अदालतले अर्नवसँग नियमित सुनुवाईको अवसर बाँकी रहेको अवस्थामा अदालतले आफ्नो विशेषअधिकार अन्तरगत रिट जारी नगर्ने उल्लेख गरेको छ।
सत्तारुढ भारतीय जनता पार्टीका प्रखर समर्थक रहेका रिपब्लिकन टीभीका प्रधानसम्पादक अर्नवमाथि महाराष्ट्र प्रहरीले पूर्वाग्रह राखेको आरोप पनि लाग्ने गरेको छ। उनकै टीभीमा इन्टिरियर डिजाइन गर्ने अन्वय नाइकलाई त्यसवापतको रकम नदिएका कारण नाइक र उनकी आमाले आत्महत्या गरेको आरोप अर्नवमाथि छ।