दाहाललाई तर्साउने जबजको ओली ‘अस्त्र’
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो पटक आफ्नो पार्टीमा देखिएको संकटबीच स्थगित गरिएको जबजको बहस उठाएर पूर्वएमाले पंक्तिलाई एकठाउँ ल्याउने प्रयत्न अघि बढाएका छन्। तर, पूर्वएमालेकै एक पंक्ति यसलाई औचित्यहीन ठान्छ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नेतृत्व तहमा विवाद चुलिएका बेला प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले १९ कात्तिकमा एकाएक प्रदेश १ का आफूनिकट नेता र कार्यकर्तासँग भर्चुअल छलफल गरे। त्यो छलफलमा ओलीले नेकपामा ठूलै संकट आइलागेको उल्लेख गर्दै यसलाई टार्ने एउटै उपाय जनताको बहुदलीय जनवाद (जबज)का पक्षधरहरु एक ढिक्का हुनुपर्ने बताएका थिए।
जबजलाई तत्कालीन एमालेले आफ्नो मार्गदर्शक सिद्धान्तका रुपमा अँगालेको थियो। एमाले र माओवादीबीचको एकीकरणबाट नेकपा गठन हुँदा जबज र तत्कालीन माओवादीले भन्दै आएको ‘२१औं शताब्दीको जनवाद’लाई एकता महाधिवेशनसम्म थाती राख्ने, त्यतिञ्जेल पार्टीको सिद्धान्त ‘जनताको जनवाद’लाई मान्ने सहमति भएको थियो। नेकपा त्यही सहमतिमा चलिरहेका बेला ओलीले जबजको बहस ब्युँताउनुलाई अर्थपूर्ण मानिएको छ।
नेकपामा शक्ति संघर्ष चर्किएका बेला प्रधानमन्त्री एवं अध्यक्ष ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाललाई गलाउन अनेक रणनीति अख्तियार गर्दै आएका छन्। जबजबारे बहस चलाउने उनको पछिल्लो कदमलाई पनि त्यही रुपमा लिइएको छ।
‘एमाले भावना’को उपयोग
नेकपामा पुनः शक्ति संघर्ष चर्किएपछि अध्यक्षद्वय ओली र दाहाल एक अर्कामाथि दबाब बढाउने आ-आफ्नै रणनीतिमा तल्लीन छन्। दाहालले आफूनिकट कानूनविदहरुसँग भेटघाट र छलफल बढाइरहँदा केन्द्रीय कार्यालय धुम्बाराहीमा पार्टीको अनौपचारिक बैठक गरेर पनि ओलीमाथि दबाब बढाउने प्रयास गरिरहेका छन्।
गएको वैशाखमा अध्यादेश प्रकरणले नेकपामा शुरु भएको विवाद ओलीले नाटकीय रुपमा अन्त्य गरेका थिए। त्यसबेला पार्टीभित्र आफूविरुद्ध मोर्चाबन्दी भएपछि ओलीले केन्द्रीय सचिवालय बैठकमा एउटा अप्रत्यासित प्रस्ताव राखेका थिए, आफ्नो पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने।
पार्टीभित्र आफ्नो राजीनामा मागिएपछि त्यो बैठकमा ओलीले भनेका थिए, “मलगायत हाम्रो पार्टीका तीन जना सिनियर नेता (पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनाल) प्रधानमन्त्री भइसक्यौं। अब मैले छाड्नुपर्छ भन्नुहुन्छ भने सिनियर पनि, कहिले प्रधानमन्त्री नबनेका वामदेवजीलाई प्रधानमन्त्री बनाऔं।”
त्यसपछि नेकपाभित्रको विवाद तत्कालका लागि सामसुम भयो।
