नेपालगञ्ज म्याराथनको छैटौं संस्करण मंसिर पहिलो साता
नेपालगञ्ज म्याराथनको छैटौं संस्करण आउँदो मंसिर पहिलो साता हुने भएको छ। आयोजक क्रियटिभ ह्यान्ड्सका अनुसार ६ मंसिरमा म्याराथन हुनेछ। सरकार र सशस्त्र द्वन्द्वरत तत्कालीन माओवादीका बीचमा ५ मंसिर २०६३ मा भएको विस्तृत शान्ति सम्झौताको स्मरण गर्दै हरेक वर्ष नेपालगञ्ज म्याराथन हुँदै आएको छ।
नेपाल एथ्लेटिक्स संघबाट मान्यताप्राप्त नेपालगञ्ज म्याराथन आयोजनाका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट स्वीकृति प्राप्त भइसकेको नेपालगञ्ज म्याराथनका अध्यक्ष टीएस ठकुरीले बताएका छन्। नेपाल ओलम्पिक कमिटी (एनओसी) ले नेपालगञ्ज म्याराथनलाई ओलम्पिक छनोटका रूपमा समेत लिएको ठकुरीले बताएका छन्।
पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र नेपालगञ्ज जातीय, धार्मिक तथा साम्प्रदायिक विविधता भएर पनि एकताको सुत्रमा बाँधिएको सद्भावको शहर मानिन्छ। सामाजिक एकताको प्रतिक खेलकुदमार्फत् शहरलाई चिनाउने उद्देश्य रहेको ठकुरीले बताए।
नेपालगञ्ज म्याराथन कोहलपुर र नेपालगञ्जलाई जोड्ने एउटा शसक्त माध्यम बनेको उनी बताउँछन्।
कोरोना महामारीले ठूलो जमघट गर्न उपयुक्त नभएका कारण यसपटक विगतको भन्दा म्याराथनमा समावेश इभेन्ट भने घटाइएको छ। पुरुष खुल्लातर्फ म्याराथन, महिलाको हाफम्याराथन र ३ किलोमिटरको कर्पोरेट रन मात्रै समावेश गरिएको अध्यक्ष ठकुरीले बताएका छन्।
नेपालगञ्ज उपमहानगरपालिका नजिक बीपीचोकदेखि शुरू भइ कोहलपुर चौराहदेखि उत्तरतर्फ पुगी सोही रुट हुँदै पुनः बीपीचोकमा पुरा हुने म्याराथनमा राष्ट्रियस्तरका धावकहरू सहभागी हुनेछन्। म्याराथनमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका खेलाडीहरूले भाग लिँदै आएका छन्।
नेपालगञ्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ, दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लाका दुर्ग बुढा, चौथो संस्करणमा नेपाल पुलिस क्लबका भुमिराज राई र पाँचौंमा सेनाका नवराज साउद विजेता भएका थिए।
त्यस्तै, महिला हाफम्याराथनमा नेपालकी नम्बर एक धाविका कान्छीमाया कोजु दुई संस्करणमा विजेता भइसकेकी छिन्। गत संस्करणमा सेनाकी पूर्णलक्ष्मी न्यौपानेले जितेकी थिइन्।