जेलबाट छुट्दैछन् 'बाघ तस्कर' भारतीय बाबरिया, बाघका लागि फेरि चुनौती बन्ने जोखिम
२०७१/७२ सालताका बाघको चोरी शिकारमा संलग्न भारतका बाबरिया समुदायका केही व्यक्ति पक्राउ परेकोमा अदालतबाट न्यूनतम सजाय पाएर छुटिरहेका छन्, उनीहरु फेरि पुरानै काममा सक्रिय हुनसक्ने प्रहरीको आकलन छ।
११ पुस २०७२ मा प्रहरीले सुनसरीको इटहरी- १० बाट बाघको सग्लो छाला र ८० हजार नगदसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गर्यो। भारतको पंचकुला जिल्ला काल्कापोष्ट थाना सुरजपुराका रामदयाल बागडी र श्रवण बागडी भारतमा मारिएको बाघको छाला बेच्न नेपाल आएका थिए। उनीहरूले अदालतमा बयान दिंदा भारतको हिमाञ्चलका सुमन बाबरिया, काला बाबरिया, पिरदास बाबरिया र राजपति बाबरियाले बाघ मारेका र आफूहरू उक्त बाघको छाला र अन्य अङ्गको बिक्री गर्न नेपाल आएको बताए।
सुनसरी जिल्ला अदालतले १९ पुस २०७३ मा यो मुद्दाको फैसला गर्दा उनीहरूलाई पाँच वर्ष कैद र ५० हजार रूपैयाँ जरिवाना हुने फैसला सुनायो। जिल्ला अदालतको फैसलापछि उनीहरूले उच्च अदालत विराटनगरमा पुनरावेदन गरे पनि उच्च अदालतले जिल्लाकै फैसला सदर गर्यो।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ मा गैरकानूनी तरिकाले बाघको आखेटोपहार राख्ने, खरीद-बिक्री गर्ने वा ओसारपसार गर्ने व्यक्तिलाई पाँच लाखदेखि दश लाख रुपैयाँसम्म जरिवाना वा ५ वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ। कानूनमा भएको यस्तो व्यवस्था बमोजिम जिल्ला र उच्च अदालतहरूले बागडीद्वयलाई दिएको पाचँ वर्ष कैद र ५० हजार जरिवानाको सजाय कानूनले तोकेको न्यूनतम सजाय हो।
सुनसरी जिल्ला अदालतका तहसिलदार शम्भु भुजेलका अनुसार, उनीहरू दुवै जनाको सजाय आगामी ११ पुसमा पूरा हुँदैछ। दुई जनामध्ये श्रवणले जरिवाना रकम समेत बुझाइसकेका छन्। त्यसपछि उनीहरू थुनामुक्त हुनेछन्। यी दुई जनाले आफूहरू जुन समूहका लागि काम गर्ने बयान दिएका थिए, ती समूहका कोही पनि व्यक्ति पक्राउ परेनन्।
नेपालमा वन्यजन्तुका कारोबारी, तिनको सञ्जाल र अन्य सम्पर्क सूत्र चिनेको ठानिएका यी व्यक्तिहरू छुटेपछि फेरि पुरानै काममा सक्रिय हुनसक्ने प्रहरीको आकलन छ।
वन्यजन्तु अपराधमा नेपालको कानून पाँच लाखदेखि दश लाख रुपैयाँसम्म जरिवाना वा ५ वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरेको छ। यद्यपि सजाय निर्धारण गर्दा अदालतहरूले प्राय: न्यूनतम कैद तोक्ने गरेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पछिल्लो समय बाघको चोरी शिकार र अवैध व्यापारमा संलग्नताको आरोपमा श्रवण जस्तै १२ जना भारतीयलाई पक्राउ गरेको थियो। उनीहरू सबै जना बाघको चोरी शिकारमा परम्परागत सीप भएका बाबरिया समुदायका हुन्। उनीहरूमध्ये कतिपयले बाघको चोरी शिकार, अवैध व्यापारको रुट र व्यापारी समेत चिनेजानेका र आफ्नै सञ्जाल बनाइसकेका छन्। त्यस्ता व्यक्ति नेपालको कानूनले तोकेको न्यूनतम सजाय पाएर छुट्दा पुन: उनीहरू सक्रिय हुनसक्ने सीआईबीको वाइल्ड लाइफ पिल्लरका एक जना प्रहरी अधिकृत बताउँछन्।
