कोरोनाको मार : पर्यटकीय सिजनमा पनि तंग्रिएनन् वायुसेवा
कोरोनाका कारण पर्यटक आगमन नहुँदा सिजनमै वायुसेवाका उडान खुम्चिएका छन्। अन्तर्राष्ट्रिय उडानका वायुसेवालाई पर्यटक ल्याउन र आन्तरिक उडानलाई देशभित्रकै विभिन्न गन्तव्यमा पुर्याउन भ्याईनभ्याई हुने बेला वायुसेवा सुस्ताएर बस्नुपरेको छ। जसको असर सिंगो पर्यटन क्षेत्रमा परेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडान वायुसेवा कम्पनीले क्षमताभन्दा निकै कम संख्यामा गरिरहेका छन्। पर्यटक आगमन नभएकोले यात्रुको चाप पनि कम हुँदा जहाजको दैनिक उडानका गतिविधि पनि न्यून छन्। त्रिभुवन विमानस्थलबाट नियमित उडानका ३० विदेशी वायुसेवाले दैनिक ५० देखि ६० वटा उडान गर्ने गरेकोमा कोभिडका कारण हाल दैनिक २० देखि २२ वटा मात्रै उडान हुने गरेको विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले बताए।
नेपालमा आउने विदेशी वायुसेवामा हाल कतार एअरवेज, फ्लाई दुबई, एअर अरेवियाको मात्रै दैनिक दुई/दुई वटा उडान नियमित छन्। मलिन्दो, सिंगापुर, कोरियनसहितका वायुसेवाका सातामा एक/दुई उडान मात्रै हुने गरेका छन्। अन्य विदेशी वायुसेवाले पनि आवश्यकता अनुसार कहिलेकाहीँ मात्रै उडान गर्छन्। विदेशी वायुसेवाले यात्रु नपाउने, पूर्ण क्षमतामा यात्रु नहुने हुँदा तय भएको उडानलाई पनि पछाडि धकेल्ने गरेर उडान भइरहेको विमानस्थल कार्यालयले जानकारी दिएको छ।
कोभिडकै असरका कारण अन्तर्राष्ट्रिय गन्तव्य बन्द भएका, पर्यटकको चहलपहल नभएको र नेपालबाट बाहिर जाने यात्रु कम हुँदा केही श्रम गन्तव्यबाट नेपाल आउने यात्रुमात्रै हुने गरेका छन। अन्य गन्तव्यबाट आउने र नेपालबाट पनि जाने यात्रु कम हुँदा अन्तर्राष्ट्रिय वायुसेवा उडेको देखिएपनि क्षमताभन्दा कममा मात्रै हुने उडान गरेको विमानस्थलका प्रवक्ता कर्ण बताउँछन्। यात्रु कम भएकैले विदेशी वायुसेवाले नेपाल उडान कटौती गर्दै गएका छन्। विमानस्थलमा चाप सामान्य अवस्थाको तुलनामा निकै कम छ।
विमानस्थल कार्यालयका अनुसार आन्तरिक वायुसेवाले सस्तो टिकट दिएर यात्रु आकर्षित गरिरहेकोले अन्तर्राष्ट्रियको तुलनामा आन्तरिक उडानको चाप सन्तोषजनक छ।
नेपालबाट उडान गर्ने दुई वायुसेवा हिमालय एअरलाइन्स र नेपाल वायुसेवा निगमले भने नियमित उडान गरिरहेका छन्। यी दुई वायुसेवाले भारत र थाइल्याण्डबाहेकका उडान गन्तव्यमा नियमित उडान गरिरहेका छन्। थाइल्याण्ड र भारतको अन्तर्राष्ट्रिय उडान खुला नभएकोले ती गन्तव्यबाहेक अन्यमा भने नियमित उडान भइरहेका नेपाल वायुसेवा निगमका प्रवक्ता करिष्मा श्रेष्ठ बताउँछिन्। उनका अनुसार निगमको अन्तर्राष्ट्रिय उडानका चारवटा जहाज सबैले नियमित उडान गरिरहेका छन्। खुला भएका गन्तव्यमा उडान र अकुपेन्सी ७० देखि ८० प्रतिशतसम्म भएकोले यसलाई सन्तोषजनक मानिएको श्रेष्ठ बताउँछिन्।
सस्तो भाडाले आन्तरिक उडान सन्तोषजनक मात्रै