गएको १० असारमा नेकपाको स्थायी कमिटी बैठक शुरु भयो। बैठक चलिरहेकै बेला ओलीले आफ्नो सरकार ढाल्न भारत लागिपरेको र त्यसलाई आफ्नै पार्टीका नेताहरुले सघाएको अभिव्यक्ति दिएपछि नेकपामा अर्को संकट आइलाग्यो। स्थायी कमिटीका बहुसंख्यक सदस्य ओलीले प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक पद छाड्नुपर्ने अडानमा देखिएपछि ओलीले बैठक स्थगन गरिदिए। आफूविरुद्ध संसदमा अविश्वास प्रस्ताव आउन सक्ने आकलन गरेर हुनसक्छ, १८ असारमा उनले संसदको बर्खे अधिवेशन अन्त्य गर्न हठात राष्ट्रपतिलाई सिफारिश गरेपछि सभामुखले समेत पूर्वजानकारी नपाई संसद अधिवेशन अन्त्य भएको थियो।
नेकपामा पुनः शक्ति संघर्ष चर्किएपछि अध्यक्षद्वय ओली र दाहाल एक अर्कामाथि दबाब बढाउने आ-आफ्नै रणनीतिमा तल्लीन छन्। दाहालले आफूनिकट कानुनविदहरुसँग भेटघाट र छलफल बढाइरहँदा केन्द्रीय कार्यालय धुम्बाराहीमा पार्टीको अनौपचारिक बैठक गरेर पनि ओलीमाथि दबाब बढाउने प्रयास गरिरहेका छन्।
त्यसअघि खुमलटारस्थित आफ्नो निवासमा सचिवालयका सदस्यहरुलाई बोलाएर दाहालले आफूलाई प्रधानमन्त्री ओलीले ‘पार्टी अलग अलग हुनसक्ने’ बताएको ब्रिफिंग सुनाएका थिए। यहीँबाट उनीहरुका गतिविधि पार्टी फुट्न सक्छ भन्ने मनोवैज्ञानिक दबाब सिर्जना गर्नमा केन्द्रित भएका देखिन्छन्। र, ओलीले अगाडि सार्न खोजेको जबजको बहस त्यसकै पछिल्लो कडी हो।
अरुबेला कटुतापूर्ण सम्बन्धमा रहँदै आएका ओली र नेपाल पनि जबजबारे एकठाउँमा उभिन सक्ने सम्भावना प्रबल छ। पछिल्लो केही दिनयता ओलीले नेपालसँगको सम्बन्ध सुमधुर बनाउन विभिन्न ‘च्यानल’ परिचालन गरेको देखिनुले पनि जबजको बहसभित्रको अन्तर्य झल्काउँछ।
ओलीले यो कदम चाल्नुका पछाडि जबजको नारामा पूर्वएमाले पंक्तिलाई एकठाउँमा ल्याउन सकिने र त्यसबाट दाहालमाथि तीब्र दबाब बढाउन सकिने बुझाइले काम गरेको देखिन्छ। हुन पनि नेकपामा पूर्वएमाले पंक्ति जबजप्रति दत्तचित्त छ। केही समयअघि ओलीले दाहालसँगको लेनदेनमा जबजलाई पनि लेनदेनकै विषय बनाएको चर्चा हुँदा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले आफू जबज बोकेर पार्टी संगठनमा जाने बताएका थिए। अर्थात, अरुबेला कटुतापूर्ण सम्बन्धमा रहँदै आएका ओली र नेपाल पनि जबजबारे एकठाउँमा उभिन सक्ने सम्भावना प्रबल छ। पछिल्लो केही दिनयता ओलीले नेपालसँगको सम्बन्ध सुमधुर बनाउन विभिन्न ‘च्यानल’ परिचालन गरेको देखिनुले पनि जबजको बहसभित्रको अन्तर्य झल्काउँछ। नेकपाका एक स्थायी कमिटी सदस्य भन्छन्, “जबजमा ओली र नेपालको कुरा मिल्छ भन्दैमा प्रधानमन्त्रीको मनपरीलाई संरक्षण दिने सवालमा कुरा मिल्छ भन्नु बेकार हो।”
एमालेका तत्कालीन महासचिव, दिवंगत मदन भण्डारीले २७ वर्षअघि प्रतिपादन गरेको सिद्धान्त हो, जबज। यही जबजले नै तत्कालीन एमालेलाई लोकतान्त्रिक अभ्यासमा खरो उतारेको थियो। त्यहीकारण पूर्वएमालेका नेता र कार्यकर्ताको योसँग भावनात्मक साइनो छ, अहिले पनि। यही तथ्य बुझेरै प्रधानमन्त्री ओलीले महाधिवेशनलाई थाती राखिएको जबजको बहस अचानक अगाडि सारेका हुन्, खासगरी पूर्वएमाले पंक्तिलाई आफू वरपर गोलबद्ध गर्न सकिने जोडघटाउसहित। महाधिवेशन नजिकिएको भए यो विचारकै बहस हुन्थ्यो र स्वाभाविक पनि मानिन्थ्यो। तर, आउँदो चैतमा महाधिवेशन गर्ने निर्णय गरेको नेकपामा त्यसका लागि तयारी भने केही पनि भएको छैन। यहाँसम्म कि पार्टी एकीकरणका काम नै पूरा हुन नसकेर लथालिंग छन्।