२१ वैशाख २०७२ मा बर्दियाका मगरगढी–४ मा बाघको एउटा छाला र ४७ थान हड्डीसहित पक्राउ परेका रामजस बन्जारा पनि बर्दिया जिल्ला अदालतले तोकेको पाँच वर्ष कैदको न्यूनतम सजाय (जसलाई उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले पनि १६ जेठ २०७४ मा सदर गरेको थियो।) भुक्तान गरेर यसै वर्षको शुरूमा छुटेका छन्।
उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इसलासका सूचना अधिकारी मुन्नासिंह क्षेत्रीले उच्च अदालतले पनि जिल्लाकै फैसला सदर गरेपछि १० वर्ष भन्दा कम सजायमाथि पुनरावेदन नहुने कानूनी व्यवस्थाका कारण कैद भुक्तान गरेर बन्जारा छुटिसकेको जानकारी दिए। प्रहरीले खुंखार तस्कर मानेका उनी विरूद्ध भारतमा समेत विभिन्न मुद्दा रहेको बताएको छ। "हामीकहाँ अरू मुद्दा नभएकाले सजाय भुक्तान गरिसकेपछि समात्न मिलेन, भारतमा उसका विरूद्ध थुप्रै मुद्दा छन्। उता पक्राउ परेन भने फेरि पनि हामीकहाँ सक्रिय हुनसक्ने सम्भावना उत्तिकै छ," सीआईबीका ती प्रहरी अधिकृतले भने।
वन्यजन्तु अपराधमा नेपालको कानून छिमेकी देशहरूभन्दा कडा छ। यद्यपि सजाय निर्धारण गर्दा अदालतहरूले प्राय: न्यूनतम कैद तोक्ने गरेका उदाहरण यी केही मुद्दाले पनि देखाउँछन्।
बढेको चुनौती
१ माघ २०७२ मा भारतको पिलीभीत जिल्ला गाविया ग्रामका दुलाल मण्डल बाघको हड्डी र छाला तथा दुई थान पेस्तोलसहित कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका- ५ स्थित नेपाल-भारत सीमा क्षेत्रबाट पक्राउ परेका थिए। उनले आफूसँगै भारत पिलीभीतकै राकेश, गौतम मजुम्दार र गोपाल भन्ने व्यक्ति समेत संलग्न भएर बाघका अंग ओसारपसार गरेको बयान पनि दिए। तर, अन्य व्यक्ति पक्राउ पर्न सकेनन्। जिल्ला अदालत कञ्चनपुरले २१ भदौ २०७३ मा मण्डललाई पाँच वर्ष कैद र एक लाख जरिवानाको फैसला सुनायो। उक्त कैद सजाय भुक्तान गरेर मण्डल आगामी पुस अन्तिममा छुट्दैछन्।
भारतको उत्तर प्रदेशस्थित लखिमपुर जिल्ला, खिरी ग्राम, सम्पूर्णनगर थाना मिलनबराजका लम्बु भनिने फरियाद नाम गरेका व्यक्ति उत्तर प्रदेशस्थित पिलीभीत टाइगर्स रिजर्व तथा पश्चिम नेपालका शुक्लाफाँटा वन्यजन्तु आरक्ष, बर्दिया राष्ट्रिय निकुञ्च र बाँके राष्ट्रिक्ष निकुञ्जसम्मको क्षेत्रमा वन्यजन्तु खासगरी बाघका अंगको अवैध व्यापारमा सक्रिय रहेको सूचना प्रहरीले पाएको थियो। उनको व्यापारबारे सुराक पाएको सीआईबीले १६ फागुन २०७१ मा कञ्चनपुरको पुनर्वास नगरपालिकाका रामबहादुर रोकाय, सोही ठाउँका खड्कबहादुर खड्का र भारतको लखिमपुर जिल्लाको सम्पूर्णनगर थाना रानीनगर मिलनबजार बस्ने वंशबहादुर रानालाई पक्राउ गर्यो। प्रहरीको यो 'सिजर्स' मा पिन्टु मौर्य, प्रेम भारती र तिनै लम्बु भनिने फरियाद फुत्किन सफल भए।
