नेपालीको जिब्रोमा चाउचाउ : यसरी बदलियो खाजा–संस्कृति
केही दशकअघिसम्म नेपालीका लागि अनजान चाउचाउले अहिले खाजाको संस्कृति नै फेरेको छ। नेपाली समाजमा यसले कसरी लोकप्रियता कमायो ?
३८ वर्षअघि पोखराबाट दक्षिण एशियाकै पहिलो तयारी चाउचाउ उत्पादन शुरु भएको थियो, रारा ब्राण्डमा। दालभात, मकै–भटमास, चिउरा, रोटी–तरकारी जस्ता परम्परागत स्वादका पारखी नेपालीको भान्छामा त्यसपछि मात्रै हो, चाउचाउले खाजाका रुपमा प्रवेश पाएको। बिस्तारै नेपाली जिब्रोमा यो नयाँ परिकारको स्वाद यसरी गढ्यो, यसले खाजाको संस्कृति नै बदलिदियो। अहिले दैनिक करीब ४५ लाख प्याकेट चाउचाउ नेपालीले उपभोग गर्छन्।
आश्चर्यलाग्दो कुरा के छ भने, संसारभरि नै प्रतिव्यक्ति तयारी चाउचाउ खपतका हिसाबले नेपाल दोस्रो स्थानमा छ, चाउचाउ नै मुख्य खाना भएका देशहरुभन्दा पनि धेरै। सबैभन्दा धेरै दक्षिण कोरियाका नागरिकले प्रतिव्यक्ति वार्षिक ७५.१ वटा तयारी चाउचाउ खान्छन्। दोस्रोमा, नेपालीले ५७.६ वटा तयारी चाउचाउ खान्छन्। भियतनाम, जापान, चीन, इन्डोनेसिया, थाइल्याण्ड, भारत जस्ता देशको प्रतिव्यक्ति तयारी चाउचाउ खपत नेपालको भन्दा थोरै छ।
विश्व तयारी चाउचाउ संगठनका अनुसार, सन् २०१९ मा संसारभरि १ खर्ब ६ अर्ब प्याकेट तयारी चाउचाउ बिक्री भयो। यसमध्ये, १ अर्ब ६४ करोड प्याकेट चाउचाउको खपतसँगै विश्वमै बढी चाउचाउ बिक्री भएको देशको सूचीमा नेपाल १३औं स्थानमा छ।
दोस्रो विश्वयुद्धमा जापान निरीह सावित भएको एक दशकपछि सन् १९५८ मा जापानी व्यवसायी मोमोफुकु एण्डोले तयारी चाउचाउको आविष्कार गरेका थिए। उनको कम्पनी निसिनले त्यसै वर्षदेखि ‘चिकेन रामेन’ नाममा चाउचाउ बजारमा पठाउन शुरु गरेको थियो, जसलाई तातोपानीमा डुबाएको दुई मिनेटमै खान सकिन्थ्यो।
नयाँ मिडियाको रुपमा आएको टेलिभिजनले तयारी चाउचाउको लोकप्रियता घरघरमा पुर्याउन सघाएको थियो। यो त्यही बेला थियो, केएफसी, म्याकडोनाल्ड जस्ता चेन रेस्टुरेन्टका फास्टफुडले अमेरिकी बजारमा आफ्नो उपस्थिति बलियो बनाउँदै थिए। एशियाली बजारमा भने तयारी चाउचाउले पारखीको जिब्रोलाई मोहनी लगायो।
सन् २००० मा जापानमा गरिएको एउटा सर्वेक्षणमा सहभागीहरुले २०औं शताब्दीको जापानको सबैभन्दा उत्कृष्ट आविष्कारका रुपमा तयारी चाउचाउलाई छानेका थिए, वाकमेन, पकेट क्यामेरा, कम्प्युटर गेम वा अरु ग्याजेटलाई छाडेर।
नेपाली चाउचाउको कथा
२०३४ सालतिर मेशिनरी सामान आयात गरी बिक्री गर्ने सरकारी स्वामित्वको कम्पनी नेशनल ट्रेडिङले गोरखापत्रमा चीनबाट आयात गरेको सिन्के ‘छाउछाउ’ बनाउने मेशिनको विज्ञापन गरेको थियो। त्यतिबेला नेपालमा चिनियाँ प्रसिद्ध ‘मियान’ लाई छाउछाउ भनेर चिनिन्थ्यो।
विज्ञापन हेरेपछि पोखराका होटल व्यवसायी कृष्ण आचार्यले भूतपूर्व लाहुरे फणिन्द्रमान श्रेष्ठसँग मिलेर रु.९ हजारमा मेसिन किने, र सिन्के ‘छाउछाउ’ उत्पादन शुरु गरे। तर, यो व्यवसाय खासै चलेन।