पूर्वएमालेकै दुई धार
नेकपामा यति नै बेला प्रधानमन्त्री ओलीले अगाडि सारेको जबजको विषय संयोग मात्र होला त ? नेकपा केन्द्रीय सदस्य एवम् तत्कालीन एमालेका पुराना नेता प्रदीप नेपाल जबजलाई मार्गदर्शक सिद्धान्त मान्नेहरु एकठाउँमा गोलबन्द हुन आवश्यक रहेको बताउँछन्। पार्टी एकीकरण हुँदा ‘जनताको जनवाद’ भनिए पनि माओवादीको ‘एक्काइसौं शताब्दीको जनवाद’ र एमालेले अंगीकार गरेको ‘जनताको बहुदलीय जनवाद’ अहिले पनि कायम रहेको उनको भनाइ छ।
“सिद्धान्तका आधारमा पार्टी एकता हुनुपर्दछ, यो एकता सिद्धान्तको जगविना भएको हो। अहिले पनि पार्टी एकीकरणका काम पूरा भएका छैनन्। हामी जबज छाड्दैनौं, उहाँहरु जो जो आफ्नो मान्यता छाडेर बस्नुहुन्छ बस्नुहुन्छ, बस्नुहुन्न हामीलाई चुँडेर लैजान सक्नुहुन्न।” -प्रदीप नेपाल, केन्द्रीय सदस्य, नेकपा
“सिद्धान्तका आधारमा पार्टी एकता हुनुपर्दछ, यो एकता सिद्धान्तको जगविना भएको हो। अहिले पनि पार्टी एकीकरणका काम पूरा भएका छैनन्,” नेपाल भन्छन्, “हामी जबज छाड्दैनौं, उहाँहरु जो जो आफ्नो मान्यता छाडेर बस्नुहुन्छ बस्नुहुन्छ, बस्नुहुन्न हामीलाई चुँडेर लैजान सक्नुहुन्न।”
केही दिन पहिले प्रधानमन्त्री ओलीका विश्वासपात्र रहेका नेकपा स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, प्रधानमन्त्री ओलीका सल्लाहकारत्रय विष्णु रिमाल, राजन भट्टराई र सूर्य थापाले नेपाललाई भेटेर जबज पक्षधरलाई एकजुट गर्ने पहल गरिदिन आग्रह गरेका थिए। उनीहरुले गरेको यस्तो आग्रहको चुरो चाहिं ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सहकार्यको वातावरण बनाइदिनका लागि थियो। यही भेटघाटपछि नेता प्रदीप नेपाल चर्चामा छन्। प्रम ओलीनिकट नेताहरुले भेटेलगत्तै नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले पनि उनीसँग लामो छलफल गरेका छन्।
पुराना नेता नेपालले जबज नछाड्ने बताउनुको अर्थ हो, नेकपामा पूर्वएमाले पंक्तिलाई एकढिक्का पार्ने प्रयास संयोग मात्र होइन। यद्यपि पूर्वएमालेका वरिष्ठ नेताद्वय नेपाल र झलनाथ खनाल तथा उपाध्यक्ष वामदेव गौतमलगायतले यसका लागि प्रधानमन्त्री ओलीलाई कुनै संकेत दिएका छैनन्। उनीहरु ओलीभन्दा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग नजिक छन्।
“कुरा नमिलेको सिद्धान्तका कारणले नभई स्वेच्छाचारी ढंगबाट अघि बढ्न खोजेर हो। सिद्धान्तको छलफल गर्नुपरे महाधिवेशन छँदैछ, तर महाधिवेशनका लागि गर्नुपर्ने काम केही भएको छैन। त्यसकारण अहिले यो वहस गर्नुको कुनै अर्थ छैन।” -वेदुराम भुसाल, नेकपा स्थायी कमिटी सदस्य
