सगरमाथा पुग्ने सडक
लुक्लालाई बाँकी राज्यसँग जोड्ने सडकले खुम्बु क्षेत्रको जीवनस्तर फेरिने तर्क एकातिर छ। तर, सँगै शेर्पा सभ्यता मासिने संशय पनि छ।
एक्स्काभेटरहरूले ठूला–ठूला चट्टान खोस्रिरहेका छन्, तल दूधकोशीमा ढुङ्गा खसिरहेका छन्, अनि बेलाबेलामा खोंचमा विस्फोटक पदार्थको प्रतिध्वनि गुञ्जिरहेको छ।
सोलुखुुम्बुको लुक्ला भन्दा थोरै तल रहेको चौंरीखर्कलाई बाँकी राज्यसँग जोड्ने नयाँ सडक डिसेम्बर २०२२ सम्ममा उद्घाटन गर्ने योजना रहेको छ। महामारीका बावजूद सडक निर्माणको काम भने चलिरहेकै छ।
युनेस्कोको विश्व सम्पदा सूचीमा रहेको सगरमाथा राष्ट्रिय निकुञ्जमा यो सडक प्रवेश नगरे पनि यसले सगरमाथा क्षेत्रमा पदयात्रा र आरोहणलाई थप पहुँचयोग्य बनाउनेछ। तर यसले लुक्ला विमानस्थलको अहिलेको बाध्यता र आकर्षणलाई भने कम गर्नेछ।
चीनतर्फ भने तिब्बतबाट आधारशिविरसम्म राजमार्ग बनिसकेको छ। सन् २०१६ देखि आरोहीहरू आधारशिविरसम्मै गाडीमै पुग्छन्, यसले उनीहरूलाई धेरै कुरामा सहज भएको छ।
नेपालतर्फ बनिरहेको राजमार्ग अहिले फाप्लुसम्म जोडिइसकेको छ, जहाँबाट लुक्ला पुग्न दुई दिन हिंड्नुपर्छ। फाप्लुलाई चौंरीखर्कसँग जोड्ने ७७ किलोमिटर सडक निर्माण ६ वर्षअघि नै शुरू भएको हो तर जटिल भौगोलिक अवस्था, २०७२ सालको भूकम्प, नाकाबन्दी एवं आर्थिक स्रोतको अभावमा सोचे अनुरूप काम अघि बढ्न सकेको छैन।
अब थामडाँडाबाट चौंरीखर्कसम्म २४ किलोमिटर सडक बन्न बाँकी छ।
यसको अर्थ कम्तीमा अबको दुई वर्ष पदयात्री, आरोही तथा स्थानीय बासिन्दाहरूले कि त पैदल नै लुक्ला पुग्नुपर्छ कि काठमाडौंबाट उडान नै भर्नुपर्छ।
६ महीनाअघि मात्र निधन भएका खुम्बु–पासाङल्हामु गाउँपालिकाका अध्यक्ष ङिम दोर्जी शेर्पाको पहिलो प्राथमिकता यो सडक निर्माण नै थियो।
फाप्लुलाई लुक्लासँग जोड्दा गाउँलेको जीवनस्तरमा सुधार आउने, सामानको मूल्य घट्ने र हरेक साना काम र समस्यामा भोग्नुपर्ने सास्तीमा पनि कमी आउने उनको विश्वास थियो।
“अहिले पनि गाउँपालिकाको पहिलो प्राथमिकता भनेको यही सडक परियोजना नै हो” गाउँपालिका–४ का वडाध्यक्ष ल्हाक्पा छिरी शेर्पा भन्छन्। उनको भनाइमा, कोभिड–१९ महामारीले पनि निर्माण प्रभावित भएको छ। “महामारीका कारण यो वर्ष पदयात्रा र आरोहणबाट आम्दानी भएन, त्यसले पनि सडकमा लगानी गर्न गाह्रो पारेको छ”, उनी भन्छन्।
खुम्बु क्षेत्रले पर्यटक बसेको, खाएको र भरिया प्रयोगमा खर्च गरेको पैसा बाहेक पदयात्रा एवं आरोहण शुल्कबाट मात्र वर्षमा रु.२० करोड आम्दानी गथ्र्यो। यो वर्ष आम्दानी ६ करोडमा झरेको छ।
“अन्तिम २४ किलोमिटरको निर्माण कार्य ढिलाइ हुनुको मुख्य कारण नै पैसाको अभाव हो”, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराई भन्छन्।
गत महीना नाम्चे बजारमा ९ जनामा पहिलोपटक कोभिड–१९ देखिएसँगै संक्रमण फैलन सक्ने जोखिम भएतापनि गाउँपालिकाले पदयात्रा र आरोहणका लागि खुम्बु खुला गर्ने निर्णय गरेको छ।