बरु, त्यसैताका काठमाडौं र पोखरामा हङकङ, सिंगापुरतिरबाट फर्किएका लाहुरेले अरु नौला–नौला चिजबिजसँगै तयारी छाउछाउलाई पनि कोसेलीका रुपमा भित्र्याउँथे। त्यसको स्वाद चाखिसकेका आचार्य र श्रेष्ठलाई त्यस्तै स्वादको उत्पादन गर्ने हुटहुटी चल्यो। यसमा मिसिए गत साता निधन भएका व्यवसायी सूर्यबहादुर केसी र अर्का पोखरेली सुशील गोसली।
उनीहरुको लगानीले मात्रै नपुग्ने भएपछि भूतपूर्व ब्रिटिश आर्मी पूर्णबहादुर गुरुङको सहयोगमा झण्डै पाँच दर्जन व्यक्तिबाट शेयर लगानी गरेर करीब रु.५० लाख लगानीमा स्थापना भयो, गण्डकी नुडल्स प्रालि।
गण्डकी नुडल्सले २३ माघ २०३९ देखि उत्पादन थाल्यो, रारा ब्राण्डमा। रारा तालको नाममा यो ब्राण्ड जुराइएको थियो, छलफल भने फेवा राख्ने कि भन्नेबारेमा पनि भएको थियो। सबैभन्दा महत्वपूर्ण चाहिं ‘रारा छाउछाउ’ भएर निस्किएन, यो उत्पादनको नाम फेरेर चाउचाउ राखियो।
“नेपाली जिब्रोले छाउछाउ भन्दा चाउचाउ उच्चारण गर्न सजिलो हुने देखेर यो उत्पादनको नाम नै रारा चाउचाउ भनेर लेखियो”, संस्थापकमध्येका एक आचार्य भन्छन्। उनका अनुसार, यो उत्पादनको नाम चाउचाउ नै किन राखियो भनी तत्कालीन नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानले पत्र नै पठाएर सोधेको पनि थियो।
जापानबाट ल्याइएको मेशिनका उत्पादकले नै तीन–चार थरी स्वादका चाउचाउ उत्पादनको रेसिपी पनि गण्डकी नुडल्सलाई पठाएको थियो। त्यसमध्ये, सुप नमिसाइएको सेतो रंगको कम तिख्खर स्वाद राखेर रारा उत्पादन गरिएको आचार्य बताउँछन्। त्यतिबेला प्रति प्याकेट मूल्य तोकिएको थियो, ३ रुपैयाँ ५० पैसा। उद्योगले त्यतिबेला दैनिक २३ हजार प्याकेट चाउचाउ उत्पादन गथ्र्यो। अहिले त देशभर दिनमै ४५ लाख प्याकेट चाउचाउ खपत हुन्छ।
गण्डकी नुडल्सले चाउचाउ उत्पादन शुरु गरे लगत्तै २०४१ सालमा थाइल्याण्डको एशियन थाई फुड्सको लोकप्रिय ब्राण्ड वाईवाईलाई चौधरी समूहले नेपाल भित्र्यायो। शुरुमा यो कम्पनीसँग सहकार्य गरी चाउचाउ उत्पादन गर्न आचार्यसहितका समूहको छलफल पनि भयो। थाइल्याण्डका लागि तत्कालीन नेपाली राजदूत मार्फत छलफल भएको आचार्य बताउँछन्। तर, समझदारी हुन सकेन। पछि, व्यवसायी हिमालयबहादुर पाँडेले समझदारी त गरे, उनले पनि यो परियोजना अगाडि बढाउन नसकेपछि व्यवसायी विनोद चौधरीको हातमा वाईवाई आइपुग्यो। चौधरीले वाईवाईलाई नेपाल भित्र्याएनन् मात्रै, बिस्तारै वाईवाईको ब्राण्ड नै किने।
राराभन्दा फरक चटपटे स्वादको खैरो र सुप मिसाइएको वाईवाई नेपाली जिब्रोले यति रुचायो कि, यसले बजारमा वर्चश्व जमायो र यसकै जगमा चौधरीले आफ्नो व्यवसाय फैलाए। अहिले भारतसहितका कैयौं देशमा वाईवाई पु¥याएका छन्। वाईवाईले बजारलाई यसरी प्रभावित गर्यो, अरु प्रतिस्पर्धी यसको छेउमा पुग्नै सकेनन्। अहिले चाउचाउ भन्नेबित्तिकै वाईवाई अग्रपंक्तिमा आउँछ।
दुई दशकअघि अर्को प्रख्यात घराना खेतान समूहले पनि थाई एक कम्पनीसँगकै सहकार्यमा मायोज ब्राण्डमा चाउचाउ उत्पादन थालेको थियो, तर यो ब्राण्डले वाईवाईको तुलनामा अपेक्षित सफलता पाएन। यसबीचमा विभिन्न स्वादका चाउचाउ उत्पादन गर्ने विभिन्न कम्पनी थपिइरहेका छन्, र बजारमा स–सानो हिस्सा समात्दै गएका छन्।
