नुवाकोटमा बुधबारदेखि निषेधाज्ञा, देउसीभैलो खेल्न नपाइने
कोरोनाभाइरसको सङ्क्रमण फैलिने डरले जिल्ला प्रशासन कार्यालय नुवाकोटले यस वर्षको तिहारमा देउसीभैलो खेल्न रोक लगाएको छ। प्रशासनले आगामी बुधबारदेखि जिल्लामा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ।
जिल्ला प्रशासन कार्यालयमा आइतबार बसेको जिल्ला सङ्कट व्यावस्थापन केन्द्रको बैठकले निषेधाज्ञा लगाउने निर्णय गरेको थियो। बैठकपछि प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले जारी गरेको आदेशमा बुधबारदेखि अर्को आदेश नभएसम्म निषेधाज्ञा लगाइएको उल्लेख छ।
काठमाडौँस्थित विशिष्ट सेवा प्रवाह गर्ने अस्पतालहरू कोरोना सङ्क्रमितले भरिभराउ भइसकेको र आईसीयू तथा भेन्टिलेटर सेवा पर्याप्त नभएकाले रोग नियन्त्रणका लागि नुवाकोटमा २६ कात्तिकदेखि लागू हुने गरी निषेधाज्ञा लागू गरिएको आदेशमा जनाइएको छ। आदेश पालना गर्न सबैलाई अपिल पनि गरिएको छ।
जिल्लाको धार्मिक, सांस्कृतिक तथा समूहमा भेला भएर गरिने कार्यक्रमले रोगको जोखिम बढाउने भन्दै निषेधाज्ञा जारी गरिएकाले यो वर्षको तिहारमा देउसीभैलो खेल्न नपाइने आदेशमा उल्लेख छ। निषेधाज्ञाको समयमा अहिलेको जस्तै दैनिकी सामान्यरूपमा चलाउन बजार क्षेत्र खुला राख्ने, गाडी सञ्चालन कायमै रहने भए पनि त्यसका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने जनाइएको छ। स्वास्थ्य सुरक्षाको मापदण्ड पालना भए–नभएको अनुगमन गर्ने जिम्मेवारी जनप्रतिनिधिसहितको प्रहरी टोलीलाई दिइएको छ।
नुवाकोटमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ६१९ पुगेको छ। तीमध्ये २८८ जना निको भएका छन्। ३२९ जना सक्रिय सङ्क्रमित छन्। सक्रिय सङ्क्रमतिमध्ये सात जना त्रिशूली अस्पतालको आइसोलेसनमा र ३२२ जनालाई चिकित्सकको निगरानीमा घरकै एकान्तबासमा राखिएको स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकृत उत्तमराज खनालले जानकारी दिए।