“जेलबाट छुटेपछि पुनः पुरानै अपराधमा सक्रिय हुने प्रवृत्ति अन्य अपराधमा पनि देखिन्छ। बाघको चोरी शिकार र अंग व्यापारमा संलग्न भएका व्यक्तिहरु नेपालको जंगल, रुट र यहाँको सञ्जालबारे पनि जानकार हुने भएकाले उनीहरु फेरि सक्रिय हुने सम्भावना छ।” राजकुमार राई, डीएसपी, सीआईबी
पक्राउ परेका दुई नेपालीले आफूहरूलाई भारतीय नागरिक वंशबहादुर रानाले पारिश्रमिक दिने भनेर लोभ्याएपछि भरियाको काम गरेको बताए। रानाले आफूले फरियादका लागि काम गर्ने गरेको बयान दिए। फरियादको सञ्जालका व्यक्ति समातिए पनि फरियाद भने उम्किन सफल भए। यो सहित कैलाली र कञ्चनपुर जिल्ला अदालतमा चलेका थप दुई मुद्दामा फरियादको नाम मुछिएको छ।
यो मुद्दामा आरोपितहरूबाट प्रहरीले बाघको छाला र हड्डीहरू पनि बरामद गरेको थियो। तर, ती सबै नेपाली जंगलमा मारिएको बाघका अंग हुन् भन्ने पुष्टि नभएपछि उनीहरुलाई नेपालमा प्रतिबन्धित वन्यजन्तुको अवैध व्यापार र ओसारपसारमा संलग्न भएको कसूरमा मुद्दा चलाइयो। २९ भदौ २०७३ मा कञ्चनपुर जिल्ला अदालतले तीनै जनालाई पाँच वर्ष कैद र ५० हजार जरिवानाको सजाय सुनायो। १५ फागुन २०७१ मै पक्राउ परेका उनीहरू सजाय भुक्तान गरेर सात महीना अघि रिहा भइसकेका छन्।
अदालतले यसरी न्यूनतम सजायमा छाड्दा भारतीय शिकारी र अवैध कारोबार गर्ने सञ्जालका सदस्यहरू फेरि उसैगरी नेपालमा संलग्न हुनसक्नेछन्।
सीआईबीको वाइल्डलाइफ पिल्लर प्रमुख रहेका प्रहरी नायव उपरीक्षक (डीएसपी) राजकुमार राई धमाधम छुट्दै गरेका व्यक्तिहरु नेपाली वन्यजन्तुको चोरी शिकार र अवैध व्यापारमा संलग्न हुनसक्ने चुनौती देखिएको बताउँछन्। “जेलबाट छुटेपछि पुनः पुरानै अपराधमा सक्रिय हुने प्रवृत्ति अन्य अपराधमा पनि देखिन्छ”, डीएसपी राई भन्छन्, “बाघको चोरी शिकार र अंग व्यापारमा संलग्न भएका व्यक्तिहरु नेपालको जंगल, रुट र यहाँको सञ्जालबारे पनि जानकार हुने भएकाले उनीहरु फेरि सक्रिय हुने सम्भावना छ।”
नेपालका अदालतहरूबाट भइरहेका फैसलाहरू हेर्दा न्यायाधीशले अपराधको गम्भीरता, उक्त अपराधमा नेपाल र भारतका व्यक्तिहरूको संगठित रूपमा भइरहेको संलग्नता तथा न्यूनतम मात्र सजाय गर्दा उनीहरू छिटै कारागारमुक्त भएर फेरि अपराधमा सक्रिय हुनसक्ने सम्भावनाप्रति खासै ध्यान पुर्याएको देखिंदैन। अधिकांश फैसलाहरूमा कानूनले तोकेकोमध्ये न्यूनतम पाँच वर्ष कैद र जरिवाना गरिरहेको देखिन्छ।
नेपालकै वनमा दुई वटा बाघ मारेको पुष्टि भएको एउटा घटनामा भने जिल्ला अदालत कैलालीले अधिकतम १५ वर्षसम्म कैद गरेको थियो। यद्यपि त्यसलाई पछि उच्च अदालत दिपायलले घटाइदियो।
भारतमा मारिएका बाघको अंग नेपाल ल्याइपुर्याउन मात्रै होइन, यहाँकै जंगलमा शिकार गर्न समेत संलग्न भएका बाबरियाहरूलाई पक्राउ गर्न प्रहरीले २०७२ माघमा सफलता पाएको थियो। २७ माघमा कैलालीको पहलमानपुरबाट प्रहरीले ६ जना भारतीय रामु बाबरिया, श्रवण बाबरिया, कमल बाबरिया, अनारकली बाबरिया, जगदीशचन्द्र बाबरिया र रामपाल बाबरिया र दुई जना नेपाली लालबोजी–१ कैलालीका दुःखीराम चौधरी र पहलमानपुर–६ का अगानु चौधरीलाई पक्राउ गरेको थियो।