बदलिएको खाने व्यवहार
चाउचाउ नेपालीको मुख्य आहारा होइन, साँझ–बिहान नेपालीका भान्छामा भात, रोटी, ढिँडो नै पाक्छ। तर, दिउँसो खाइने चिउरा, रोटी, मकै–भटमास जस्ता परम्परागत खाजालाई चाउचाउले विस्थापित गर्दै लगेको छ। चटपटे स्वाद, सस्तो र झन्झटविना छिटो पकाउन सकिने भएकाले चाउचाउको बजार हिमालदेखि तराईसम्मै बढेको छ। शुरुआतमा भने, चाउचाउको बजार काठमाडौं, पोखरासहितका केही शहरमा सीमित थियो, त्यो पनि सीमित जातजातिका मानिसहरूमा।
व्यवसायी आचार्यका अनुसार, चाउचाउ उत्पादन गरेको शुरुआततिर यो तिब्बती मूलका तथा दार्जिलिङ, सिक्किमतिरका मानिसहरुमाझ बढी लोकप्रिय थियो। “न्यूरोडमा १० कार्टुन चाउचाउ बिक्री हुँदा तिब्बती मूलका मानिस बसोबास गर्ने बौद्ध, स्वयम्भूतिर २५ कार्टुन बिक्री हुन्थ्यो”, उनी भन्छन्।
कतिपय समुदायमा भने चाउचाउमा गरिएको मिश्रणबारे प्रश्न उठाउँदै यसलाई भान्छामा नछिराउने चलन पनि लामै काल चल्यो। तर, बिस्तारै यसले सबै खालका समुदायमा लोकप्रियता पाउँदै गयो। बरु, शुरुआतमा निकै लामो समयसम्म तराई क्षेत्रमा चाउचाउको बजार बजार बढेको थिएन।
बजारमा प्रचारप्रचारको साधन नभएका बेला गण्डकी नुडल्सले शुरुआतमा चाउचाउको बिक्री बढाउन काठमाडौंको थापाथलीमा चाउचाउ पकाएर बिक्री गर्ने रेस्टुँरा नै शुरु ग¥यो। अन्यत्र पनि चाउचाउ पकाउने विधि सिकाउन डेमोहरु देखाइए। देशभित्र टेलिभिजन समेत शुरु नभएको त्यस बेला यो कम्पनीले बम्बई पुगेर विज्ञापन बनाएर ल्याई सिनेमा हलमा देखायो। शम्भुजित बाँस्कोटाको संगीतमा बनेको विज्ञापन “आर ए आर ए रारा ..” यसपछि नै हो, लामो कालसम्म टेलिभिजन र रेडियोबाट समेत लोकप्रिय भएको।
चाउचाउले शुरुदेखि नै व्यापक बजार विस्तार गरेको होइन। व्यवसायी आचार्य नेपालमा चाउचाउको बजार ह्वात्तै बढाएको टर्निङ प्वाइन्ट माओवादीको हिंसात्मक विद्रोहलाई मान्छन्। २०५२ सालमा माओवादी युद्ध शुरु भएपछि लडाकु र कार्यकर्ताले बोकेर हिंड्न सजिलो भएकाले चाउचाउको माग ह्वात्तै बढ्यो, जसले नेपालमा चाउचाउको बजारलाई फराकिलो पारिदियो।
५० कै दशकबाट ग्रामीण क्षेत्रमा सडक पूर्वाधार बन्न थालेपछि त शहरबाट झिलिमिली प्याकेटमा चाउचाउ बोकेर साना, ठूला ट्रक गाउँगाउँ पुग्न थाले। वैदेशिक रोजगारीमा नेपालीहरु जान थालेपछि उनीहरुको परिवारको क्रयशक्ति बढेका कारण पनि चाउचाउको बजार फस्टायो। यसले नेपालीको खाने संस्कृति नै कसरी बदल्यो भने, कतिपय गाउँमा त तरकारीको साटो भात नै चाउचाउसँग मिलाएर खाने गरेको सुनिन्छ।
पोषणका विषयमा जानकार डा. अरुणा उप्रेती मानिसको मुखमा नौलो स्वाद आएको र त्यसको लत पर्दै गएका कारण नेपालमा यो खाना लोकप्रिय भएको बताउँछिन्। उनी भन्छिन्, “असाध्यै धेरै विज्ञापनले यसबारे उपभोक्तालाई पारेको भ्रम, पकाउन सजिलो आदि कारणले गर्दा पनि यसको बजार बढेको हो।”
स्वादिलो ‘पत्रु–खाना’
