पत्रकारिता र कोरियाको सपना त्यागेर च्याउ खेतीमा रमाउँदै एञ्जिल
पत्रकारिता गर्दैगर्दा कोरियाको तयारी थालेका कैलालीका एञ्जिल चौधरी एकपटक भाषा परीक्षा उत्तीर्ण नभएपछि पत्रकारिता र कोरियाको सपना त्यागेर अहिले व्यावसायिक च्याउ खेतीमा रमाइरहेका छन्। मिहिनेतको ९ गुणा बढी आम्दानी हुँदा उनी दंग छन्।
पत्रकारिता गर्दै आएका एञ्जिल चौधरी (२६) ले दुई वर्ष पहिले विदेश जाने सोच बनाए। पत्रकारिता गरेर मात्रै बाँच्न सकिन्न भन्ने सोचेर उनले कोरिया जाने योजना बनाए। र, कोरियन भाषा परीक्षाको तयारी पनि गरे।
कोरिया पुगेर मनग्ये पैसा कमाउने सपना, त्यहीँबाट कृषि सम्बन्धी ज्ञान र सीप लिने चाहनाले उनीभित्र कोरियाको ‘भूत सवार’ भएको थियो। उनले कोरियन भाषा पढे। परीक्षा पनि दिए तर, उनी पास हुन सकेनन्। कोरिया जाने सपनाको पहिलो गाँसमै ढुंगा लाग्यो।
तर, एञ्जिलले हार मानेन्। बरु कोरियाको सपना त्यागेर घरमै बसीबसी व्यावसायिक कृषक बन्न सफल भए। कैलालीको जानकी गाउँपालिका–५, पथरैया गाउँका उनी अचेल आफ्नै ठाउँमा व्यावसायिक च्याउ खेतीमा रमाउन थालेका छन्।
उनले शुरूमा परीक्षणका रूपमा १५० डल्ला (पोका) मा च्याउ खेती गरे। निकै राम्रो फलेपछि थप १५०० डल्ला बनाएको उनी बताउँछन्। २०७६ भदौमा परीक्षणका लागि २० हजार लगानीबाट च्याउ खेती शुरू गरेको एञ्जिलले सुनाए।
मिहिनेतको आधारमा ९ गुणा बढी आम्दानी हुन थालेपपछि उनी हौसिएका छन्। “१५०० डल्लाबाट १७०० क्विन्टल च्याउ उत्पादन भएको थियो। जसबाट पाँच लाख भन्दा बढी रकम उठेको थियो”, उनी भन्छन्।
उनका अनुसार शुरूमा टहरा, भाँडाकुडा, पराल, दाउरा र च्याउको बीउ गरी १ लाख ८० हजार रूपैयाँ लगानी भएको थियो। च्याउ खेतीमा लगानी गरेकै महीनामा आम्दानी हुने भएकोले एकदमै सन्तुष्ट रहेको उनी बताउँछन्। यो वर्ष उनले ३ हजार डल्ला च्याउ राखेका छन्। २५औं दिनदेखि च्याउ बजारमा लैजान तयार हुने भएकोले आम्दानीको लागि धेरै समय पर्खिनु नपर्ने उनको अनुभव छ।
च्याउ खेतीमा लागेपछि उनले दुई जनालाई नियमित रोजगारी पनि दिएका छन्। आवश्यक परेको बेला अरुले पनि ज्यालादारीमा काम पाउँछन्।
एञ्जिलकाे सबै परिवार च्याउ खेतीमा केन्द्रित छ। बाबुआमाले रेखदेखमा सघाइरहेका छन् भने एञ्जिल र उनका दिदीबहिनीहरू च्याउलाई बजारसम्म पुर्याउँछन्।
उनका अनुसार दोस्रो वर्ष लगानी पनि कम लाग्छ। उनले आफूले उत्पादन गरेको च्याउ लम्की, टीकापुर, चिसापानी, सुख्खड, अत्तरिया बजारसम्म पुर्याउँदै आएका छन्। यो वर्ष बर्दियाको राजापुर बजारमा पनि पुर्याउने तयारी भइरहेको सुनाए। हाल उनी गाउँमा च्याउ खेतीको प्रशिक्षक भएर पनि काम गरिरहेका छन्। च्याउ खेती सिक्नका लागि उनको सहयोग गर्न आउनेहरू पनि छन्।
पत्रकारिता पेशामा नाम मात्रै पाउने भएकोले व्यावसायिक च्याउ खेतीतिर लागेको एञ्जिल सुनाउँछन्। अहिले नामसँगै दाम पनि पाएकोले उनी दंग छन्। उनी करीब ७ वर्षदेखि कैलालीका विभिन्न सञ्चारमाध्यममा आवद्ध भएर काम गर्दै आएका थिए।
बेरोजगार युवालाई स्वदेशमै मिहिनेत गर्न सुझाव
व्यावसायिक च्याउ खेतीतिर लागेका एञ्जिल गाउँघरमा बेरोजगार बसेका युवालाई घरमै बसी कृषि क्षेत्रतर्फ लाग्न सुझाव दिन्छन्। उनले प्रदेश सरकार, स्थानीय सरकारलगायत विभिन्न संघसंस्थाद्वारा कृषि क्षेत्रमा अनुदान तथा सहयोग पनि खोज्न सकिने बताए।
प्रदेश सरकार र स्थानीय सरकारले पनि कोरोना कहरबाट बेरोजगार भएका युवाहरूलाई च्याउ खेती, माछा पालन, बंगुर पालन, कुखुरा पालन, बाख्रा पालनलगायतमा अनुदान सहयोग गर्दै आएका छन्।