कोरोना हटस्पट बागमती प्रदेश : आइसोलेसन, आईसीयू र भेन्टिलेटर सबै खचाखच
दैनिक पुष्टि हुने कोरोना संक्रमितको संख्यादेखि आईसीयू र भेन्टिलेटरमा उपचार गराइरहेका सिकिस्त बिरामीको संख्या अन्यको तुलनामा वागमती प्रदेशमा करिब दोब्बर देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोनाको सबैभन्दा कम प्रभाव कर्णाली प्रदेशमा परेको छ।
आइतबारको मन्त्रालयको तथ्यांक अनुसार वागमती प्रदेशमा पछिल्लो २४ घण्टामा पुष्टि भएका कोरोना संक्रमितको संख्या पनि अन्य सबै प्रदेशको कुल संख्या भन्दा दोब्बर बढी रहेको देखिन्छ।आइतबार प्रदेश १ मा ३२२ जना, प्रदेश २ मा ४३ जना, गण्डकी प्रदेशमा १४३ जना, लुम्बिनी प्रदेशमा ३८६ जना, कर्णाली प्रदेशमा ५ जना र सुदूरपश्चिम प्रदेशमा ५३ जना गरी कुल ८५२ जना कोरोना संक्रमित भेटिए। तर वागमती प्रदेशमा मात्रै पछिल्लो २४ घण्टामा १९६५ जना कोरोना संक्रमित भेटिए।
त्यस्तै हाल आईसीयू र भेन्टिलेटरमा उपचाररत संक्रमितको अवस्था पनि अन्य प्रदेशको तुलनामा वागमतीमा धेरै देखिन्छ। मन्त्रालयका अनुसार प्रदेश १ को आईसीयूमा ४५ जना र भेन्टिलेटरमा १५ जना उपचाररत छन्। प्रदेश २ मा आईसीयूमा २ जना, भेन्टिलेटरमा ७ जना उपचाररत छन्। गण्डकी प्रदेशको आईसीयूमा ८९ जना र भेन्टिलेटरमा १७ जनाको उपचार भइरहेको छ। लुम्बिनी प्रदेशमा आईसीयूमा ५७ जना र भेन्टिलेटरमा ५ जनाको उपचार भइरहेको छ। त्यस्तै कर्णाली प्रदेशको आईसीयूमा ५ जना र सुदूरपश्चिम प्रदेशको आईसीयूमा १५ जनाको उपचार भइरहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा भेन्टिलेटरमा बिरामी छैनन्। तर वागमती प्रदेशमा भने १८० जना आईसीयूमा र ४१ जना भेन्टिलेटरमा उपचाररत छन्।
साथै होम आइसोलेसनमा बस्ने कोरोना संक्रमितको संख्या पनि वागमती प्रदेशमा अन्य प्रदेशको कुल संख्या भन्दा बढी रहेको छ। हाल होम आइसोलेसनमा प्रदेश १ मा ४५९८ जना, प्रदेश २ मा ९८५ जना, गण्डकी प्रदेशमा १७१० जना, लुम्बिनीमा २०७५ जना, कर्णाली प्रदेशमा ३०७ जना र सुदूरपश्चिम प्रदेशमा ६५४ जना गरी १०३२९ जना संक्रमित छन्। तर वागमती प्रदेशमा भने यसको करिब दोब्बर १८८६८ जना सक्रिय संक्रमित होम आइसोलेसनमा रहेका छन्।