कम्युनिष्ट सरकारले अस्थिरता र भ्रष्टाचारलाई मात्रै प्रश्रय दियोः प्रकाशमान सिंह
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कम्युनिष्ट नेतृत्वको सरकारले देशमा जहिले पनि अस्थिरता र भ्रष्टाचारलाई मात्रै प्रश्रय दिएकाे आरोप लगाएका छन्। पहिलो संविधानसभादेखि अहिलेसम्म कम्युनिष्टहरूले जनताबाट अत्यधिक मत पाएको तर, सत्तामा पुगेपछि अस्थिरता र भ्रष्टाचार बाहेक केही पनि दिन नसकेको टिप्पणी गरे।
गणेशमान सिंहको १०६औं जन्मजयन्तीको अवसरमा गणेशमान सिंह फाउण्डेशनले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले अहिले पनि झण्डै दुई तिहाइको बहुमत पाएको नेपाल कम्युनिष्ट पार्टीको सरकारले जनतालाई अस्थिरता र भ्रष्टाचार मात्रै दिएको आरोप लगाए।
बालुवाटारको ललितानिवास जग्गा प्रकरण, सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरण, वाइडबडी, न्यारोबडी प्रकरण बाहिर आउँदा समेत सरकारले कसैलाई कारबाही नगरेको नेता सिंहले बताए। प्रधानमन्त्रीले आफूले पनि भ्रष्टाचार गर्दिनँ र अरुलाई पनि गर्न दिन्नँ भन्ने तर आफ्नै पार्टीका नेताहरू संलग्न भएका घोटालाहरूमा संरक्षण गर्ने काम गरिराखेको सिंहको टिप्पणी छ।
कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले गर्नुपर्ने न्यूनतम काम समेत गर्न नसकेको उनले बताए। कोरोनाका कारण उत्पन्न पछिल्लो परिस्थितिमा जनतालाई राहत दिनुपर्नेमा सरकारले औषधि र उपकरण खरीदमा घोटाला गरेको उनको भनाइ छ।
सरकारले संघीयताको भावना विपरीत एकपछि अर्को काम गरिराखेको नेता सिंहको आरोप छ। संविधानले देशमा तीन तहको सरकारको व्यवस्था गरे पनि प्रधानमन्त्रीले संघीय सरकारकै इकाइको रूपमा प्रदेश र स्थानीय तहलाई लिएको सिंहले बताए।
कांग्रेसभित्र पनि अप्रजातान्त्रिक गतिविधि बढे
नेता सिंहले नेपाली कांग्रेसभित्र पनि अप्रजातान्त्रिक गतिविधि बढेको टिप्पणी गरे। पार्टीभित्र देखा परेका अप्रजातान्त्रिक गतिविधि सुधार गर्नका लागि पनि तोकिएको मितिमा नै महाधिवेशन गर्नुपर्ने उनको माग छ।
चार वर्षमा हुनुपर्ने महाधिवेशन एक वर्ष समय थप हुँदा पनि हुन नसक्ने स्थितिमा आएको भन्दै उनले चिन्ता व्यक्त गरे। महाधिवेशन गर्नका लागि गर्नुपर्ने तयारी केही पनि नगरिएको उनको भनाइ छ।
प्रजातान्त्रिक पार्टीभित्र अप्रजातान्त्रिक विधिबाट गठन भएका सबै विभागहरू खारेज हुनुपर्ने उनको माग छ। नेपाली जनताले गणेशमान सिंह जस्तै चरित्रवान, स्वच्छ छवि भएका राजनीतिज्ञको चाहना गरेको उल्लेख गर्दै नेता सिंहले अहिलेका नेताहरू पनि सच्चिनुपर्ने उनको भनाइ छ।