आन्तरिक उडानले भने सस्तो भाडा दिएका कारण सन्तोषजनक छ। आन्तरिक उडानका वायुसेवाले दैनिक ६० देखि ७० वटासम्म उडान भर्ने गरेका छन्। विमानस्थल कार्यालयका अनुसार आन्तरिक वायुसेवाले सस्तो टिकट दिएर यात्रु आकर्षित गरिरहेकोले अन्तर्राष्ट्रियको तुलनामा आन्तरिक उडानको चाप सन्तोषजनक छ। धेरैजसो गन्तव्यको उडानमा भाडा घटेको र वायुसेवाबीच यात्रु तान्न प्रतिस्पर्धा भइरहेकोले पनि आन्तरिक वायुसेवा सामान्य अवस्थाको जस्तो नभएपनि यात्रु आवागमन भने सन्तोषजनक नै रहेको वायुसेवा कम्पनीको भनाइ छ।
चाडपर्व र पर्यटकीय सिजन भएपनि विदेशी पर्यटक नभएका कारण आन्तरिक उडानका यात्रुलाई टिकटको भाउ घटाएर वायुसेवा सञ्चालन भइरहेको यती एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए। उनका अनुसार अहिले नाफा भन्दा पनि सञ्चालन खर्च धान्न सक्ने अवस्था मात्रै भए पनि पुग्ने भएकोले वायुसेवालाई टिकाउने प्रयास मात्रै भइहेको छ।
यती एअरलान्सले सामान्य अवस्था हुँदा दशैंपछि दैनिक ३० वटा उडान गर्ने गरेको थियो। अहिले कोभिडको कारणले भने २० वटासम्म मात्रै उडान गरेको छ। उडान गन्तव्यमा सस्तो टिकट दिएर भएपनि यात्रु ९० प्रतिशतसम्म पुर्याएको बर्तौला बताउँछन्। टिकट दर पनि कुनै गन्तव्यमा ५० प्रतिशतसम्म कम छ भने कुनैमा २० देखि ३० प्रतिशत कम छ। हरेक दिन यात्रुको माग र उडान गन्तव्य अनुसार भाडा निर्धारण हुने भएकोले सामान्य अवस्थाको तुलनामा सस्तो भाडादर भने हरेक गन्तव्यमा रहेको यती एअरलाइन्सको दाबी छ। यतीका प्रवक्ता बर्तौलाका अनुसार ४००० देखि ५००० पर्ने पोखरा उडान २००० देखि २५०० सम्ममा पाइन्छ। १३ हजारसम्म पर्ने धनगढी उडान पनि ६ देखि ७ हजारसम्ममा पाइने गरेको उनले जानकारी दिए।
आन्तरिक उडानका सरकारी वायुसेवाबाहेक अन्य सात वटा नियमित उडानका वायुसेवा छन्। अन्तर्राष्ट्रिय उडानको हिमालय एअरलाइन्ससहित नेपालमा उडानयोग्य जहाज कुल ९० वटा छन्। यी वायुसेवामध्ये १५ वटा आन्तरिक उडानका जहाज नै ग्राउन्डेड छन्।
आन्तरिक उडानको वायुसेवा कम्पनी श्री एअरलाइन्सले भने दशैं पछि जनकपुर र सिमराको नयाँ गन्तव्यमा उडान शुरू गरेको छ। काठमाडौंबाट धनगढी, नेपालगञ्ज, सिमरा, जनकपुर, विराटनगर र भन्द्रपुर नियमित उडान गरिरहेको श्री एअरलाइन्सले यात्रु कम भएकै कारण उडान क्षमता भने घटाएको छ।
आन्तरिक उडानका १५ वायुसेवा ग्राउन्डेड
आन्तरिक उडानका वायुसेवाले पूर्ण क्षमतामा उडान गर्न नपाएका कारण सबैजसो वायुसेवाका एक/दुईवटा जहाज 'ग्राउन्डेड' छन्। पर्यटनका लागि सेप्टेम्बर, अक्टोबर र नोभेम्बर बसन्त ऋतुपछिको पदयात्रा, पर्वतारोहण र ट्राभल एन्ड टूरका लागि महत्वपूर्ण सिजन हो। यतिबेला कोरोना कहरका कारण पर्यटक एक गन्तव्यबाट अर्कोमा जान पाएका छैनन्। घुम्न निस्कने पर्यटक पनि जोखिम मोलेर आउनुपर्ने बाध्यताका कारण पर्यटक आगमन अन्यन्तै न्यून छ। पर्यटकको आगमन नभएको र आन्तरिक उडानमा पनि अपेक्षा अनुसारको यात्रु नहुँदा सम्बन्धित वायुसेवाले आफूसँग भएका जहाज सबैलाई उडानमा प्रयोग गरेका छैनन्।
आन्तरिक उडानका सरकारी वायुसेवाबाहेक अन्य सात वटा नियमित उडानका वायुसेवा छन्। अन्तर्राष्ट्रिय उडानको हिमालय एअरलाइन्ससहित नेपालमा उडानयोग्य जहाज कुल ९० वटा छन्। यी वायुसेवामध्ये १५ वटा आन्तरिक उडानका जहाज नै ग्राउन्डेड छन्। नियमित मर्मतमा रहेका, यात्रु चाप नहुँदा वायुसेवाले आन्तरिक समस्या मिलाउन कम जहाज उडाउने र भएकै जहाज क्षमताभन्दा कम हुने गरेको सम्बन्धित वायुसेवा कम्पनीको भनाइ छ।
