समन्वयको तागतबाट वडा हाँक्दै बिन्दा
उपत्यकाभित्रको तारकेश्वर नगरपालिका वडा नम्बर ११ की वडाध्यक्ष बिन्दा बुढाथोकी जनप्रतिनिधिसँग समन्वय र वडावासीको सुझावबाट आफ्नो क्षेत्रमा सुधारको काम गरिरहेकी छिन्।
काठमाडौं उपत्यकाका तीन जिल्लामा २१ स्थानीय तह छन्, जहाँका २४७ वडाध्यक्षमध्ये काठमाडौं महानगरपालिका–१४ र तारकेश्वर नगरपालिका–११ लाई महिलाले हाँकिरहेका छन्। तारकेश्वर नगरपालिका ११ की वडाध्यक्ष हुन्, बिन्दा बुढाथोकी।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा बुढाथोकीले वडाध्यक्ष होइन, उपमेयर उठ्ने तयारी गरेकी थिइन्। तत्कालीन नेकपा एमालेमा दुई पटक जिल्ला कमिटी सदस्य भइसकेकी उनी उपमेयरको उम्मेदवार बन्न योग्य थिइन्।
तर, संयोग कस्तो पर्यो भने, पार्टीले मेयरको उम्मेदवार तय गर्दा उनकै वडाका रामेश्वर बोहोरा परे। एकै वडाबाट मेयर र उपमेयरको उम्मेदवार बन्न नमिल्ने भएपछि उनी पछि हटिन्। आफ्नो आकांक्षा र तयारीमा तगारो लागेपछि उनले चुनावमा कुनै पनि पदमा नउठ्ने सोच बनाएकी थिइन्। “तर वडाको भए पनि नेतृत्व गर्नुपर्छ भन्ने धेरै भए, यसो सोच्दा त्यही ठाउँमा त काम गर्ने हो भनेर उम्मेदवारी दिएँ, र जितें पनि”, उनी भन्छिन्।
“जनप्रतिनिधि नहुँदा पनि वडाका महिला दिदीबहिनीहरुसँग काम गर्थें, विकास निर्माणलगायत कामहरुमा कुनै न कुनै हिसाबले संलग्नता हुन्थ्यो, काम नै गर्ने हो भनेर वडावासीको आग्रहमा यो पद स्वीकारेकी हुँ।”
उनको यो क्षेत्र पहिले मनमैजु गाविस थियो। २०४० सालमा बिहे गरेर उनी त्यहाँ आएकी हुन्। घरव्यवहारको कामसँगै सामाजिक काम पनि गर्न थालिन्। अन्ततः त्यही सामाजिक कामले उनलाई राजनीतिको मैदानमा पुर्यायो। उनले राजनीति गर्न पार्टी सदस्यता लिएकी थिइनन्। समाजमा खासगरी महिलाका समस्या बुझेर तिनका लागि सरसहयोग गर्दैगर्दा राजनीति भएको उनलाई विगत सम्झिंदा लाग्छ।
“जनप्रतिनिधि नहुँदा पनि वडाका महिला दिदीबहिनीहरुसँग काम गर्थें, विकास निर्माणलगायत कामहरुमा कुनै न कुनै हिसाबले संलग्नता हुन्थ्यो” उनी भन्छिन्, “काम नै गर्ने हो भनेर वडावासीको आग्रहमा यो पद स्वीकारेकी हुँ।” सबैको साथ सहयोग पाएकोमा उनी खुशी छिन्।
२०५४ सालमा उनी तत्कालीन मनमैजु गाविसको वडा नम्बर ९ वडा सदस्य थिइन्। त्यसबेला गरेको कामले वडाभरि चिनिएको र त्यसबाट गत स्थानीय तहको चुनावमा झनै सजिलो भएको उनको अनुभव छ।
जनप्रतिनिधिबीच बलियो समन्वय
