मखमलीले छपक्कै गुन्डु (तस्वीरहरु)
तिहार फूलहरुको चाड हो। घर सजाउन तथा गाई पूजा, लक्ष्मी पूजा र गोवर्धन पूजामा फूल चाहिन्छ। नेवार समुदायले गर्ने मःपूजा र भाइटीकामा फूल झनै अनिवार्य छ।
भक्तपुरको गुन्डुकी सरस्वती विष्ट (४०) गएको ६ वर्षदेखि तिहारका लागि मखमली फुलाउँछिन्। उनी मखमलीका माला बेचेर हरेक वर्ष रु.१ लाखसम्म आम्दानी गर्छिन्।
तिहारमा पूजा र मालाका लागि अत्यधिक प्रयोग हुने फूल सत्रपत्री र मखमली हुन्। मःपूजा र भाइटीकामा थरिथरि फूलका माला लगाए पनि मखमलीको माला अनिवार्य जस्तै मानिन्छ। मखमली लामो समयसम्म नओइलिने हुनाले यसलाई महत्व दिइएको हो।
यो वर्ष पनि गुन्डुमा मखमली फुलिसकेको छ। कतिपयले त टिपेर माला बनाउन पनि थालिसकेका छन्। सरस्वती पनि यति वेला फूल टिप्न र माला बनाउन व्यस्त छिन्।
तर, गुन्डुका स्थानीयले अघिल्ला तिहारझैँ यो वर्ष धेरै मखमली रोपेनन्। कोरोनाभाइरस महामारीका कारण मखमली धेरै नरोपिएको सरस्वती बताउँछिन्। थोरै भए पनि मखमलीको सिजन शुरु भइसकेकाले उनी भने व्यस्तै छिन्।