राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण १० मंसिरबाट
नेपाल क्रिकेट संघले नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण १० मंसिरबाट गर्ने निर्णय गरेको छ। क्यानको शनिबार अनलाइनमार्फत बसेको बोर्ड बैठकले बन्द प्रशिक्षण शुरु गर्ने निर्णय गरेको हो।
कोरोना भाइरसको महामारीका कारण गत चैतदेखि क्रिकेट खेलाडीको प्रशिक्षण रोकिएको छ। केही खेलाडीले व्यक्तिगत रुपमा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा अभ्यास गरिरहे पनि धेरै खेलाडी उपत्यकाबाहिर छन्। पूर्वकप्तान पारस खड्का, कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, कमलसिंह ऐरी लगायतले गरिरहेको अभ्यास पनि महामारीका कारण नियमित हुन सकेको छैन।
प्रशिक्षणअघि सबै खेलाडीको स्वाब परीक्षण गरिने क्यानले जनाएको छ। प्रशिक्षणमा स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना हुने पनि क्यानले जनाएको छ।
क्यानले नेपाली क्रिकेट टीमको प्रमुख प्रशिक्षक नियुक्तिका लागि यसअघि नै आवदेन मागेको थियो। तर, अहिलेसम्म कसैलाई पनि नियुक्त गरेको छैन। नयाँ प्रशिक्ष नियुक्त नभएसम्म अहिलेका प्रशिक्षक जगत टमाटाले नै प्रशिक्षण गराउने जनाइएको छ।
क्यानले राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण १ भदौदेखि नै थाल्ने योजना बनाएको थियो। तर, कोरोना संक्रमण बढ्दै गएपछि प्रशिक्षण स्थगन गरेको थियो।
१० मंसीरबाट हुने बन्द प्रशिक्षणमा २४ खेलाडीलाई सहभागी गराइने क्यानले जनाएको छ। ती खेलाडीलाई तयारी प्राविधिक समितिले सूचना दिइसकेको छ। उपत्यकाबाहिर रहेका खेलाडीलाई काठमाडौँ आउन भनिएको छ।
शनिबार भएको बोर्ड बैठकले प्रधानमन्त्री कप आगामी पुस दोस्रो हप्तासम्ममा गर्ने निर्णय पनि गरेको छ। त्यसका लागि अनुमति लिने प्रक्रिया तत्काल अघि बढाउने बैठकपछि क्यानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।