घर, कार्यालय, यात्रा जताततै तयारी चाउचाउले लोकप्रिय खाजाको स्थान पाइसकेको छ। बालबालिकालाई विद्यालयको खाजादेखि युवा र वृद्धवृद्धाको भोक मेटाउनसम्म यसलाई रुचाइन्छ। नपकाइकनै फुकै खान मिल्ने भएकाले झटपट भोक मेटाउन यो सजिलो पनि छ। तर, स्वास्थ्यका दृष्टिकोणले यो स्वास्थ्यबद्र्र्धक नरहेको खाद्य प्रविधि र गुणस्तरका विषयका ज्ञाताहरुले बताउँदै आएका छन्। तिनैमध्येकी एक डा. उप्रेती भन्छिन्, “यो पोषण कम भएको पत्रु खाना (जंक फुड) हो। अहिले सोचविचार नगरी सजिलो र मीठो भनेर चाउचाउ खान्छन्, जसले स्वास्थ्यमा गम्भीर असर पार्ने भएकाले यसको मूल्य भविष्यमा चुकाउनुपर्छ।”
चाउचाउको उत्पादन प्रक्रियाका कारण यसको पोषण तत्व नष्ट हुने तथा यसमा मिलाइने लिड लगायतका रसायनका कारण यो स्वास्थका लागि हानिकारक रहेको चर्चा हुने गर्छ। फाइबर नभएको मैदा, नुन, चिल्लो लगायत सामग्रीबाट बनाइने चाउचाउमा शरीरलाई आवश्यक भिटामिन, मिनरल्स, प्रोटिन आदि कम हुन्छ। लामो सयमसम्म नष्ट हुन नदिन यसमा विभिन्न रसायन पनि मिलाइन्छ। त्यसैकारण, चाउचाउसहितका पत्रु खाना खाने बालबालिका कुपोषणको शिकार हुने जोखिममा पर्छन्।
बालबालिकाको शरीर ख्याउटे, अनावश्यक मोटो तथा पुड्को हुनुमा पत्रु खानाको भूमिका रहेको विभिन्न अध्ययनले देखाएका छन्। एकाध दशकअघिसम्म नेपालमा मोटोपनको कुरा नै सुनिंदैनथ्यो। पछिल्ला दशकहरुमा मोटोपन बढ्नुमा चाउचाउसहितका जंक फुडलाई पनि कारण मानिन्छ। उप्रेतीका अनुसार, हेलन केलर इन्स्टिच्यूट र स्वास्थ्य मन्त्रालयले एकाध वर्षअघि गरेको एक अध्ययनले चाउचाउमा तोकिएको भन्दा ३७ देखि २०० प्रतिशतसम्म बढी नुन राखिएको भेटिएको थियो।
त्यसैगरी, यसमा मिसाइने रसायनका कारण पनि यो बदनाम छ। २०७२ सालमा मोनोसोडियम ग्लुटामेट नामको रसायन (अजिनोमोटो) को मात्रा धेरै भेटिएपछि भारतमा प्रतिबन्धित म्यागी चाउचाउ नेपालमा पनि नखान सरकारी अधिकारीहरुले नै सचेत गराएका थिए। उसो त, नेपालमा उत्पादित चाउचाउको गुणस्तरका विषयमा गहिरो अध्ययन नै भइरहेको छैन। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नेपालका चाउचाउमा मिसाइएको रसायन तथा यसको गुणस्तरमा निरन्तर परीक्षण गर्दैन।
सरकारले पाँच वर्षअघि विद्यालयमा चाउचाउको उपभोगलाई प्रतिबन्ध लगाउने विषयमा छलफल शुरु गरेको थियो। तर, व्यवसायीहरुको दबाबपछि यो छलफल र यससम्बन्धी निर्णय अगाडि बढेन।
चाउचाउले मानव स्वास्थ्य मात्र होइन, वातावरणमा पनि गम्भीर असर पुर्याइरहेको छ। चाउचाउ खाएर फुत्त फालिने यसको खोल वर्षौंसम्म नकुहिने कारणले माटो वा पानीमा रहिरहन्छ। यो माटो, पानी र पृथ्वीको पारिस्थितिक प्रणालीकै लागि पनि गम्भीर चुनौती हो। प्लास्टिकमा हुने हानिकारक रसायनले जलचर र थलचर दुवैको स्वास्थ्यमा प्रतिकूल असर पार्छ।
विस्तार हुँदै गएको बजारमा चाउचाउ कम्पनीहरुले वर्षेनी अर्बौं रुपैयाँको लाभ पाउँछन्, तर चाउचाउको खोल व्यवस्थापनका सम्बन्धमा उनीहरूले दायित्व लिँदैनन्। जसकारण, व्यवसायीको लाभको मूल्य सिङ्गो वातावरणले चुकाइरहनुपरेको छ।