भ्यालेन्सियाले चार पेनाल्टी पाएको खेलमा रियल मड्रिड पराजित
स्पेनिस ला लिगाअन्तर्गत गए राति भएको खेलमा भ्यालेन्सियाले रियल मड्रिडलाई ४-१ गोलले पराजित गरेको छ। उता इङ्लिस प्रिमियर लिगमा आर्सनल पराजित भएको छ भने म्यानचेस्टर सिटी र लिभरपुलले बराबरी खेलका छन्।
भ्यालेन्सिया र रियलको खेलमा भ्यालेन्सियाले चार वटा पेनाल्टी पाएको थियो। जसमध्ये तीन वटालाई गोलमा परिणत गरेको थियो। चारै पेनाल्टी कार्लोस सोलरले प्रहार गरेका थिए। उनले पेनाल्टीबाटै ह्याट्रिक गरे। एक गोल भने रियलले आत्मघाती गरेको थियो।
खेलमा अग्रता भने रियलले नै लिएको थियो। भ्यालेन्सियाको घरेलु मैदानमा २३औँ मिनेटमा करिम बेन्जमाले रियललाई अग्रता दिएका थिए। ३०औँ मिनेटमा भ्यालेन्सियाले पाएको पेनाल्टी खेर गयो।
लगत्तै ३५औँ मिनेटमा सोलरले पेनाल्टी गोल गर्दै खेल बराबरीमा ल्याए। ४३औँ मिनेटमा रियलका राफायल भारानेले आत्मघाती गो गरेपछि भ्यालेन्सिया अघि बढ्यो। त्यसपछि ५४औँ र ६३औँ मिनेटमा सोलरले पेनाल्टीबाट थप दुई गोल गरेका थिए।
खेलमा भ्यालेन्सियाका तीन र रियलका दुई खेलाडीले पहेँलो कार्ड पाएका थिए। हारपछि रियलले दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ। ८ खेलबाट १४ अंकसहित रियल चौथो स्थानमा छ।
यता नौ खेलबाट ११ अंक जोडेको भ्यालेन्सिया नवौं स्थानमा उक्लेको छ। शीर्ष स्थानको रियल सोसिडाडको नौ खेलबाट २० अंक छ। पछिल्लो खेलमा सोसिडाडले ग्रानाडालाई २-० गोलले पराजित गरेको छ।
ला लिगाका अन्य खेलमा रियल भाल्लाडोलिडले एथलेटिको बिल्बाओलाई २-१ ले पराजित गरेको छ। लेभान्टे र डिपोर्टिभो अलाभेसले १-१ को बराबरी खेलेका छन्।
उता इङ्लिस प्रिमियर लिगमा म्यान्चेस्टर र लिभरपुलले बराबरी खेलका छन्। लिभरपुलका लागि १३औँ मिनेटमा पेनाल्टी गोल गर्दै मोहम्मद सलाहले अग्रता दिलाएका थिए। तर, गब्रियल जेससले ३१औँ मिनेटमा गोल गरेर सिटीलाई खेलमा फर्काएका थिए।
४२औँ मिनेटमा केभिन डि ब्रुयनले पेनाल्टी खेर फालेपछि सिटीले अग्रता लिने मौका गुमाएको थियो। त्यसपछि कुनै गोल नहुँदा खेल बराबरीमा सकियो।
अर्को खेलमा आर्सनल एस्टोन भिल्लासँग पराजित भएको छ। एस्टोन भिल्लाले ३-०ले खेल जितेको हो। यो सिजन उत्कृष्ट प्रदर्शन गरिरहेको एस्टन भिल्ला सात खेलबाट १५ अंकसहित छैटौँ स्थानमा छ। शीर्ष स्थानको लेस्टर सिटीको आठ खेलबाट १८ अंक छ।