नियमित उडानका वायुसेवाका ५६ वटा जहाजमध्ये १५ वटा जहाज थन्किएका छन्। १० वटै हेलिकप्टर कम्पनीका ३४ वटा हेलिकप्टरमध्ये १२/१४ वटाले मात्रै काम पाउने र उडान गर्ने भएपनि बाँकी हेलिकप्टरले भने दैनिक कामै नपाएको वायुसेवा सञ्चालक संघले जानकारी दिएको छ।
अल्टिच्युड, हेलि एभरेष्ट, कैलाश, माउन्टेन हेलिकप्टर र मनाङ एअरका १/१ हेलिकप्टर मात्रै उडिरहेका छन् भने एअर डाइनेष्टि, सिम्रिक एअर, प्रभु हेलिकप्टर्सको दुई/दुई वटा हेलिकप्टर उडानमा छन्। कोरोना महामारी शुरू भएपछि काम नपाएर थन्किएको समिट एअरका कुनै पनि हेलिकप्टर उडानमा छैनन्। समिट हेलिकप्टरका अनुसार जहाजले कामै नपाएकोले थन्किएर बसेका छन्।
कोरोनापछि खुलेको हवाई उडानमा पनि हेलिको काम नभएकोले उडानमा नल्याएको यसका एक सञ्चालक बताउँछन्।
नियमित उडानका वायुसेवा कम्पनीका पनि १५ वटा जहाज दशैंलाई पनि उडेनन्। नेपाल एअरलाइन्सको ६, यती एअरलाइन्सको ३, श्री एअरलाइन्सको २, सौर्य एअरलाइन्सका २ वटा जहाज दशैंमा पनि उड्न सकेनन्। ती जहाज अहिले पनि थन्किएरै बसेका छन्।
वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज शर्मा कँडेलका अनुसार यात्रु नै नभएका कारण जहाजको उडान घटेको छ भने हेलिकप्टरले कहिलेकाहीँ पाउने उद्धार बाहेकको उडान गरेका छैनन्। हाल प्याकेज टूरको योजनामा तय भएका भएपनि यात्रु अभावका कारण अपेक्षा अनुसारको उडान हुन नसकको कँडेल बताउँछन्। विदेशी पर्यटक आउँदा मात्रै हेलिकप्टर प्रयोग बढ्ने गर्छ। नेपालीले हेलिकप्टर चढ्ने पहुँच कम भएकोले आकस्मिक उद्धार बाहेकमा हेलिकप्टर नचढ्ने बुझाइ शर्माको छ।
माउन्टेन फ्लाइट ठप्प
आन्तरिक वायुसेवाको पर्यटकीय सिजनमा सबैभन्दा बढी आम्दानी हुने र बिहान १०/११ बजेसम्मलाई व्यस्त हुने पर्वतीय उडान (माउन्टेन फ्लाइट) हो। कोराना कहरका कारण सबै वायुसेवाको पर्वतीय उडान ठप्प छ। कोरोना महामारी शुरू भएदेखि ठप्प रहेको माउन्टेन फ्लाइट फेरि पर्यटक आउने र चलहपहल नभएसम्म हुन नसक्ने सिम्रिक एअरका बजार निर्देशक प्रज्वल थापा बताउँछन्। उनका अनुसार बिहानै हुने र सबै विदेशी, त्यसमा पनि डलर फेयरमा मात्रै हुने यस्तो उडान वायुसेवाको लागि आकर्षक आम्दानीको स्रोत थियो। माउन्टेन फ्लाइट गर्दा आन्तरिक वायुसेवाले प्रतिपर्यटक १५५ डलर इन्धन र यात्रु सेवा शुल्क बाहेक नै लिने गरेका थिए।
सामान्यतया सेप्टेम्बर, अक्टोबर र नोभेम्बरमा धेरै हुने यस्तो माउन्टेन फ्लाइट पर्यटकको इच्छा अनुसार बाह्रै महीनासम्म हुन थालेको थियो। निजी क्षेत्रका वायुसेवा सबैजसोले बिहानको समय माउन्टेन फ्लाइटलाई नै प्राथमिकता दिएर उडान गर्दै आएका थिए। यस्तो उडान बुद्ध एअरले २० वटा, यती एअरले १५ वटा, श्री एअरले १५ वटा, सिम्रिक एयरले ५ वटासम्म गर्दै आएका थिए। पर्यटक आगमन ठप्प हुँदा अहिले माउन्टेन फ्लाइटको सिजन भएपनि उडान भने ठप्प रहेको बुद्ध एअरका वरिष्ठ बजार निर्देशक रूपेश जोशी बताउँछन्।