हुम्लाका धारामा बरफ जम्न थाल्यो, चिसो छल्न हिल्साका होटल व्यवसायी सिमकोटतिर
हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सामा चिसोले पानीको धारामा बरफ जम्न थालेको छ। कात्तिकको दोस्रो सातादेखि हुम्लामा चिसो बढ्न थालेपछि हिल्सामा धाराको र जम्मा गरेर राखेको पानी बरफ हुन थालेको हो।
राति अत्यधिक चिसो हुने भएकाले धारामा बिहानको समयमा बरफ जम्न थालेको सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी बल हुम्लाका प्रहरी निरीक्षक तथा बिओपी हिल्साका प्रमुख सुरज केसीले जानकारी दिए। बाल्टिनलगायत अन्य सामग्रीमा जम्मा गरेर राखेको पानीसमेत बरफ हुन थालेको उनले बताए।
यहाँको तापक्रम माइनसमा झरेकाले खानेपानीका धारामै बरफ जमेको छ। दिउँसो घाम लागेपछि मात्रै जमेको पानी पग्लिने गरेको छ। हिल्सामा होटल व्यवसाय गर्ने तल्लो क्षेत्र सरेकाले त्यहाँ कोही नभए पनि सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका सुरक्षाकर्मी रहँदै आएको केसीले जानकारी दिए।
चिसो बढ्दै गएपछि हिल्सा प्रहरी चौकीले मङ्सिर पहिलो सातातिर सिमकोट सर्ने तयारी गरिरहेको उनले बताए। उनका अनुसार नेपाल प्रहरीको टोली जिल्ला फिर्ता भए पनि सशस्त्र प्रहरी हिउँदको समयमा पनि हिल्सामै रहने छ। मङ्सिर लागेसँगै हिल्सा, लिमीलगायतका उच्च क्षेत्रमा रहेका प्रहरी चौकी जिल्ला सदरमुकामतिर सर्ने गरेका छन्।
हिल्सामा बिओपी स्थापना भएसँगै यो वर्षदेखि सशस्त्र प्रहरी बल बाह्रै महिना सीमा सुरक्षामा खटिने भएको छ। पुस र माघ दुई महिना हुम्लामा अतधिक हिमपात हुनुका साथै तापक्रम माइनस १५ डिग्रीभन्दा बढी हुने गर्छ।