वडामा वडाध्यक्ष बाहेक चार जना वडा सदस्य छन्। दुई जना खुलाबाट सदस्य, एक जना महिला सदस्य र आरक्षण कोटाबाट एक जना दलित महिला सदस्य पद रहने व्यवस्था कानूनले गरेको छ। दुई वटा आरक्षण कोटा बाहेक पनि खुला सदस्यमा एकजना महिला नै निर्वाचित भएका कारण वडा सदस्यमा तीन जना महिला (नीता खड्का, सम्झना परियार र सीता घले) छन् भने एक जना पुरुष (प्रज्वल विक्रम थापा) छन्।
वडामा रहेको पाँच जनाको टोलीमा चार महिला रहनुलाई उनले आफ्नो वडाका महिला सशक्त छन् भन्ने उदाहरणको रुपमा हेरेकी छिन्। हुन पनि, देशभरका स्थानीय तहमा हेर्ने हो भने वडामा वडाध्यक्ष र खुला वडा सदस्यमा निर्वाचित हुने महिला एकदमै न्यून छन्।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले वडामा भएका वडा सदस्यहरुसँग समन्वय गर्ने र उनीहरुलाई कामको बाँडफाँड गर्ने काम वडाध्यक्षको भनेर तोकेको छ। तर, यसमा वडा सदस्यहरूसँगको समन्वयमा धेरै वडाध्यक्षहरु चुकेको देखिन्छ। धेरै वडामा वडा सदस्यहरु कामविहीन भएको समाचार बन्ने गरेको छ। बैठकमा सहभागी भएर भत्ता खाएर मात्र बस्ने गरेको आरोप पनि उनीहरूमाथि लाग्छ।
तर तारकेश्वर नगरपालिकाको ११ नम्बर वडामा सबै सदस्यको आआफ्ना जिम्मेवारी छन्। वडाध्यक्ष बुढाथोकी पहिलो बैठकबाटै सबैले गर्ने कामको माइन्युट नै गराएको बताउँछिन्। “वडा सदस्यहरूले आफ्नो क्षेत्रको सम्पूर्ण जिम्मेवारी लिनुपर्ने गरी काम बाँडफाँड गरिएको छ”, उनी भन्छिन्।
वडाका सबै जनप्रतिनिधि नियमित रुपमा कार्यालय आउने गरेको र तोकिएको जिम्मेवारी अनुसार स्वाभाविक प्रक्रियाले काम भइरहने गरेको उनी बताउँछिन्। “म आफैं कोरोना संक्रमित भएर झण्डै एक महीनापछि कार्यालयमा आउन थालेको ५/६ दिन भयो, महामारीको वेला यति लामो समय वडाध्यक्ष नहुँदा पनि वडाको काम नियमित भइरह्यो” उनी भन्छिन्, “सेवाग्राहीको पनि कुनै गुनासो छैन।”
झण्डै तीन वर्षको उनको अनुभवमा सामूहिक रुपमा काम भइरहेकाले जनप्रतिनिधिबाट गुनासो र वडावासीबाट आलोचना सुन्नुपरेको छैन। उनी सुनाउँछिन्, “शुरुदेखि नै काम गर्नु अगाडि वडा सदस्यहरूसँग सल्लाह गर्ने गरेकी छु, त्यसैले होला मलाई चारै जना सदस्यले असाध्यै सघाउनुभएको छ। वडावासीबाट पनि कुनै काममा विरोध र असन्तुष्टि आएको छैन।”
स्वरोजगारका तालिमदेखि महिला समूह परिचालनसम्म
वडामा निर्वाचित हुने बित्तिकै बुढाथोकीले घरबाट निस्किने फोहोरलाई घरमै व्यवस्थापन गर्नुपर्छ भनेर करीब तीन सय जनालाई छोटो तालिम दिइन्। अहिले ती सबैले घरको फोहाेर आफैं व्यवस्थापन गर्छन्।
