यो साता विदेशमा ५४४ नेपालीलाई कोरोना संक्रमण, एक जनाको निधन
कोरोना भाइरसको विश्वव्यापी दोस्रो छाल शुरू भएयता थप दुई देशका नेपालीमा सङ्क्रमण देखिएको छ। गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता अष्ट्रिया र चेक रिपब्लिकमा रहेका नेपालीमा सङ्क्रमण देखिएको हो। सङ्घका अनुसार विश्वभर ४४ देशमा रहेका नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ।
गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका अनुसार, यो साता विदेशमा रहेका थप एक हजार १६३ जना नेपालीलाई कोरोनामुक्त भएका छन् भने थप ५४४ जनामा सङ्क्रमण देखिएको छ।
समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार, विदेशमा ४४ हजार ११३ जना नेपाली कोरोना भाइरसको सङ्क्रमणमा परेका छन्। तीमध्ये ४० हजार ७२८ जना अर्थात् ९२ प्रतिशत नेपाली कोरोनामुक्त भएका छन्। यो साता स्पेन, नेदरल्यान्ड, चेक रिपब्लिक, डेनमार्क, अष्ट्रिया रहेका नेपालीमा थप कोरोना भाइरसको सङ्क्रमण देखिएको छ।
सङ्घका अनुसार, यो साता साउदी अरबमा थप एकजना नेपालीको कोरोना भाइरसका कारण ज्यान गुमाउनु परेको छ। सङ्घका अनुसार, विदेशमा १८ देशमा २८५ जना नेपालीले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाइसकेका छन्।