‘खटाएको ठाउँमा नजाने कर्मचारीलाई कारबाही’
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीलाई कारबाही गरिने चेतावनी दिएका छन् ।
जिल्ला समन्वय समिति कैलालीले बिहीबार आयोजना गरेको स्वागत तथा अन्तर्क्रिया कार्यक्रममा उनले राष्ट्रसेवक भइसकेपछि सरकारले खटाएको ठाउँमा जान नमान्नेलाई कारबाही गरिने बताए ।
राष्ट्रको सेवा गर्न भनी शपथ खाएर आएका कर्मचारीले सरकारले खटाएको ठाउँमा जानैपर्ने भन्दै उनले कर्मचारीले गैरजिम्मेवार बन्न नहुनेमा जोड दिए ।
उनले कसैलाई समायोजनमा चित्त नबुझेको भए उजुरी गर्न पाइने व्यवस्था रहेको उल्लेख गर्दै भने, “गुनासो सुनुवाइ समिति छ, जायज गुनासोमा सम्बोधन हुन्छ ।”
कर्मचारी समायोजनका कारण तीनवटै तहका सरकारका काममा केही अप्ठेरो परिरहेको जानकारी गराउँदै उनले एकअर्काको मर्म बुझेर अघि बढ्न जरुरी रहेको बताए ।
उनले समायोजनको काम नसकिएसम्म भर्ना खोल्ने बाटो नखुल्ने भएकाले असारसम्म टुंग्याउन जरुरी रहेको उल्लेख गरे ।
मन्त्री पण्डितलाई कैलालीका स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूले कामको चटारोको बेला कर्मचारी सरुवाले बजेट कार्यान्वयनमा बाधा पुगेको
गुनासो गरेका थिए ।
यसैगरी बिहीबार बिहान जिल्ला प्रशासन कार्यालयमा भएको एक कार्यक्रममा मन्त्री पण्डितले कैलालीका कार्यालय प्रमुखहरूलाई प्रभावकारी रूपमा काम गर्न निर्देशन दिए ।