भट्टराईका अनुसार, प्रदेश–१ सरकारले यो परियोजनाका लागि सहयोगको प्रतिबद्धता व्यक्त गरेको छ। “सबैले आर्थिक अभावकै कारण काम रोकिनुहुन्न भनेका छन्, त्यसैले पनि हामीलाई गुमेको समयको पूर्ति गर्न सक्छौं भन्ने विश्वास रहेको छ”, उनी भन्छन्।
तर बनिरहेको सडकप्रति सबै खुम्बुवासी खुशी छैनन्। उनीहरूको विचारमा सडकले यो क्षेत्रको अनुपम सुन्दरता तथा संवेदनशील संस्कृतिलाई प्रभावित गर्न सक्छ, जस्तो पछिल्ला वर्षहरूमा नेपालका विकट भागहरूमा सडक पुग्दा भएको छ।
सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका सभापति सोनाम ग्याल्जेन शेर्पालाई पनि यसैको चिन्ता छ। त्यसैले उनी अर्थतन्त्र र पर्यावरणलाई सन्तुलित बनाउनुपर्नेमा जोड दिइरहेका छन्।
“सुर्केबाट सडक राष्ट्रिय निकुञ्जको सीमा प्रवेश गर्नेछ र यसले स्थानीय संस्कृति र प्रकृतिमा केही प्रतिकूल प्रभाव पक्कै पार्नेछ” उनी भन्छन्, “तर विकट खुम्बुमा सडकको आवश्यकता छ, अहिले हामी क्षति न्यूनीकरण कसरी गर्न सकिन्छ भनेर छलफल गरिरहेका छौं।”
सडक बन्नैपर्ने पक्षमा मत राख्नेहरू पनि उल्लेख्य छन्। काठमाडौंमा रु.१५०० पर्ने ग्याँस सिलिन्डर माथिल्लो खुम्बुको गोक्यो वा लोबुजेमा रु.१५ हजार पर्छ। चिनी, नून र अरू खाद्य सामग्रीको मूल्य काठमाडौंमा भन्दा कैयौं गुणा बढी पर्छ।
“बाटोले हाम्रो जीवन पक्कै पनि सहज बनाउनेछ”, सगरमाथा जाने मार्गमा पर्ने देबुजेमा लज सञ्चालन गरिरहेका आङ जाङमु शेर्पा भन्छन्। “यसले थप नेपालीलाई पदयात्रा गर्न आउन प्रोत्साहन मिल्नेछ र सामान पनि सस्तो हुनेछ”, उनी थप्छन्।
लुक्लास्थित नुम्बु होटलका आङरिता शेर्पाको अनुमानमा सडक हुँदैमा विदेशी पदयात्रीहरू १४ घण्टाको कच्ची सडक हुँदै लुक्ला आउँदैनन्, जसले लुक्लाको आकर्षण घटाओस्। “लुक्लामा अहिले जसरी आउनेहरू कमी होलान् र सडकले खुम्बु क्षेत्रको जीवनस्तर भने उकास्नेछ”, उनी भन्छन्।
खुम्जुङस्थित होटल एभरेष्ट भ्यूकी प्रबन्ध निर्देशक सोनिया मियाहाराको भनाइमा, वातावरणीय प्रभाव न्यूनीकरण तथा पदयात्रा अनुभवको गुणस्तर कायम राख्न होशियारपूर्वक योजना बनाउने हो भने खुम्बुको पर्यटनलाई चौंरीखर्कसम्मको सडकले फाइदा पनि पु¥याउन सक्छ।
केन्द्र सरकारले सगरमाथा र खुम्बुलाई पर्यटकीय गन्तव्यका रूपमा बखान गर्ने, राजस्व पनि संकलन गर्ने तर सडक निर्माणमा भने कुनै सहयोग नगरेको स्थानीयहरूको गुनासो छ।
“हामीले विभिन्न मन्त्रालयको ढोका ढकढक्याउँदा पनि केन्द्र सरकारले सहयोग गर्न खासै तत्परता देखाएको छैन”, वडाध्यक्ष ल्हाक्पा छिरी शेर्पा भन्छन्।
तर, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ भने संघीय सरकारले फाप्लु–लुक्ला सडकलाई प्राथमिकतामा राखेको बताउँछन्। “यो एउटा यस्तो योजना हो जसलाई हामीले महामारीमा पनि उच्च प्राथमिकता दिएका छौं। यो परियोजना स्थानीय जनप्रतिनिधिहरूको माग अनुरूप नै अघि बढ्छ”, उनी भन्छन्।
सडकको पक्ष–विपक्षमा जे जस्तो मत भए तापनि यसले पर्यटकहरू अलपत्र पर्ने, खराब मौसमका कारण पर्यटकहरू हप्तौंसम्म लुक्लामा अलपत्र पर्ने समस्याको भने अन्त्य गर्ने विश्वास गरिएको छ।