आईपीएल दोस्रो क्वालिफायरः महङ्गा खेलाडी चलेनन्, सस्ताको गतिलो प्रदर्शन
इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गए रातिको दोस्रो क्वालिफायर खेलमा प्रतिश्पर्धा गरेका दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादसँग यो सिजनका महङ्गामध्येका खेलाडी छन्। तर, हिजो आधार मूल्य र तुलनात्मक सस्ता खेलाडीले महङ्गा खेलाडीभन्दा राम्रो प्रदर्शन गरेका छन्।
हैदराबादले कप्तान डेभिड वार्नरलाई यो सिजनका लागि १२.५० करोड रुपैयाँमा अनुबन्ध गरेको थियो। उनले तीन बलमा दुई रन मात्र बनाउन सके। हैदराबादको ‘प्लेइङ ११’मा रहेका सबैभन्दा सस्ता खेलाडी अब्दुल समदले १६ बलमा ३३ रन बनाए। उनी आधार मूल्य अर्थात २० लाख रुपैयाँमा अनुबन्ध भएका हुन्।
फाइनल प्रवेशका लागि महत्वपूर्ण खेलमा नचले पनि डेबिड वार्नरले यो सिजनमा भने गतिलो प्रदर्शन गरे। उनले १६ खेलमा ३९.१४ को औषतमा ५४८ रन बनाएका छन्। उनको एकै खेलमा बनाएको उच्च रन ८५ हो।
हैदराबादकै मनिष पाण्डेले हिजो १४ बलमा २१ रन बनाए। उनी ११ करोड रुपैयाँमा अनुबन्ध भएका हुन्। तर, ३ करोडमा अनुबन्ध भएका केन विलियम्सनले ४५ बलमा ६७ रन बनाए। उनले अघिल्लो प्लेअफमा रोयल च्यालेन्जर्स बैङ्लोरविरुद्ध पनि अर्धशतक बनाएका थिए।
उता दिल्लीको टीममा पनि १५ करोडमा अनुबन्ध ऋषभ पन्त छन्। पन्त दिल्लीका सबैभन्दा महङ्गा खेलाडी हुन्। उनी हिजो पाचौँ नम्बरमा ब्याटिङ गर्न आएका थिए। उनले तीन बलमा दुई रन बनाए।
दिल्लीकै टीममा आधार मूल्य २० लाख रुपैयाँमा अनुबन्ध भएका प्रविण दुबे छन्। अमित मिश्रा घाइते भएर टिम छाडेपछि दिल्लीले सिजनको बीचमा दुबेलाई अनुबन्ध गरेको थियो। उनले हिजो दोस्रो पटक मौका पाउँदा कुनै विकेट नलिए पनि दुई ओभरमा १४ रन मात्र दिए। जबकी हैदराबादको रनरेट ८.६ छ।
फर्म गुमाएपछि बेञ्चमा बस्न बाध्य दिल्लीका सिम्रन हेटमेयर भने हिजो चले। उनले २२ बलमा ४२ रन बनाए। उनलाई दिल्लीले ७.२ करोड रुपैयाँमा अनुबन्ध गरेको हो। तर, ७.६ करोडमा अनुबन्ध भएका रविचन्द्र आश्विनको प्रदर्शन हिजो फितलो भयो। तीन ओभर बलिङ गरेका उनले ११ को औषतमा ३३ रन दिए।