तेस्रोपटकको प्रयासमा राष्ट्रपति बने जो बाइडेन
अमेरिकाको ४६औँ राष्ट्रपति निर्वाचित ७७ वर्षीय जो बाइडेन यसअघि राष्ट्रपतिको उम्मेद्वार बन्न दुई पटक प्रतिस्पर्धामा थिए। तर, सफल भएका थिएनन्। तेस्रो पटकको प्रयासमा बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पछि पारेर उनी अमेरिकाको शक्तिशाली पदमा पुगेका छन्।
उनी पहिलो पटक १९८८ र दोस्रोपटक २००८ मा डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपतिको उम्मेद्वार बन्ने दौडमा थिए। पहिलोपटक १९८८ मा उनले आफैं उम्मेद्वारको दौडबाट पछि हटेको घोषणा गरेका थिए। त्यतिवेला उनले आफूले बेलायतको लेबर पार्टीका नेता निल किनाकको भाषणको नक्कल गरेको स्वीकार गर्दै उम्मेद्वार बन्ने प्रतिस्पर्धाबाट बाहिरिएको घाेषणा गरेका थिए।
उनले सन् १९८७ मा राष्ट्रपति चुनावमा प्रत्यासी बन्नका लागि पहिलो पटक प्रयास गर्दा आफ्ना पुर्खा पेन्सिल्भेनियाको कोइलाखानीमा काम गर्ने दाबी गरेका थिए। उनले भाषणमा आफ्ना पुर्खालाई जिन्दगीमा अगाडि बढ्न कुनै मौका नै नमिलेको तर, उनीहरु त्यसको हकदार रहेको बताउने गरेका थिए।
तर, वास्तवमा उनका कोही पुर्खाले पनि कोइलाखानीमा काम गरेका थिएनन्। उनले निल किनाकको भाषणको नक्कल गरेर आफ्ना पुर्खा कोइलाखानीमा काम गर्ने गरेको बताएका थिए।
यसपछि उनी २००८ मा पनि राष्ट्रपति पदको उम्मेद्वार बन्ने दौडमा सामेल भए। तर, त्यसबेला बराक ओबामाले बाजी मारे। उनी ओबामाको उपराष्ट्रपति बने। ओबामाको दुवै कार्यकालमा उनी उपराष्ट्रपति थिए। विदेश नीतिमाथि उनको बलियो पकड भएकै कारण ओबामाले उपराष्ट्रपतिमा चयन गरेको मानिन्छ।
ओबामाले आफ्नो विजयी भाषणमा बाइडेनको तारिफ गरेका थिए। पछि उनी अहिलेसम्मकै सबैभन्दा योग्य उपराष्ट्रपति भएको पनि बताएका थिए। बाइडेन आर्थिक प्रोत्साहन प्याकेज र वित्तीय उद्योग सुधार जस्ता ओबामाका कार्यक्रमका समर्थक थिए।
जो बाइडेन डेलवेयर राज्यबाट १९७३ देखि २००९ सम्म ६ पटक सिनेटर चुनिएका थिए। १९७३ मा पहिलोपटक सिनेटर चुनिंदा उनी सबैभन्दा कम उमेरका थिए। त्यतिवेला उनी ३० वर्षका थिए।
-बीबीसी हिन्दीबाट