नेपाली पर्वतारोहीलाई रू. ३१ लाखको बीमा अनिवार्य, बीमा नगरी आरोहणमा जान नपाइने
पर्वतारोहणमा जाने नेपाली पर्वतारोहीले समेत करीब रू. ३१ लाखको बीमा अनिवार्य गर्नुपर्ने भएको छ। नेपालीसँगै नेपालमा पर्वतारोहणका लागि आउने विदेशी पर्यटकले पनि सोही रकम बराबरको बीमा अनिवार्य गरेर मत्रै पर्वतारोहणमा पठाउन नेपाल पर्वतारोहण संघले आग्रह गर्दै सार्वजनिक सूचना जारी गरेको छ।
नेपाल पर्वतारोहण संघले आफ्ना मातहतमा रहेका विभिन्न २७ वटा हिमाल आरोहण गर्न उक्त रकम बराबरको बीमा अनिवार्य गर्न र सोही अनुसारको कागजात पेश गर्न सम्बन्धित नेपाली आरोहण तथा पर्वतारोहण पथ प्रदर्शकलाई आग्रह गरेको छ।
नेपाल पर्वतारोहण संघ (एनएमए)ले नेपाल सरकारबाट हिमाल आरोहण गर्न जाने नेपाली आरोही तथा पर्वतारोहण प्रथ प्रदर्शकले रू.१५ लाखको अनिवार्य दुर्घटना बीमा गराउनुपर्ने व्यवस्थालाई कार्यान्वयन गराउन संघले सम्बन्धित आरोहीको जानकारीका लागि सूचना जारी गरेको छ।
संघ अन्तर्गतका हिमाल आरोहण गर्न अनुमति माग्ने सबैले सरकारले तोकेअनुसारको दुर्घटना बीमा बाहेक थप रू.४ लाखको औषधिउपचार बीमा र १० हजार डलर (करीब रू.११ लाख ९३ हजार)को हेलिकप्टर उद्धार बीमा गर्नुपर्ने छ।
हेलि उद्धारको बीमाका लागि सम्बन्धित कम्पनीबाट प्रतिवद्धतासहितको पत्र पेश गरेर पर्वतारोणमा जान सकिने व्यवस्था गरिएकोले सोही अनुसारको सूचना जारी गरिएको एनएमएका महासचिव कुलबहादुर गुरुङले जानकारी दिएका छन्।