पूर्वएमाले पंक्तिलाई एकठाउँ ल्याउने प्रधानमन्त्री ओलीको प्रयत्न भने सहज देखिंदैन। पूर्वएमालेको एक समूह ओलीले आफू अप्ठेरोमा परेकाले मात्र जबजको पासा फ्याँकेको ठान्छ। नेकपा स्थायी कमिटी सदस्य वेदुराम भुसाल पार्टीभित्रको विवाद कुनै सिद्धान्तका कारण नभएको उल्लेख गर्दै भन्छन्, “कुरा नमिलेको सिद्धान्तका कारणले नभई स्वेच्छाचारी ढंगबाट अघि बढ्न खोजेर हो। सिद्धान्तको छलफल गर्नुपरे महाधिवेशन छँदैछ, तर महाधिवेशनका लागि गर्नुपर्ने काम केही भएको छैन। त्यसकारण अहिले यो बहस गर्नुको कुनै अर्थ छैन।”
जबजमै विद्यावारिधि गरेका भुसाल जबजबाटै आफूहरु यहाँसम्म आएपछि अब यो पुरानो भइसकेको र त्यसमै फर्कनु भनेको पश्चगमन हुने ठान्छन्। “संविधानमा समाजवाद उन्मुख राज्य बनाउने भनेर लेख्ने अनि फेरि पुरानै कुरा गर्ने ? जबजतिर फर्कने कुरा पश्चगामी हो, अब जबजले अघि सारेका नीति तथा कार्यक्रम लागू गर्दै समाजवादको दिशामा अघि बढ्ने हो” उनी भन्छन्, “जबजका राजनीतिक लक्ष्य, राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना भइसक्यो। गणतन्त्र आएपछि लागू गर्ने भनिएका त्यसका आर्थिक, सामाजिक र सांस्कृतिक नीतिहरु अहिलेको सरकारले लागू गर्नुपर्ने हो, त्यो सरकारले नै लागू गरिरहेको छैन।”
‘सिद्धान्तका कुरा महाधिवेशनमा’
"अब हामी पछाडि फर्केर हुँदैन। हामी अगाडि बढिसकेकाले अग्रगामी भएरै सोच्नुपर्छ। पुराना विचारलाई समेटेर अग्रगमनका लागि सोच्नुपर्ने हुन्छ। दुवै सिद्धान्तमा रहेका प्रगतिशील विषयलाई समेटेर सिद्धान्तको बहस अब महाधिवेशनबाट टुंग्याउनुपर्छ।” -मणि थापा, नेकपा स्थायी कमिटी सदस्य
गत वैशाख महीना यता नेकपामा देखिएको विवाद सिद्धान्त भन्दा भागबण्डाबाट सिर्जित देखिन्छ, भलै अहिले यसलाई सिद्धान्तसँग जोड्न खोजिएको किन नहोस्। नेकपाको एउटा पंक्ति भने फरक फरक सिद्धान्त बोकेका दुई पार्टी एक भएकाले बेलाबेलामा समस्या देखिएको बताउँछ। नेता प्रदीप नेपाल सिद्धान्तको जगमा एकता नभएकाले अहिलेसम्म एकता प्रक्रियाले पूर्णता नपाएको उल्लेख गर्दै भन्छन्, “यो झगडा सामान्य हो। तर, कुनै नराम्रो कुराबाट राम्रो परिणाम आउँछ। अब महाधिवेशनमा सिद्धान्तको लडाइँ हुन्छ, जनताको बहुदलीय जनवादले जित्छ, त्यसपछि त काम सकिइहाल्यो नि।”
नेकपा स्थायी कमिटीका सदस्य एवं पूर्वमाओवादीका नेता मणि थापा पनि पार्टी एकताबद्ध हुन निश्चित सिद्धान्त, विचार, संस्कति र संगठनात्मक पद्दति मिल्नुपर्ने बताउँछन्। फरक विचार र संगठनात्मक पद्दतिलाई ख्याल नगरी हतारमा पार्टी एकता गरिएको ठान्ने थापा भन्छन्, “तर अब हामी पछाडि फर्केर हुँदैन। हामी अगाडि बढिसकेकाले अग्रगामी भएरै सोच्नुपर्छ।” पुराना विचारलाई समेटेर अग्रगमनका लागि सोच्नुपर्ने उल्लेख गर्दै थापा भन्छन्, “दुवै सिद्धान्तमा रहेका प्रगतिशील विषयलाई समेटेर सिद्धान्तको बहस अब महाधिवेशनबाट टुंग्याउनुपर्छ।”