यस्तै, उनले वडाभरिका महिला समूहहरुको छाता संगठन बनाइन्। त्यसका लागि उनले वडाभरि रहेका २२ वटा महिला समूहको भेला बोलाएकी थिइन्। हरेक समूहबाट दुई–दुई जना राखेर छाता संगठन बनाएको उनी बताउँछिन्। “महिलाकै लागि काम गर्ने यी समूहमध्ये एउटालाई बजेट दियो भने अर्कोलाई पुग्दैन, त्यसैले छाता संगठनलाई बजेट दिने र आ–आफ्नो समूह परिचालित भएर काम गर्ने गरिएको छ”, उनी भन्छिन्।
कोरोनाभाइरस संक्रमण फैलिएपछि पनि त्यही छाता समूहले आफ्नै पहलमा राहत बाँडेको थियो। वडाले बाँड्ने राहत र कोरोना विरुद्धको जनचेतनाको लागि पनि टोलटोलमा माइकिङ गरेर पनि त्यो समूह हिंडेको थियो।
ती समूहसँग मिलेर वडाले महिलाहरुका लागि सिलाइकटाइ, घरको फोहोर व्यवस्थापन लगायत स्वरोजगार तथा क्षमता अभिवृद्धि सम्बन्धी तालिमहरु दिने गरेको छ। कानूनी शिक्षा सम्बन्धी तालिम र उद्घोषण तालिम दिइएको वडाध्यक्ष बताउँछिन्। उनी भन्छिन्, “वडाका महिलाहरु अहिले विकास निर्माणका काममा चासो देखाउने मात्रै होइन, आफैं सहभागी पनि हुनुहुन्छ, हरेक उपभोक्ता समितिहरुमा महिलाहरु एकदमै सक्रिय हुनुहुन्छ।”
वडाले युवा पुस्तालाई पनि स्वरोजगार बन्न सहयोग पुग्ने तालिम दिएको थियो। एसईई, कक्षा ११ र १२ को परीक्षा सकेर बसेकाहरुलाई पनि वडाले कफी बनाउने यस्तो तालिम दिंदै आएको छ। उनले भनिन्, “भाइबहिनीहरुका लागि यो एकदमै आवश्यक तालिम रहेछ, तालिमपछि काठमाडौंमै कफी सप चलाएर बस्न पनि मिल्ने र विदेश जानेहरुका लागि पनि फाइदा रहेछ।”
वडामा अहिले खेल मैदान र पार्क बनाइँदैछ। कोरोना संक्रमितहरुलाई पोषणतत्व जरुरी भएकाले होम आइसोलेसनमा बस्नेलाई वडाले नै एकमुष्ट रु.५००० दिने गरेको छ। होम आइसोलेसनमा बस्नेहरुको निगरानी राख्ने गरेको उनी बताउँछिन्।
“वडाको विकासका लागि वडावासीकै सुझाव अनुसार योजना बनाएर काम गरिरहेका छौं, यसैले पाँचवर्षे कार्यकालको बाँकी समय पनि राम्रो गर्नेछु भन्ने विश्वास र प्रतिबद्धता छ।”
महामारीबाट बच्न वडाले हप्तौंंसम्म टोलटोलमा स्वास्थ्य मापदण्डबारे वडावासीलाई सिकाएको थियो। तर, सबै जना सतर्क नहुँदा पछिल्लो समय उपत्यकाभित्र संक्रमितको संख्या बढ्दै गएको उनको बुझाइ छ। “कोरोना विरुद्ध मान्छे स्वयंमा चेतना आउनुपर्ने रहेछ”, उनी भन्छिन्।
वडाको काममा गुनासो नआउने गरी काम गरिरहेको उनी बताउँछिन्। काममा अहिलेसम्म कुनै हिनामिना नभएकोले वडावासीबाट पनि साथ र विश्वास पाइरहेको उनको भनाइ छ।
“वडाको विकासका लागि वडावासीकै सुझाव अनुसार योजना बनाएर काम गरिरहेका छौं, यसैले पाँचवर्षे कार्यकालको बाँकी समय पनि राम्रो गर्नेछु भन्ने विश्वास र प्रतिबद्धता छ”, उनी भन्छिन्।