चोरी शिकारमा पारंगत उनीहरू अवैध व्यापारको रुटबारे जानकार भएका, नेपालका व्यापारी पनि चिनेका थिए भन्ने प्रहरी दावी थियो। उनीहरूबाट प्रहरीले दुई वटा बाघको सिंगो छाला र करीब ४० किलो हड्डी बरामद गरेको थियो। साथै, कैलालीको पथरैथा गाविस- ८ स्थित छतिवन सामुदायिक वनमा लुकाइराखेका बाघ मार्न प्रयोग गरिएका फलामे पासो, भाला, चक्कु लगायत सामग्री पनि बरामद भएको थियो।
नेपालका अदालतहरूबाट भइरहेका फैसलाहरू हेर्दा न्यायाधीशले अपराधको गम्भीरता, उक्त अपराधमा नेपाल र भारतका व्यक्तिहरूको संगठित रूपमा भइरहेको संलग्नता तथा कानूनले तोकेको न्यूनतम मात्र सजाय गर्दा उनीहरू छिटै कारागारमुक्त भएर फेरि अपराधमा सक्रिय हुनसक्ने जस्ता अवस्थाप्रति खासै ध्यान पुर्याएको देखिंदैन।
पक्राउ परेका दुई नेपाली र श्रवणकुमार बाबरियाले ती दुवै बाघ त्यसै वर्षको पुसको अन्तिममा छतिवन जंगलमा पासो थापेर मारेको बयान प्रहरी, तथा अदालतमा दिए। यसअघिसम्म भारतका जंगलमा बाघ मारेर बेच्न मात्र नेपाल ल्याइपुर्याएको ठानिएका बाबरियाहरू नेपाली शिकारीसँग मिलेर नेपालकै जंगलमा सक्रिय भएको यही घटनाले पुष्टि गरेको थियो। अदालतले संलग्नमध्ये रामु बाबरिया, कमल बाबरिया, अनारकली बाबरिया, जगदीशचन्द्र बाबरिया र रामपाल बाबरियालाई एक लाख धरौटीमा छाड्न आदेश दियो। उनीहरू तत्कालै धरौटी रकम बुझाएर भारत पुगे।
पछि २६ जेठ २०७३ मा फैसला गर्दा जिल्ला अदालतले श्रवण बाबरिया, दुःखीराम चौधरी र अगानु चौधरीलाई १५/१५ वर्ष कैद सजाय हुने फैसला गर्यो भने धरौटीमा छाडेका बाँकी पाँच जनालाई पनि ओसारपोसारमा संलग्न भएको भन्दै पाँच वर्ष कैद र ५० हजार जरिवाना हुने ठहर्यायो। तर, मुद्दा सुनुवाइको कुनै पनि प्रक्रियामा उपस्थित नभई तारेख गुजारेर बसेका उनीहरू फैसलापछि पनि कैद भुक्तान गर्न आउने सम्भावनै थिए। १५ वर्ष कैद सजाय भएका तीनै जना छुट्न पाउनुपर्ने माग गर्दै पुनरावेदन अदालत दिपायल पुगे।
दिपायलका न्यायाधीशहरु दुर्गाबहादुर विश्वकर्मा र श्रीकान्त पौडेलले १५ फागुन २०७४ मा अपराधमा संलग्न व्यक्तिले कसूर स्वीकार गरेर न्यायिक कार्यमा सहयोग गरेको, बाघ मार्न अन्य आधुनिक हतियारको प्रयोग नगरी घरेलु हतियारको प्रयोग गरेको साथै उनीहरु पेशेवर अपराधी पनि नभएको भन्दै सजाय १० वर्षमा घटाइदिए।
उच्च अदालत दिपायलका अधिकृत चेतबहादुर बोहराका अनुसार, उच्च अदालतको उक्त फैसला पनि चित्त नबुझाएर तीनै जना सर्वोच्च अदालत आइपुगेका छन्।
सीआईबीको वाइल्डलाइफ पिल्लर प्रमुख, डीएसपी राई सजाय पूरा गरी छुट्दै गरेका व्यक्तिहरुबारे नियमित निगरानी गर्ने, उनीहरुका गतिविधिमाथि सूचना संकलन गरिरहने र थप अपराध रोक्न आफूहरु केन्द्रित हुने बताउँछन्। “उनीहरु कुन समूहका व्यक्तिहरु हुन्, उक्त समूहको अहिलेको सक्रियता कस्तो छ भन्नेबारे भारतीय एजेन्सीहरुसँग पनि समन्वय गरेर सूचना संकलन गर्ने काम गरिरहेका छौं", उनी भन्छन्।