नेपाली सेनाका २१३ जना शान्ति सैनिक दक्षिण सुडान प्रस्थान
संयुक्त राष्ट्रसंघको शान्ति स्थापना कार्य अन्तर्गत दक्षिण सुडानमा तैनाथ राष्ट्रसंघीय मिसन (अनमिस)मा खटिने २१३ जना नेपाली सैनिकको टोली आइतबार त्यसतर्फ प्रस्थान गरेको छ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार यो टोलीले दक्षिण सुडानमा तैनाथ नेपाली सेनाको तारादल गण शान्ति सेना छैठौं डफ्फालाई बदली गर्नेछ।
टोलीमा प्रमुख सेनानी सुशील प्याकुरेलको कमाण्डमा २१३ जना नेपाली शान्ति सैनिक रहेको निर्देशनालयले जनाएको छ। यो टोली पुगेपछि दक्षिण सुडानमा तैनाथ सेनानी दिपक अर्याल नेतृत्वका २११ जना सैनिक सोमबार नेपाल फर्कनेछन्।
सेनाले कोभिड महामारीका बाबजुद शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीतिअनुरूप गरिएको यो अदली-बदलीमा पूर्ण सुरक्षा सतर्कता अपनाइएको जनाएको छ।