भक्तपुरमा माटाका भाँडा बनाउन भ्याई-नभ्याई, पहिलेभन्दा माग घट्यो
दीपावलीमा दियो बाल्नका लागि प्रयोग हुने माटाका पालादेखि माटाका अन्य भाँडा बनाउन यतिबेला भक्तपुरका प्रजापतिहरूलाई भ्याई-नभ्याई छ। तर, यस वर्ष कोभिडका कारण माटाका भाँडाको व्यापारमा असर परेको छ भने माटो नपाउने समस्याले पेशा नै लोप हुने चिन्ता पनि थपिएको छ।
दीपावलीको समय नजिकिंदै आएपछि भक्तपुर नगर, मध्यपुर थिमिका प्रजापति समुदायलाई यतिखेर माटाका पाला सहित माटाका भाँडा बनाउन भ्याईनभ्याई भएको हो। अन्य समयमा माटाका भाँडाहरू फाटफुट बिक्री हुने गरेको भए पनि तिहारको समयमा भने धेरै नै बिक्री हुने गरेको छ। तर, यस वर्ष भने निकै कम माग भएको कृष्णश्याम प्रजापतिले बताए।
उनले गत वर्ष दैनिक तीन/चार हजारको संख्यामा बिक्री हुने गरेकोमा अहिले आधा भन्दा कम मात्रै बिक्री हुने गरेको बताए।
तिहारको समयमा माटाका पालाको व्यापार धेरै हुने गरेको छ। त्यसबाहेक पनि अम्बरा, धुपौरो, गमला, सुराई, कालिञ्चा, खुत्रुके लगायतका सामानको माग पनि बढी नै हुने गर्छ। तर, यसपटक कोभिडका कारण माग घटेको छ। माटाका भाँडाको माग घटेको भन्दा पनि माटो नपाउने समस्या ठूलो भएको प्रजापतिले बताए।
भक्तपुरका अधिकांश क्षेत्रमा घना वस्ती बसेसँगै माटो नपाउने समस्या आएको हो। माटो नपाएकै कारण अबको आठ÷दश वर्षमा पेशा नै लोप हुने अवस्थामा पुग्ने सम्भावना देखिएको उनको भनाइ छ।
प्रजापति समुदायले अँगाल्दै आएको यो पेशा निकै पुरानो हो। त्यसैले यो पेशालाई बचाइराख्नुपर्ने देखिन्छ। तर, परम्परागत पेशालाई बचाउनका लागि आफूहरूले भन्दा सरकारले नै पहल गर्नुपर्ने कृष्णश्याम बताउँछन्।
आधुनिक प्रविधिको विकास हुँदै गर्दा माटोको भाँडा बनाउनेदेखि पकाउने सबै काममा प्रविधि भित्रिँदा सजिलो भएको छ। तर माटो नै नपाउने समस्याले प्रजापति समुदायले अँगाल्दै आएको माटाका भाँडा बनाउने पेशा छिट्टै लोप हुने चिन्ता भने उत्तिकै छ।