हैदराबादलाई हराउँदै दिल्ली पहिलोपटक आईपीएलको फाइनलमा
दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई १७ रनले हराउँदै दिल्ली क्यापिटल्स पहिलोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ।
हिजो राति सकिएको खेलमा दिल्लीले दिएको १९० रनको लक्ष्य पछ्याएको हैदराबादले १७२ रन मात्र बनाउन सक्यो। उसका लागि केन विलियम्सनले ६७ रन बनाए पनि टीमलाई जित दिलाउन सकेनन्।
दिल्लीका लागि कागिसो राबाडाले चार र मार्कस स्टोइनिसले तीन विकेट लिए। हिजो दोस्रोपटक १३औँ आईपीएलमा मौका पाएका प्रविण दुवेले भने दुई ओभर बलिङ गरे पनि कुनै विकेट लिन सकेनन्। अमित मिश्रा घाइते भएर घर फर्किएपछि दिल्लीले उनलाई अनुबन्ध गरेको थियो।
यसअघि टस जितेर ब्याटिङ गरेको दिल्लीले २० ओभरमा तीन विकेट गुमाउँदै १८९ रन बनाएको थियो। दिल्लीले हिजो ब्याटिङ अर्डर परिवर्तन गरेको थियो। उसले मार्कस स्टोइनिसलाई शिखर धवनसँग ओपनिङमा ल्याएको थियो।
यसअघि ओपनिङ गरिरहेका पृथ्वी शलाई आराम दिएको थियो भने अजिन्क्या रहानेलाई मध्यक्रममा झारेको थियो। उनले हिजो ब्याटिङ गर्न पाएनन्। केही खेलमा बेञ्जमा राखिएका सिम्रन हेटमेयरले पनि हिजो मौका पाएका थिए।
स्टोइनिसले ३८, धवनले ७८ र हेटमेयरले २२ बलमा ४२ रन बनाए। हैदराबादका लागि ज्यासन होल्डर, सन्दीप शर्मा र रसिद खानले एक एक विकेट लिएका थिए।
अब भोलि मंगलबार साँझ हुने फाइनलमा दिल्लीले मुम्बईको सामना गर्नेछ। दिल्ली पहिलोपटक आईपीएल फाइलनमा पुगेको हो। यसअघि १२ वटा आईपीएल खेल्दा चारपटक मात्र प्लेअफ पुगेको थियो।
दिल्ली पहिलो सिजन ‘इलिमिनेटर’सम्म पुगेको थियो। दोस्रो सिजन तेस्रो भएको थियो। त्यस्तै २०१२ र २०१९ को सिजनमा पनि तेस्रो भएको थियो।
गत वर्ष पहिलो प्लेअफमा सनराइजर्स हैदराबादलाई दुई विकेटले पराजित गर्दै दोस्रो क्वालिफायर खेलेको थियो। तर, चेन्नाई सुपर किङ्ससँग ६ विकेटले पराजित भएपछि तेस्रो स्थानमा नै सीमित भएको थियो।